स्थानीयको अवरोधपछि नागढुंगा सुरुङमार्गको काम रोकियो

घर चर्किएको भन्दै स्थानीय बासिन्दाले क्षतिपूर्तिको माग राखेर काममा अवरोध गरे

फाल्गुन १९, २०८१

विमल खतिवडा

The work of Nagadhunga tunnel was stopped after the obstruction of the locals

काठमाडौँ — नागढुंगा–सिस्नेखोला सुरुङमार्गको काम सोमबारदेखि ठप्प बनेको छ । स्थानीय बासिन्दाले धादिङ र काठमाडौं दुवैतर्फ निर्माणमा अवरोध गरेपछि काम रोकिएको हो ।

धादिङको सिस्नेखोलातर्फ निर्माणाधीन रोड साइड सर्भिस स्टेसन नजिकै रहेका केही घर चर्किएको भन्दै स्थानीयले क्षतिपूर्तिको माग राखेर काममा अवरोध गरेका हुन् । काठमाडौंको चन्द्रागिरिस्थित टुटीपाखा र धादिङको धुनीबेँसी नगरपालिकास्थित सिस्ने खोला दुवैतिर काम रोकिएको छ । 

नागढुंगा–सुरुङमार्ग निर्माण आयोजनाका सिनियर डिभिजनल इन्जिनियर सञ्जय पन्थीले निर्माणको काम सकिने चरणमा अवरोध हुँदा तोकिएको समयमा आयोजना सम्पन्न गर्न समस्या हुने बताए । उनका अनुसार स्थानीय कालु तामाङको घर गत असोजमा आएको बाढीले गर्दा चर्किएको थियो । त्यसका लागि सडक विभागअन्तर्गत विकास सहायता कार्यान्वयन महाशाखाबाट भौगर्भिक अध्ययन गराएकाले अध्ययन प्रतिवेदन आएपछि थप निर्णय हुने उनको भनाइ छ ।

निर्माणमा कुनै समस्या नआए २०८२ असोजभित्र नागढुंगा–सिस्ने खोला सुरुङमार्गबाट सवारीसाधन चलाउने तयारी आयोजनाको छ । तर पटकपटक काममा अवरोध देखिएको छ । 

२०७६ कात्तिक ४ मा निर्माण थालिएको सुरुङमार्गको ८६ प्रतिशत काम सकिएको छ । मुख्य सुरुङको दूरी २ हजार ६ सय ८८ मिटर र आपतकालीन सुरुङको दूरी २ हजार ५ सय ५७ मिटर छ । अहिले सुरुङभित्र लाइटिङ, क्रंक्रिट सडक निर्माण र बलम्बुको किसिपिडीमा फ्लाईओभर निर्माणको काम अन्तिम चरणमा छ ।

अहिले नागढुंगा सडक खण्ड भएर दैनिक १० हजारभन्दा बढी सवारीसाधन ओहोरदोहोर गर्छन् । सुरुङमार्ग निर्माणको काम जापानी कम्पनी हाज्मा एन्डो कर्पोरेसनले गरिरहेको छ । सुरुङमार्गको कुल ठेक्का रकम २२ अर्ब रुपैयाँ छ । यो आयोजनामा जापानको साढे १६ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण छ । यसमा नेपाल सरकारको ६ अर्ब रुपैयाँ लगानी छ ।

विमल खतिवडा कान्तिपुरमा पूर्वाधार र आर्थिक बिटमा लेख्छन् ।

Link copied successfully