टोखा गोलीकाण्डबाट प्रहरीले दियो नयाँ सन्देश

नक्कली भारु कारोबारको आरोप लागेका मिर्जा दिलसाद वेगदेखि जमिम शाह, अब्दुल मजिजदेखि फैजन अहमदसम्मको हत्या अनुसन्धानमा औपचारिकता मात्र पूरा गर्दै आएको नेपाल प्रहरीले लाल मोहम्मद अन्सारीको हत्या आरोपितलाई भने गोली हानेर समात्यो

फाल्गुन १९, २०८१

विवेक पोख्रेल

The police gave a new message from the Tokha shooting

काठमाडौँ — आइतबार टोखामा भएको गोलीकाण्डले नेपाल प्रहरीको अनुसन्धानमा नयाँ पाटो थपेको छ । खासगरी नक्कली भारतीय नोटको कारोबारको आरोपमा शृंखलाबद्ध हत्या हुँदा अनुसन्धानमा हच्किने प्रहरीले यस्तै आरोपमा फरार रहेका गुड्डु पटेललाई पक्राउ गर्न गोली नै चलाएको छ । अढाई वर्षअघि भएको हत्याका अर्का आरोपित बब्लु पासवान र तीन सहयोगी यसअघि नै पक्राउ परेका छन् ।

२०५५ मा सांसद मिर्जा दिलसाद वेग, २०६६ मा सञ्चार उद्यमी जमिम शाह, २०६६ मा नेपालगन्जका व्यवसायी अब्दुल मजिद र २०६८ मा इस्लामिक संघका महासचिव फैजन अहमदको हत्यामा भारतीय खुफिया एजेन्सी ‘रअ’ को हात रहेको विश्वास छ तर नेपाल प्रहरीको अनुसन्धान अधुरै छ । यो बीचमा नक्कली भारतीय नोटको कारोबार गरेको आरोपमा हत्याका दर्जन शृंखला यसै गरी चले पनि नेपाल प्रहरी बेखबरजस्तै बन्दै आएको छ । तर, नक्कली भारतीय नोटकै कारोबारको पृष्ठभूमि भएका लाल मोहम्मद अन्सारीको हत्या आरोपमा भने प्रहरीले आरोपितहरूलाई पक्राउ गरिरहेको छ । 

सीमावर्ती भारतीय बस्ती रक्सौल घर भएका पटेलले नेपाल–भारत सीमा क्षेत्रमा अपहरण र फिरौतीको आतंक मच्याउँदै आएको आरोप छ । लाल मोहम्मद अन्सारीको हत्याका लागि भारतीय खुफिया एजेन्सी ‘रअ’ ले बब्लु पासवान र गुड्डु पटेललाई प्रयोग गरेको अनुसन्धानकर्मीहरूको दाबी छ । पासवानलाई गत वैशाखमै पक्राउ गरिएको छ । तीन सहयोगी भने घटनालगत्तै पक्राउ परेका थिए । 

पटेललाई टोखामा गोली चलाएर पक्राउ गरिएको प्रहरीको दाबी छ । दायाँ खुट्टामा गोली लागेका उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । सीमा क्षेत्रबाट पक्राउ गरेर ल्याउने र काठमाडौंमा पक्राउ गरेको देखाउने ‘खेल’ पनि प्रहरीले प्रयोग गर्दै आएको छ । 

गोठाटारमा गार्मेन्ट उद्योग चलाउने अन्सारी २०७९ को असोज २४ मा उद्योग परिसरमै मारिएका थिए । नक्कली नोटको कारोबारी मानिएका अन्सारीलाई अढाई वर्षअघि डेढ सातामा दोस्रो पटक आक्रमण गरी हत्या गरिएको थियो । पहिलो पटक उनलाई सामान्य चोटपटक मात्र लागेको थियो । ‘भौतिक आक्रमण भएको र आफू असुरक्षित रहेको भन्दै उनले उजुरी दिएका थिए । तर, कोबाट असुरक्षित हो भन्ने उनले बताउन चाहेनन्, १० दिन पुग्दा नपुग्दै उनको हत्या भयो,’ प्रहरीले त्यतिबेलै भनेको थियो । मोटरसाइकलमा आएका दुई जनाले लगातार गोली बर्साउँदा गम्भीर घाइते भएका ५७ वर्षीय अन्सारीलाई सुरुमा शंखरापुर अस्पताल र पछि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पु‍र्‍याइएकामा केहीबेरमै चिकित्सकले मृत घोषणा गरेका थिए । 

भारतीय नक्कली नोटको कारोबारमा संलग्न रहेको आरोपमा अन्सारी भारतीय खुफिया एजेन्सीको निगरानीमा रहेको जानकारी प्रहरीसँग थियो । २०६४ असार २० मा बाराका बलराम पटुवालाई अनामनगर, धोबीखोला करिडोरमा गोली हानी हत्या गरेको आरोपमा अन्सारी र पप्पु गुप्ता पक्राउ परेका थिए । इल्ताफ हुसेनसँगको मिलेमतोमा अन्सारीसमेतले हत्या गराएको प्रहरी अनुसन्धानले पुष्टि गरेको थियो । 

इल्ताफ तत्कालका लागि भाग्न सफल भए भने पक्राउ परेका अन्सारी र गुप्तालाई दोषी ठहर गर्दै काठमाडौं जिल्ला अदालतले २०६४ साउन ९ मा कारागार चलान ग‍रेको थियो । नौ वर्ष जेल बसेर २०७३ जेठ २५ मा रिहा भएका उनी जेल जानुअघि र पछि पनि जाली नोट कारोबारमा जोडिएको सूचना प्रहरीले प्राप्त गरेको थियो ।

प्रहरीको प्रतिआतंकवाद निर्देशनालय र पछि विशेष ब्युरोको अनुसन्धानमा पनि अन्सारीको सम्बन्ध र निकटता भारत, पाकिस्तान, बंगलादेश र दुबईमा रहेका गिरोहसँग खुलेको थियो । 

सर्लाहीको गौडैता नगरपालिका–१० मनहरवाका स्थायी बासिन्दा अन्सारीले जेलबाट छुटेपछि तयारी पोसाकसम्बन्धी उद्योग पनि चलाइरहेका थिए । उनी लाल मोहम्मद, लाल अन्सारी, लाल थापाजीलगायत नामबाट चिनिन्थे ।

सुन तस्करी प्रकरणमा २०७७ साउनमा पक्राउ परेका इल्ताफविरुद्ध भने सम्पत्ति शुद्धीकरणसहितका मुद्दा चले । उनीविरुद्ध २०६८ सालमा काठमाडौं जिल्ला अदालतमा खोटा मुद्रा चलनमा मुद्दा दर्ता भएको थियो । प्रहरीका अनुसार जाली नोट कारोबारमा उनले आफूलाई मुन्ना खान, अल्ताफ अन्सारी, सदरुल अन्सारीका रूपमा चिनाउने गर्थे । प्रहरीले उनीविरुद्ध सरकारी छाप दस्तखत किर्तेमा पनि मुद्दा चलाएको थियो । २०६८ साउन १६ मा दायर भई २०६९ कात्तिक २० मा भएको फैसलाअनुसार उनी एक वर्ष कैद र ५० रुपैयाँ जरिवानामा सजाय भोगेर बाहिरिए । 

भारतीय खुफिया एजेन्सीले आफ्नो अपरेसनमा कुख्यात अपराधीलाई पनि परिचालन गर्दै आएको नेपाल प्रहरीका अधिकारीहरू बताउँछन् । तर, कतिले ‘भारतीय राष्ट्रवाद’ को खोल ओढेर आफूलाई महान् बनाउँदै आएका छन् । सांसद मिर्जा दिलसाद वेगको हत्या आफूले गराएको दाबी गर्दै ‘अन्डरवर्ल्ड’ डन छोटा राजनले भारतका दुश्मनको हविगत यस्तै गराउने चेतावनी दिँदै आएका थिए । 

त्यस्तै २०६६ माघ २४ मा जमिम शाहको हत्या आफूले गराएको दाबी गर्ने बब्लु श्रीवास्तवले त यसका लागि भारतीय खुफिया एजेन्सीले आफूलाई जिम्मेवारी दिएको दाबी गरेका छन् । ‘रअ’ का ‘हिटम्यान’ लकी विष्टले समेत किताब तथा अन्तर्वार्ताहरूबाट यही तथ्यको खुलासा गरेका छन् । 

नक्कली नोटको कारोबारको आरोपमा हत्या शृंखला वर्षौंदेखि जारी छ । २०६६ असोज १९ मा नेपालगन्जका व्यवसायी अब्दुल मजिद मनिहारलाई गोली हानी मारिएको थियो । हत्यामा भारतीय कुख्यात अपराधी मनमित सिंह भनिने मनमित भाटियाको संलग्नता खुलेको थियो । उनले नै युनिस अन्सारीलाई केन्द्रीय कारागारभित्रै हत्या गर्ने प्रयास गरेका थिए । उनलाई कारागार बाहिरबाट प्रहरीले पक्राउ गरेको थियो । 

त्यस्तै इस्लामिक संघका महासचिव फैजान अहमद काठमाडौंको घण्टाघरमा मारिएका थिए । त्यस्तै २०७५ असोज ४ मा सुनसरीका विद्यालय सञ्चालक खुर्सिद आलम गोली प्रहारबाट मारिएका थिए । यस्ता घटनामा नेपाल प्रहरी अनुसन्धानको गहिराइमा पुग्न सकेको छैन । 

विवेक विवेक कान्तिपुरका संवाददाता हुन् । उनी सुरक्षा मामिलामा रिपाेर्टिङ गर्छन् । उनी एक दशकदेखि पत्रकारितामा सक्रिय छन् ।

Link copied successfully