अहिले एमालेलाई बलियो साथ दिएमात्र हाम्रो पालामा पुरापुर सहयोग मिल्नेछ : सभापति देउवा

फाल्गुन १९, २०८१

माधव ढुंगाना, दीपेन्द्र बडुवाल

Only by giving strong support to UML now will we get full support in our time: Chairman Deuba

भैरहवा — नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले कांग्रेस र एमाले सहभागी संयुक्त सरकारलाई थप बलियो र सुदृढ बनाएर लैजानुपर्नेमा जोड दिएका छन् ।

कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले सोमबारबाट भैरहवामा आयोजना गरेको क्षेत्रीय सभापतिका लागि प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा अहिले एमाले नेतृत्वको सरकारलाई पार्टीले पूर्ण सहयोग गरेको खण्डमा मात्र भोलि बन्ने कांग्रेस नेतृत्वको सरकारलाई पनि एमालेबाट पुरापुर सहयोग मिल्ने सभापति देउवाको भनाइ थियो । 

‘मुख्य त ठूला दुई दलको सहभागितामा सरकार गठन भएकाले यो सफल हुनेछ,’ उनले भने, ‘कांग्रेस, एमाले बाहेक दलका साथीहरू पनि सरकारमा समावेश हुनु एकदमै राम्रो कुरा हो ।’

सरकारमा सहभागी नभएका विपक्षी दलको पनि मुलुक सञ्चालनमा ठूलो भूमिका रहेकाले समावेशी चरित्रको लोकतान्त्रिक शासन रहेको उनले बताए । ‘यी सबै कुरालाई मध्यनजर गरेर हामी हाम्रो पार्टी बनाउनतर्फ केन्द्रित हुनुपर्छ,’ उनले भने, ‘भोलिका दिनमा कांग्रेसले बहुमत नै नल्याएपछि पक्कै ठूलो पार्टी बन्ने छ, त्यसका लागि अग्रसर हुनुस् ।’

नेता, कार्यकर्ताबीच कतिपय नमिलेका कुरालाई आपसमा छलफलका माध्यमबाट अन्त्य गरेर पार्टीलाई जीवन्त तुल्याउन भूमिका खेल्नुपर्नेमा उनले जोड दिए । ‘पार्टीलाई जीवन्त र मनमुटाबरहित बनाउन सकेमा अझ आकर्षण बढ्दै जानेछ,’ उनले भने, ‘मुलुकभित्र मात्र नभएर विदेशमा समेत हाम्रो पार्टीका प्रतिनिधिको सङ्ख्या बढ्ने देखिन्छ ।’ 

सोमबार र मंगलबार सञ्चालन गरिने प्रशिक्षणले पनि पार्टीलाई सुधार गर्ने र एक ढिक्का तुल्याउने विश्वास उनले व्यक्त गरे । प्रशिक्षण कार्यक्रमको उद्घाटन सत्रमा सभापति देउवाले मात्रै छोटो सम्बोधन गरेका थिए ।

कार्यक्रममा सहभागी पाहुनालाई अन्य सहभागीसँगै अग्रपंक्तिमा राखिएको थियो । प्रशिक्षण कार्यक्रमका अतिथिलाई फूलमाला र खादा पहिर्‍याइएको थिएन । पाहुनालाई पुष्पगुच्छाले मात्र स्वागत गर्ने परम्परा सुरुआत गरिएको प्रतिष्ठानका संयोजक तथा पार्टी उपसभापति पूर्णबहादुर खड्काले जनाए ।

सोमबार मध्यान्ह सुरु बन्द सत्रमा मुलुकको आर्थिक विषयका साथै संघीयता कार्यान्वयनको अवस्थाबारे छलफल गरिने खड्काले जानकारी दिए । ‘पहिलोपटक सामाजिक सञ्जालको प्रयोगमार्फत पार्टी बिस्तारका सम्बन्धमा पाठ्यक्रममा नै समावेश गरेर छलफल गर्दैछौं,’ उनले भने, ‘सँगसँगै पार्टीको क्रियाशील सदस्यता र सांगठनिक अवस्था र समसामयिक मुद्दालगायत विभिन्न ६ वटा विषयमा विज्ञहरूले प्रस्तुति दिनुहुनेछ ।’

प्रशिक्षणमा मुलुकभरका एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाका १ सय ३० जना क्षेत्रीय सभापति, १ सय ३० जना क्षेत्रीय प्रशिक्षण प्रतिष्ठान प्रमुख र एउटै निर्वाचन क्षेत्र भएका जिल्लाका क्षेत्रीय सभापति र उपसभापति ७० जना गरेर ३ सय ३० जनाको सहभागिता रहेको छ । पार्टीका जिल्ला, प्रदेश र संघीय प्रतिनिधिको सहभागिता रहनेछ ।

उद्घाटन सत्रमा सभापति देउवा, उपसभापति खडका, पार्टीका वरिष्ठ नेताहरू कृष्ण सिटौंला, शशांक कोइराला, पार्टी कोषाध्यक्ष उमेश श्रेष्ठ, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, डा. प्रकाशशरण महतलगायत वरिष्ठ नेताको सहभागिता थियो । प्रशिक्षणमा सहभागी हुन सोमबार दिउँसो महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पनि आउँदै छन् । 

माधव ढुंगाना कान्तिपुरका भैरहवा संवाददाता हुन् ।

दीपेन्द्र

Link copied successfully