अमेरिकामा पक्राउ पर्नुअघिसम्म रास्वपाकै गतिविधिमा सक्रिय थिए मोहनजंग

फाल्गुन १९, २०८१

कान्तिपुर संवाददाता

Mohenjung was active in the activities of RSVP until he was arrested in America

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पदमुक्त गरेको बताए पनि केन्द्रीय सदस्य मोहनजंग थापा अमेरिकामा हिरासतमा पर्नुअघिसम्म पार्टी गतिविधिमा सक्रिय देखिन्थे । ठगी आरोपमा पेन्सिलभेनिया राज्यको फिलाडेल्फिया अन्तर्राष्ट्रिय विमानस्थलमा यूएस कस्टम एन्ड बोर्डर प्रोटेक्सन (सीबीपी) ले फागुन ५ मा उनलाई पक्राउ गरेको थियो ।

पक्राउबारे समाचार सार्वजनिक भएपछि रास्वपाले उनी पार्टीबाट कारबाहीमा परेको र पार्टी गतिविधिमा संग्लन नरहेको बताउँदै आएको छ ।

कार्यवाहक प्रवक्ता मनीष झाले केन्द्रीय सदस्य थापाले पार्टीमा निवेदन दिएर नै केन्द्रीय समिति सदस्यको जिम्मेवारीबाट बाहिर रहने जानकारी गराएको दाबी गरे ।

‘मोहन थापाले यसअगावै नै आफूले केही व्यक्तिगत कानुनी प्रक्रिया स्पष्ट र समाधान गर्नुछ र सो किनारा नलागेसम्म आफू केन्द्रीय सदस्यको जिम्मेवारीबाट बाहिर रहन भनेर निवेदन दिएर जानुभएको थियो,’ झाले भने । झाले यस्तो दाबी गरे पनि अमेरिका जानुअघि १६ फेब्रुअरीमा कतारमा आयोजित प्रवास नेपाली सम्पर्क विभागको कार्यक्रममा थापा पार्टीकै प्रतिनिधिका रुपमा सहभागी थिए ।

रास्वपाका एक केन्द्रीय सदस्यका अनुसार उनी पार्टीको बैठकमा सहभागी हुँदै आएका थिए । ती केन्द्रीय सदस्यले भने, ‘बेलाबखत बैठकमा एकछिन बसेर निस्कन्थे । तर उनलाई औपचारिक रुपमा केन्द्रीय सदस्यमा ल्याएको जानकारी छैन ।’ ती केन्द्रीय सदस्यका अनुसार कतार जानुअघि उनी म्याग्दीमा आयोजित पार्टीको जिल्ला भेलामा पनि सहभागी थिए ।

मेरिल्यान्ड राज्यको बाल्टिमोर बस्दै आएका थापा १६ फेब्रुअरीमा नेपालबाट अमेरिका फर्किएका थिए । ग्रिनकार्ड प्राप्त गरेर अमेरिका बस्दै आएका उनलाई सीबीपीले पक्राउ गरेर यूएस इमिग्रेसन एन्ड कस्टम इन्फोर्समेन्ट (आईस) को जिम्मा लगाएको थियो । उनलाई फिलाडेल्फिया फेडरल डिटेक्सन सेन्टरमा राखिएको छ । कानुनी प्रक्रिया पूरा गरेर अमेरिका बस्दै आएका आप्रवासी आपराधिक गतिविधिमा संलग्न भेटिएमा यस्तो सेन्टरमा राख्ने गरिन्छ ।

थापा २०८० मा केन्द्रीय सदस्यबाट निलम्बनमा परेका थिए । रास्वपाका तत्कालीन सांसद ढाकाकुमार श्रेष्ठले मन्त्री बनाउन पार्टीलाई पैसा बुझाउनुपरेको भन्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग ३ करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएसँगै उनलाई पार्टीले सांसद पदबाट पदमुक्त गरेको थियो ।

श्रेष्ठले सञ्चारमाध्यमलाई अन्तर्वार्ता दिँदै आफूलाई मन्त्री बनाउने प्रलोभन दिँदै पार्टीका केन्द्रीय सदस्य थापाले पैसा मागेको आरोप लगाएका थिए । रास्वपाका तत्कालीन सांसद श्रेष्ठलाई आर्थिक लेनदेनमा निलम्बन गर्दै कारबाही गरेका बेला थापा पनि निलम्बनमा परेका थिए ।

कान्तिपुर

Link copied successfully