माओवादी ‘लङ मार्च’मा कसरी हुन्छ खर्च व्यवस्थापन ?

नेताहरू भन्छन्- 'स्थानीयको घरमा खान्छौं-बस्छौं, गाडी, मञ्च निर्माण र दिउँसोको खाना सामान्य'

फाल्गुन १९, २०८१

गंगा बीसी

How is the cost management in the Maoist ”Long March”?

काठमाडौँ — दशवर्षे  सशस्त्र युद्धका बेला माओवादी नेता, कार्यकर्ता र लडाकुहरु स्थानीयको घरलाई ‘सेल्टर’ बनाउँथे । जनतासँग भिज्दै जनताकै मुद्दाका कुरा गर्थे । त्यही माओवादी शान्ति प्रक्रियामा आएको करिब २० वर्षपछि अहिले ‘लङ मार्च’ मा छ । माओवादी नेताहरू स्थानीयको घरमा बास बस्दै उनीहरूसँग भिज्ने कोसिस गरिरहेका छन् ।

माओवादीले करिब एक हजार ८ सय ५७ किलोमिटर लम्बाइ भएको हुलाकी राजमार्गकेन्द्रित राजनीतिक अभियान थालेको छ । राजमार्गकेन्द्रित तराई मधेश ‘राजनीतिक लङ मार्च’ मा अध्यक्ष पुष्पकमल दाहालसहित करिब दुई सयजना सहभागी छन् । जसमा केन्द्रबाट गएका करिब ६ दर्जन नेता-कार्यकर्ता छन् भने बाँकी स्थानीयको सहभागिता छ ।

माओवादी लङ मार्च झापाको कचनकवलबाट सुरु भएको हो । फागुन १२ बाट सुरु अभियान चैत १२ मा कञ्चनपुर पुगी टुंगिनेछ । जनतासँग प्रत्यक्ष जोडिने उद्देश्यले यात्राका क्रममा नेता तथा कार्यकर्ताहरू समर्थक र शुभचिन्तकको घरमा बस्ने गरेको माओवादीले जनाएको छ ।

माओवादीको अभियान यतिबेला कोशी प्रदेश पूरा गरी मध्य मधेशको महोत्तरी आइपुगेको छ । कोशी प्रदेशको झापा, मोरङ र सुनसराम भएका सभा, अन्तर्क्रियामा सामान्य खर्चले पुगेको सहइन्चार्ज धर्मशीला चापागाईंले जानकारी दिइन् । ‘नेता, कार्यकर्ताले समर्थक र शुभेच्छुकको घरमा खानेबस्ने गरेकाले खर्च धेरै छैन,’ उनले भनिन्, ‘गाडी, मञ्च निर्माण र दिउँसाको खाना सामान्य छ । त्यसैले हामीले सामान्य खर्चले नै कोशीको अभियान पूरा गर्‍यौ । पार्टीलाई ऋण लाग्ने अवस्था छैन ।’How is the cost management in the Maoist ”Long March”?माओवादी समर्थक नभए पनि केही व्यक्तिले नेताहरूलाई बास दिन तयार रहेको आफूले पाएको उनको भनाइ छ । ‘जनताको घरमा बस्नु, जे छ त्यही खानु अनि उनीहरूको कुरा सुन्ने यो अभियान प्रभावकारी भएको छ,’ उनी भन्छिन् ।

‘जनतासँग माओवादी, मधेश तराई जागरण अभियान’ नाम दिएको मार्च महोत्तरीमा आएर दुई दिनका लागि विश्राम लिएको छ । अध्यक्ष दाहालसहित पदाधिकारी यात्रालाई विश्राम गरी काठमाडौं फर्केका छन् । केन्द्रीय पदाधिकारी बैठकले कोशी र मधेशको मध्यभाग पुगेको राजनीतिक मार्चको समीक्षा गरेको छ ।

अभियानको सुरुवातमा अध्यक्ष दाहाललगायतका नेताहरू झापाको कचनकवलस्थित आदिवासी राजवंशीको घरमा बसेका थिए । त्यहाँ दाहालले माओवादी सहिद सुनिल राजवंशीको घरमा खाना खाएका थिए ।

त्यसपछि कोशी र मधेशका जिल्लामा यात्रा पूरा गर्दै महोत्तरीसम्म आइपुग्दा पनि अभियानका नेता तथा कार्यकर्ताले स्थानीयकै घरमा खाना खाने कार्यक्रमलाई निरन्तरता दिएका छन् । यसलाई उनीहरूले ‘दैनिक जीवन्त शैली’ भन्ने गरेका छन् । नेताहरूको बासको व्यवस्था स्थानीय पार्टी समितिले गरेको माओवादीको भनाइ छ ।

यो राजनीतिक यात्राको खर्चलगायत व्यवस्थापनाको जिम्मा प्रदेश, जिल्ला समितिले लिएका छन् । एक महिना लामो अभियानका लागि पार्टी केन्द्रले खर्चको जोहो नगरको उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले बताए ।  ‘यो अभियान पूरै जनतामा निर्भर छ । स्थानीय समर्थक, शुभेच्छुकले खानेबस्ने व्यवस्था गरेपछि खास खर्च छैन,’ उनले भने, ‘जनता नै सकारात्मक भएपछि खानेबस्ने सहयोग उत्साहका साथ गरेका छन् ।’ उनले एक महिने अभियानका क्रममा कोही पनि नेता होटलमा नबस्ने नीति लिएको जानकारी दिए ।

अभियानका क्रममा सकेसम्म धेरै अन्तक्रियालाई जोड दिइएको, सभाको मञ्च पनि सामान्य बनाएको, यात्राका क्रममा पार्टी शुभेच्छुकको सहयोगमा गाडी सञ्चालन गरेको माओवादीले जनाएको छ ।How is the cost management in the Maoist ”Long March”?

‘जनता नै सहभागी भएपछि केन्द्र स्तरमा बजेट बनाउने आवश्यकता भएन,’ सापकोटाले भने, ‘यो जनतामै निर्भर भएको छ ।’

स्थानीय व्यवसायीले माओवादीको अभियानलाई आफै सहयोग गरेको मोआवादीले जनाएको छ । अभियानमा माओवादी आदिवासी, जनजाति, मुस्लिम, दलित, मुसहर बस्तीमा अभियान चलाएको प्रवक्ता सापकोटाले बताए ।

केन्द्रबाट गएका नेताहरू फरकफरक घरमा बस्ने गरेको, त्यहाँ पार्टीको नीति, देशको आवश्यकता र स्थानीयका समस्याबारे कुराकानी गरेका छन् । ‘विभिन्न सीमान्त जनसमुदायका बस्तीमा बस्यौ । त्यहीँ खाने,बस्ने गरेकाले नौलो अनुभव भएको छ,’ सापकोटाले भने, ‘हामीले माथिबाट हेरेको भन्दा तराई मधेशका सीमान्त समुदायको समस्या, चासो, आवश्यकता धेरै फरक छ ।’ मधेशको स्थानीय संस्कृति, कला, खानपान, रहनसहनले राजनीतिक यात्रामा रौनकता थपेको उनको भनाइ छ ।

मधेश अभियानका क्रममा उनीहरूले भावनात्मक रुपमा जोडिन कुर्था पाइजामा लगाएका थिए ।

दाहालको बिहानी हिँडाइबाट सुरु हुने अभियान राति ९ बजेसम्म चल्ने गरेको नेताहरूको भनाइ छ । ‘बिहान साढे ५ देखि राति ९ बजेसम्म कार्यक्रममा सहभागी हुन्छौं,’ प्रवक्ता सापकोटाले भने, ‘अभियानमा दिन बितेको पत्तै हुँदैन ।’

माओवादीले अभियानका क्रममा पार्टीका समर्थकबाहेक अन्य दलका जनप्रतिनिधि, स्थानीय व्यवासायी, कानुन व्यवसायी, किसान, मजदुरसँग छलफल गरी ज्ञापनपत्र बुझ्ने गरेको छ । हरेक जिल्लामा कम्तीमा दर्जनौं ज्ञापनपत्र प्राप्त हुने गरेको छ ।How is the cost management in the Maoist ”Long March”?यात्रामा माओवादीले पार्टी प्रवेश कार्यक्रमलाई प्राथमिकतामा राखेको छ । संगठन कमजोर भएको तराई मधेशका जिल्लामा माओवादीले ‘मधेशी मुक्तिका लागि माओवादीले जित्नुपर्ने’ भन्दै चुनावी प्रचारलाई पनि सँगै अघि बढाएको छ ।

‘यो अभियान बहुआयमिक महत्वको छ । दीर्घकालीन रुपमा आधार तयार भएको छ । विगतमा जनतासँग सम्बन्ध पातलो भएको थियो । जनतासँग वर्गीय दृष्टिकोण कमजोर भयो,’ अध्यक्ष दाहालले अभियानमा भन्दै आएका छन्, ‘विगतमा गल्ती कमजोरी भएको स्वीकार गरेका छौ । मधेशी मुक्तिका लागि माओवादी भरोसा हो ।’

माओवादीले पहिचानको मुद्दा आझेलमा परेको भन्दै कोशी प्रदेशमा पहिचानको मुद्दालाई पनि जोड दिने प्रतिबद्धता जनाएको थियो । ‘एक नम्बर प्रदेशमा पहिचानको मुद्दा उठाएपछि स्थानीय उत्साहित भएका छन्,’ प्रवक्ता सापकोटाले भने,  ‘तराई मधेशमा जनताको भावना बुझेर जोडिने अभियान हो ।’

गंगा

Link copied successfully