विराटनगर — एमाले मोरङको १०औं जिल्ला अधिवेशनमा नयाँ नेतृत्व चयनका दुई अलग–अलग प्यानल वनाएर द्विपक्षीय प्रतिस्पर्धा हुने भएको छ । संस्थापन पक्ष र इतर पक्षले आ–आफ्नो प्यानलसहित सोमबार साँझ उम्मेदवारी दर्ता गराएका छन् ।
संस्थापन पक्षको अध्यक्षमा राजकुमार ओझा, उपाध्यक्षमा शान्ति लिम्बू भुजेल, सचिवमा रवीन थापा र उपसचिवमा शिल्पा निराला कार्की र एर्जालाल राजवंशीले उम्मेद्धारी दर्ता गराएका छन् । इतर प्यानलवाट अध्यक्षमा अजम्बर राई, उपाध्यक्ष सागर थापा, सचिव सोमराज थापा र उपसचिवमा सन्तोष वान्तवा र उषा ठाकुरको उम्मेदवारी परेको छ ।
१ सय ६५ सदस्यीय कार्यसमितिको लागि दोब्बर बढी उम्मेदवारी परेको जनाइएको छ । ९ सय ११ मतदाता रहेकामा भूगोलतर्फ ७ सय ४५, जनसंगठनतर्फ १ सय २० र मनोनित ४६ जना छन् । निर्वाचन प्रक्रिया सञ्चालनका लागि एमाले केन्द्रीय निर्वाचन आयोगका सदस्य समीर नेपालको नेतृत्वमा वरिष्ठ अधिवक्ता सुरेशलाल श्रेष्ठको संयोजकत्वमा सात सदस्यीय निर्वाचन समिति वनेको छ । मतदान मंगलबार बिहान ९ बजे सुरु हुने जनाइएको छ ।
भूगोल र जनवर्गीय संगठनबाट प्रतिनिधि चयनमा इतर पक्षको प्रभाव देखिएपछि संस्थापन पक्षले एकलौटी ४६ जना प्रतिनिधि मनोनयन गरेको थियो । जसको विरोधमा आइतबार बन्दसत्रमै विवाद उत्पन्न भएको थियो । सागर थापासहितका नेताहरूले नाराबाजी गरेपछि बन्दसत्र स्थगित भएको थियो ।
ओली पक्षको दबाब र इतर पक्षको अडान
अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरूले सर्वसम्मत नेतृत्व चयन गर्न दबाब दिए पनि इतर पक्षले लोकतान्त्रिक प्रक्रिया अपनाउने निर्णय गरेको छ । ओली पक्षले राजकुमार ओझालाई अध्यक्ष बनाउन चाहेको थियो तर सहमति नजुटेपछि निर्वाचन निश्चित हुने भएको हो ।
संस्थापन पक्षले अधिवेशन प्रतिनिधिमध्ये ६० प्रतिशत आफ्नो पक्षमा रहेको दाबी गर्दै आएको छ । भने इतर पक्षले आफ्नो पक्षमा पनि ६० प्रतिशत नै समर्थन रहेको दाबी गरेको छ । इतर पक्षका नेता विनोद ढकालले नेतृत्व गरेका छन् । मोरङमा ढकालको राम्रो प्रभाव छ । उनी कुनै समय ओलीकै निकट थिए तर प्रदेश अधिवेशनमा ओलीले घनश्याम खतिवडालाई समर्थन गरेपछि ढकाल ओलीसँग चिढिएका हुन् ।
