भैरहवा — सांगठनिक सुधारमार्फत पार्टीलाई नागरिकको पहिलो रोजाइ बनाउन नेपाली कांग्रेसले क्षेत्रीय सभापतिका लागि सोमबार यहाँ सञ्चालन गरेको प्रशिक्षणमा सहकारी पीडितलाई न्याय दिलाउने र अहिलेसम्मका उपलब्धि कसरी जनतामाझ पुर्याउने भन्ने विषय उठान गरिएका छन ।
अहिलेसम्म पार्टीको नेतृत्वमा मुलुकमा आर्थिक, भौतिक र सामाजिक क्षेत्रमा उपलब्धि हासिल भए पनि सर्वसाधारणलाई बुझाउन नसक्दा अपेक्षित परिणाम प्राप्त गर्न नसकिएको प्रशिक्षणका क्रममा बताइएको थियो ।
कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले सञ्चालन गरिरहेको प्रशिक्षणमा मुलुकभरका एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाका १ सय ३० जना क्षेत्रीय सभापति, १ सय ३० जना क्षेत्रीय प्रशिक्षण प्रतिष्ठान प्रमुख र एउटै निर्वाचन क्षेत्र भएका जिल्लाका क्षेत्रीय सभापति र उपसभापति ७० जना गरेर ३ सय ३० जनाको सहभागिता छ । पार्टीका केन्द्रीय पदाधिकारी, वरिष्ठ नेता, जिल्ला, प्रदेशबाट प्रमुख, प्रतिनिधिको सहभागिता छ ।
सोमबार विभिन्न ६ वटा विषयमा प्रशिक्षण दिइएको थियो । दुई जना महामन्त्रीसँगै विषयविज्ञले सहभागीलाई पार्टीको नीति, कार्यक्रम र भावी रणनीतिबारे बुझाएका थिए ।
‘बुटवलमा शौचालय सफाइ गरेर सहकारीमा जम्मा गरेको रकम गुमाएकी सीता दर्जीका बारेमा हामीले कार्यकर्तालाई बुझाउन सक्नुपर्यो,’ सोमबार अपराह्न वर्तमान समयका समसामयिक मुद्दाका बारेमा प्रस्तुति दिने क्रममा महामन्त्री विश्वप्रकाश शर्माले भने, ‘यहाँबाट फर्केर क्षेत्रमा गएपछि पार्टीको नेतृत्वमा भएका भौतिक पूर्वाधारतर्फका उपलब्धिबारे नागरिक र आफ्नै कार्यकर्तालाई जानकारी दिनूस् ।’
नागरिकलाई अहिले मुलुकमा देखिएका समस्या कसरी र कसका कारण उत्पन्न भए भन्नेबारेमा बुझ्न र बुझाउन अनुरोध गरे । शर्माले पावरपोइन्टमार्फत वर्तमान मुद्दाबारे सिलसिलेबार प्रस्तुति दिएका थिए ।
प्रशिक्षणको व्यवस्थापन गरिरहेको रूपन्देही क्षेत्र नम्बर ३ का सभापति सुशील गुरुङका अनुसार सोमबारको अन्तिम सत्रमा महामन्त्री गगन थापाले पार्टी संगठन, सदस्यता अभियान, प्रदेश र केन्द्रबीचको अन्तरसम्बन्धबारे प्रशिक्षण दिएका थिए । त्यस क्रममा पार्टीको संगठनलाई चुस्त बनाउन भइरहेका प्रयासबारे सहभागीलाई जानकारी दिएका थिए ।
सोमबार मध्याह्न सुरु भएको बन्दसत्रमा प्रतिष्ठानका निर्देशक जगदीशचन्द्र पोखरेलले ‘लोकतान्त्रिक समाजवाद–नेपाली कांग्रेसको आर्थिक नीति र अभ्यास’ विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । प्रतिष्ठानका सदस्य कृष्णप्रसाद पौडेलले नेपाली कांग्रेसको नेतृत्वमा भएका आर्थिक, सामाजिक विकास तथा तहगत संगठनका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
प्रतिष्ठानका सदस्य विश्वदीप लामिछानेले नेपाली कांग्रेसको संगठन विस्तारमा प्रविधिको प्रयोग र प्रभावका विषयमा प्रस्तुति दिएका थिए । यस क्रममा सामाजिक सञ्जालको प्रयोगबाट कसरी पार्टीलाई विस्तार गर्न सकिन्छ भन्नेबारे सहभागीलाई सिकाइएको थियो । प्रतिष्ठानका कार्यकारी निर्देशक बुद्धिमान श्रेष्ठले नेपालमा संघीयता कार्यान्वयनको अवस्था र नेपाली कांग्रेसको दायित्वबारे कार्यपत्र प्रस्तुत गरेका थिए ।
सोमबार मध्याह्न सुरु भएको बन्दसत्रमा पूरै अवधि बसेर पार्टी सभापति शेरबहादुर देउवाले कार्यपत्रको प्रस्तुति सुनेका थिए । क्षेत्रीय सभापति गुरुङका अनुसार मंगलबार पनि बन्दसत्रको कार्यक्रम रहेको छ । सोमबार प्रस्तुत गरिएका विषयमाथि मंगलबार सहभागीबीच छलफल गरिनेछ भने क्षेत्रीय पार्टी संगठन एवं प्रशिक्षणसित सम्बन्धित विषयमा प्रतिवेदन तयार गरिनेछ । मंगलबार अन्तिममा प्रतिवेदनको प्रस्तुति गर्ने कार्यक्रम रहेको छ ।
प्रशिक्षणको सोमबार बिहान सभापति देउवाले उद्घाटन गरेका थिए । त्यसक्रममा सहभागीलाई सम्बोधन गर्दै उनले कांग्रेस र एमाले सहभागी संयुक्त सरकारलाई थप बलियो र सुदृढ बनाएर लैजानुपर्नेमा जोड दिएका छन् । अहिले एमालेको नेतृत्वको सरकारलाई पार्टीले पूर्ण सहयोग गरेको खण्डमा मात्र भोलि बन्ने कांग्रेस नेतृत्वको सरकारलाई पनि एमालेबाट पूरापूर सयोग मिल्ने सभापति देउवाको भनाइ थियो । ‘मुख्य त ठूला दुई दलको सहभागितामा सरकार गठन भएकाले यो सफल हुनेछ,’ उनले भने, ‘कांग्रेस, एमालेबाहेक दलका साथीहरू पनि सरकारमा समावेश हुनु एकदमै राम्रो कुरा हो ।’
सरकारमा सहभागी नभएका विपक्षी दलको पनि मुलुक सञ्चालनमा ठूलो भूमिका रहेकाले समावेशी चरित्रको लोकतान्त्रिक शासन रहेको उनले बताए । ‘यी सबै कुरालाई मध्यनजर गरेर हामी हाम्रो पार्टी बनाउनेतर्फ केन्द्रित हुनुपर्छ,’ उनले भने, ‘भोलिका दिनमा कांग्रेसले बहुमत नै नल्याए पनि पक्कै ठूलो पार्टी बन्ने छ, त्यसका लागि अग्रसर हुनूस् ।’
कार्यक्रममा सहभागी पाहुनालाई अन्य सहभागीसँगै अग्रपंक्तिमा राखिएको थियो । प्रशिक्षण कार्यक्रमका अतिथिलाई फूलमाला र खादा पहिर्याइएको थिएन । पाहुनालाई पुष्पगुच्छाले मात्र स्वागत गर्ने परम्परा सुरुवात गरिएको प्रतिष्ठानका संयोजक पूर्णबहादुर खड्काले जनाए । ‘पहिलोपटक सामाजिक सञ्जालको प्रयोगमार्फत पार्टी विस्तारका सम्बन्धमा पाठ्यक्रम समावेश गरेर छलफल गर्यौं,’ उनले भने, ‘सँगसँगै पार्टीको क्रियाशील सदस्यता र सांगठनिक अवस्था र समसामयिक मुद्दा लगायत विभिन्न ६ वटा विषयमा विज्ञले प्रस्तुति दिनुभएको छ ।’
प्रशिक्षणमा सभापति देउवा, उपसभापति खडका, पार्टीका महामन्त्रीद्वय थापा र शर्मा, पूर्वपार्टी उपसभापति विमलेन्द्र निधि, गोपालमान श्रेष्ठ, पूर्वमहामन्त्रीद्वय कृष्ण सिटौला र सशांक कोइराला, कोषाध्यक्ष उमेश श्रेष्ठ, सहमहामन्त्रीद्वय जीवन परियार र भीष्म आङ्दम्बे, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, स्वास्थ्यमन्त्री प्रदीप पौडेल, कानुन मन्त्री अजयकुमार चौरसिया, ऊर्जामन्त्री दीपक खड्का, अर्जुननरसिंह केसी, डा. प्रकाशशरणलगायत नेताको सहभागिता रहेको छ ।
