स्ववियु निर्वाचनमा २५ विद्यार्थी संगठनबीच प्रतिस्पर्धा

फाल्गुन १९, २०८१

कान्तिपुर संवाददाता

Competition between 25 student organizations in SWVU elections

काठमाडौँ — स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा २५ विद्यार्थी संघसंगठनबीच प्रतिस्पर्धा हुने भएको छ ।

त्रिभुवन विश्वविद्यालय स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका अनुसार चैत ५ गते हुने चुनावमा सहभागी हुन २५ विद्यार्थी संगठन दर्ता भएका छन् ।

सोमबार देशभरका क्याम्पसमा निर्वाचनमा भाग लिन चाहने संगठन र समूह दर्ता भएका समितिका सदस्यसचिव पशुपति अधिकारीले बताए । त्रिविमा ६२ वटै आंगिक क्याम्पसमा निर्वाचन समिति गठन भएको समितिले जनाएको छ ।

निर्वाचनमा भाग लिन केन्द्रमा अनेरास्ववियु, नेविसंघ, अखिल क्रान्तिकारी, अनेरास्ववियू समाजवादी, नेपाल क्रान्तिकारी विद्यार्थी, अखिल क्रान्तिकारी (वैद्य), राष्ट्रिय प्रजातन्त्रबादी विद्यार्थी संगठन, अखिल समाजवादी, समाजवादी विद्यार्थी युनियन, अखिल छैटौं, अखिल नेपाल विद्यार्थी युनियन दर्ता भएका छन् ।

त्यस्तै, लोकतान्त्रिक विद्यार्थी संघ, अनेरास्ववियू (पाचौं), विद्यार्थी जनमत संघ, नेपाल विद्यार्थी मोर्चा, प्राज्ञिक विद्यार्थी परिषद्, वैज्ञानिक समाजवादी विद्यार्थी संगठन, अखिल क्रान्तिकारी बहुमत, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन नेपाल, वैज्ञानिक समाजवादी विद्यार्थी मोर्चा, नागरिक विद्यार्थी समाज, राष्ट्रिय विद्यार्थी संघ, नयाँ शक्ति विद्यार्थी युनियन, समाजवादी विद्यार्थी युनियन, राष्ट्रिय विद्यार्थी मञ्च दर्ता भएको समितिले जनाएको छ ।

२०७९ चैतमा भएको निर्वाचनमा १९ विद्यार्थी संघसंगठनले भाग लिएका थिए ।

निर्वाचनमा सहभागी हुन सम्बन्धित क्याम्पसमा पनि विद्यार्थी संगठन/समूह दर्ता हुनुपर्ने व्यवस्था छ । नेविसंघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी लगायत ठूला विद्यार्थी संगठनले कतिपय क्याम्पसमा अध्यक्षमा लगायत उम्मेदवारको समेत घोषणा गरिसकेका छन् ।

स्ववियु निर्वाचन कार्यतालिकाअनुसार फागुन २७ गते देशभरका क्याम्पसमा उम्मेदवारी दर्ता हुनेछ् । प्रत्यक्ष र समानुपातिक दुवैतर्फको मनोनयनपत्र नामवली दाखिला सोही दिने हुने सदस्यसचिव अधिकारीले बताए । उम्मेदवारी दर्ताका लागि बिहान ११ बजेदेखि दिउँसो २ सम्मको समय कायम गरिएको छ । २६ गते मनोनयपत्र वितरण गर्ने समितिले जनाएको छ ।

चैत्र ५ गते बिहान ८ बजेदेखि ४ बजेसम्म मतदान समय तोकिएको छ । फागुन २१ गते मतदाता सूची प्रकाशित गर्ने कार्यतालिकामा उल्लेख छ । आंगिकबाहेक सामुदायिक र सम्बन्धन प्राप्त निजी क्याम्पसले स्ववियु निर्वाचन गर्न सक्नेछन् ।

निर्वाचनका लागि त्रिविले स्ववियु निर्वाचनसम्बन्धी निर्देशिका २०८१ जारी गरिसकेको छ । २०७९ चैतमा भएको स्ववियु निर्वाचनबाट निर्वाचित पदाधिकारीको २ वर्ष कार्यकाल सकिन लाग्दा त्रिवि कार्यकारी परिषद्ले निर्वाचनको तयारी गरेको हो । क्याम्पसहरुले निर्वाचन समिति गठन गरेर केन्द्रीय कार्यतालिका कार्यान्वयन गर्नुपर्ने व्यवस्था छ । 

कान्तिपुर

Link copied successfully