२६ कोष दूरीमा रहेको काठमाडौंसम्म भेटिएका केही कोषेढुंगाको संरक्षण पनि गरिएको छ । आधाभन्दा धेरै कोषेढुंगाको भने पहिचान मेटिएको छ ।
गोरखा — गोरखा–काठमाडौं ऐतिहासिक पदमार्गमा परम्परागत प्रचलनमा रहेको कोष अनुसार राखिएका ‘कोषेढुंगा’ १३ वटा भेटिएका छन् । गोरखाबाट २६ कोष दूरीमा रहेको काठमाडौंसम्मको पदमार्गमा रहेका सयौं वर्ष पुराना केही कोषेढुंगा संरक्षण अभावमा अलपत्र छन् ।
गोरखा–काठमाडौं ऐतिहासिक पदमार्गमा परम्परागत प्रचलनमा रहेको कोष अनुसार राखिएका ‘कोषेढुंगा’ १३ वटा भेटिएका छन् । गोरखाबाट २६ कोष दूरीमा रहेको काठमाडौंसम्मको पदमार्गमा रहेका सयौं वर्ष पुराना केही कोषेढुंगा संरक्षण अभावमा अलपत्र छन् ।
हरेक वर्षको पृथ्वी जयन्तीको अवसरमा नेपाली सेनाले पदयात्रा गर्दै आएको गोरखा–काठमाडौं एकीकरण पदमार्गको अवस्थाबारे धार्चे मनास्लु पर्यटन विकास समितिले एक साता लगाएर अध्ययन गरेको थियो । माघ २७ देखि फागुन ४ गतेसम्म भएको स्थलगत अध्ययनका क्रममा पर्यटक आकर्षित गर्नका लागि कोषेढुंगालगायतका परम्परागत संरचनाको संरक्षण गर्नुपर्ने देखिएको धार्चे मनास्लु पर्यटन विकास समितिका अध्यक्ष साने गुरुङले बताए ।
अध्ययनको क्रममा गोरखा दरबारस्थित हनुमानभञ्ज्ल्याङ, गोरखा नगरपालिका–२ डेरागाउँ, ताप्ले, भीमसेन थापा गाउँपालिकाको वोर्लाङ र घाटबेँसीमा कोषेढुंगा भेटिएका छन् । धादिङको सल्यानटार, खहरे कटुन्जे, थर्पु, घर्याङघुरुङ, भोगटेनी, सामरीभञ्ज्याङ तथा नुवाकोटको हुलाक घरनजिकै एक वटा कोषेढुंगा भेटिएको उनले बताए ।
‘नेपाली सेना र पालिकाले पनि केही कोषेढुंगाको खोजी गरेर संरक्षण पनि गरेका छन्, केहीको अझै संरक्षण गर्नुपर्ने छ,’ उनले भने, ‘अहिलेको किलोमिटर भनेको जस्तै त्यो बेला कोषेढुंगाको छुट्टै महत्त्व थियो, कोषको आधारमा ढुंगा राखेर दूरी थाह दिने प्रचलन रहेछ ।’
सडक नहुँदा पैदलयात्रीलाई सजिलोका लागि दूरी नापेर कोषेढुंगा राख्ने प्रचलन थियो । तत्कालीन समयमा दैनिक जीवनसँग कोषेढुंगा जोडिने गरेको राष्ट्रिय संग्रहालय छाउनीमा कार्यरत नवराज अधिकारी बताउँछन् । ‘कोषेढुंगाको दूरी नाप्ने विधि ट्रेडिसनल नै हुन्छ, करिब साढे चार किलोमिटरको दूरीसम्म ढुंगा राखेको पाउँछौं,’ उनले भने, ‘कोष इकाई हो, कोषेढुंगा चिन्ह हो, यसले तत्कालीन समयमा दैनिक जीवनसँग प्रत्यक्ष सरोकार राख्थ्यो, यस्ता परम्परासँग जोडिएका वस्तुको महत्त्व अहिलेको सन्दर्भमा बढ्दै गएको छ ।’
गोरखा–काठमाडौं पदमार्गमा रहेका कतिपय कोषेढुंगा समयक्रम सँगै मेटिएको उनले बताए । ‘मोटरबाटो विस्तारका क्रममा पनि संरक्षण हुन सकेन, समयक्रम सँगै टुट्ने, फुट्ने भाँचिने जस्ता कारण पनि सबै कोषेढुंगा जोगिएका छैनन्,’ उनले भने ।
ठाउँको चिनारीका लागि पनि कोषेढुंगा उपयोगी बन्ने गरेको धार्चे मनास्लु पर्यटन विकास समितिका अध्यक्ष गुरुङ बताउँछन् । ‘त्यो बेला अहिले जस्तो सडकको विस्तार भएको थिएन, पैदल हिड्ने बाटोको दूरी थाह पाउन कोषेढुंगा राख्ने प्रचलन हो,’ गुरुङले भने,‘यही ढुंगाको आधारमा बास बस्ने ठाउँ पुग्नका लागि यात्रा तय हुने प्रचलन रहेछ ।’
गोरखा–काठमाडौं पदमार्गमा ३१ सय मिटरको दूरीमा कोषेढुंगाहरु भेटिएको उनको भनाइ छ । काठमाडौंसम्मको २६ कोषदूरीको पदमार्गमा आधाभन्दा बढी कोषेढुंगा भने हराएका छन् । सडक विस्तारको क्रममा पनि कतिपय कोषेढुंगाको पहिचान मेटिएको पाइएको गुरुङले बताए । कोषेढुंगा भेटिएको ठाउँ नजिकै खानेपानीको व्यवस्थापन र शौचालय निर्माणका गर्न अध्ययन प्रतिवेदनमा समेट्ने पनि गुरुङले बताए । ‘यो बाटो राजा हिँडेको त हुँदै हो, व्यापारिक दृष्टिकोणले पनि प्रचलित पदमार्ग हो,’ उनले भने,‘चाइनाबाट आएका सामान, भोटखोलाको नुन धादिङको सल्यानटार, त्रिशुली हुँदै काठमाडौंसम्म पुग्ने यही बाटो रहेछ, त्यसबेला निकै चहलपहल हुने बाटोमा कोषे ढुंगा ठाउँ पक्ता लगाउने एउटा आधार बनेको थियो, भावि पुस्तालाई देखाउन, महत्त्व बुझाउन पनि बचेका कोषेढुंगाको संरक्षण जरुरी छ ।’
अध्ययनको क्रममा धादिङ क्षेत्रमा दुई वटा जीर्ण अवस्थाको पौवा भेटिएको उनले बताए । त्यस्तै खहरेमा रहेको ऐतिहासिक कुण्ड पनि पैदलयात्रीको रोजाइमा पर्न सक्ने उनले बताए । पदमार्ग अन्तर्गत नै धादिङको जलजले र थर्पुमा रहेको रानीपौवाको मर्मत सभ्भार गर्नुपर्ने अवस्था देखिएको गुरुङले सुनाए । गोरखा दरबारस्थित हनुमानभञ्ज्या, बोर्लाङ, धादिङको खहरे, हुलाक घर, त्रिशुली तिनपिप्लले हुँदै काठमाडौंसम्मको ऐतिहासिक पदमार्गको अध्ययन गरिएको हो । पदमार्ग क्षेत्रमा २७ वटा परम्परागत चौताराहरु पनि भेटिएका छन् ।
‘केही चौताराका ढुंगाहरु लथालिङ्ग अवस्थामा छन्, तिनको मर्मत गर्नुपर्ने छ,’ उनले भने, ‘सडकले पदमार्ग मासिएको ठाउँमा वैकल्पिक पदमार्ग बनाउन सकिन्छ, ऐतिहासिक संरचनाको संरक्षण र पदयात्रीकै लागि सडक भएका ठाउँमा सडक छलेर पदमार्ग नै विकास गर्न सकिए पदयात्रीलाई सहज हुन्छ ।’ ग्रामीण परिवेश बुझ्दै यात्रा गर्नेलाई लक्षित गरेर ऐतिहासिक पदमार्ग सुधारको आवश्यकता रहेको पनि उनले बताए ।
पदमार्ग क्षेत्रको पाँच ठाउँमा घरबास कार्यक्रम सञ्चालन गर्नुपर्ने देखिएको पनि गुरुङ बताउँछन् । ‘सडकसँगै कतिपय ठाउँमा त होटलहरु पनि खुलेका छन्, बाक्लो बस्ती रहेको क्षेत्रमा होमस्टे सञ्चालन गर्न सके आयआर्जन पनि हुन्छ, पदयात्रीलाई बस्ने ठाउँको अभाव पनि रहँदैन,’ उनले भने ।
अध्ययन टोलीलले गोरखा–काठमाडौं चार दिनको पदमार्ग बनाउन सकिने सम्भावना औंल्याएको छ । अध्ययन सकेको टोलीले पर्यटन बोर्ड, सम्बन्धित गाउँपालिका तथा पर्यटनसँग सम्बन्धित संघ/संस्थालाई प्रतिवेदन बनाएर बुझाउने तयारी गरेको छ । पदयात्रा क्षेत्रमा रहेका गुम्बा, मठमन्दिर, कोषेढुंगा, ठाँटी, पाटीको अवस्था र संख्याबारे अध्ययन गरिएको छ ।
अध्ययन टोलीमा धार्चे मनास्लु पर्यटन विकास समितिका अध्यक्ष गुरुङ, ट्रेकिङ एजेन्सी एशोसिएशन(तान)का प्राविधिकलगायतका टोलीको सहभागिता थियो ।
