ह्वाइटहाउस्थित ओभल अफिसमा युक्रेनी राष्ट्रपति र अमेरिकी राष्ट्रपति–उपराष्ट्रपतिबीच नोकझोक, विवादले खनिजसम्बन्धी सम्झौतामा हस्ताक्षर हुन सकेन, दुई राष्ट्रपतिको संयुक्त पत्रकार सम्मेलन पनि रद्द
काठमाडौँ — खनिज सम्झौताका लागि अमेरिका पुगेका युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्की अमेरिकी राष्ट्रपति र उपराष्ट्रपतिसँगको असाधारण भनाभनपछि निराश भएर फर्केका छन् । अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइटहाउसस्थित ओभल अफिसमा डोनाल्ड ट्रम्प र उपराष्ट्रपति जेडी भेन्ससँग जेलेन्स्कीको चर्काचर्की भएको हो ।
शुक्रबार ह्वाइटहाउस छिरेका जेलेन्स्की खनिज सम्झौता गरेर बाहिरिने ठानिएको थियो । तर दुई देशका नेताबीच ओभल अफिसमा सञ्चारकर्मीसामु नोकझोकको स्थिति उत्पन्न भयो । अमेरिका र युक्रेनबीच खनिजसम्बन्धी सम्झौतामा हस्ताक्षर हुन सकेन । दुई राष्ट्रपतिको संयुक्त पत्रकार सम्मेलन पनि रद्द भयो ।
ओभल हाउसमा दुई पक्षबीच सुरुमा करिब आधा घण्टासम्म सुमधुर कुराकानी भएको थियो । तर जब उपराष्ट्रपति भेन्सले कूटनीतिक माध्यमबाट शान्ति सम्भव भएको र ट्रम्पले त्यही गरिरहेको बताए, तब तनाव सुरु भयो । भेन्सको भनाइप्रति असहमति जनाउँदै जेलेन्स्कीले रुसबाट करिब एक दशकअघिदेखि नै आक्रमण भइरहेको उल्लेख गरे र सन् २०१९ को असफल युद्धविरामबारे बताए ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई कसैले नरोकेको बताउँदै जेलेन्स्कीले भेन्सलाई ‘तपाईंले भन्न खोजेको कूटनीति कस्तो किसिमको हो ?’ भन्दै प्रश्न गरे । जवाफमा भेन्सले ‘तपाईंको देशमा भइरहेको विनाश अन्त्य गर्ने किसिमको’ भनेपछि दुई पक्षबीच चर्काचर्की सुरु भयो । त्यस क्रममा भेन्सले जेलेन्स्कीलाई ओभल अफिसमा आएर अमेरिकी मिडियासामु आरोप लगाउनु अपमानजनक भएको बताए । पुटिनसँग कुरा गरेर ट्रम्पले युद्ध अन्त्य गराउन पहल गरेको उल्लेख गर्दै भेन्सले युक्रेनलाई पनि तत्कालै युद्धविराम गर्न दबाब दिन खोजेका थिए ।
युक्रेनले समस्या झेलिरहेको र युद्ध लड्ने सैनिकको अभाव भएको विषय भेन्सले उठाएपछि जेलेन्स्कीले युद्धका समयमा सबैलाई समस्या हुने बताए । ‘तपाईंहरूसँग राम्रा समुद्र भएका कारण अहिले समस्या जस्तो लाग्दैन । तर भविष्यमा महसुस हुन्छ,’ उनले भनेका थिए । त्यसपछि केही आक्रोशित देखिएका ट्रम्पले अमेरिकालाई सिकाउनु नपर्ने बताए ।
कुराकानीकै क्रममा जेलेन्स्कीले युद्धको आरम्भदेखि नै युक्रेन एक्लो रहे पनि आभारी भएको बताएपछि ट्रम्पले ‘मूर्ख राष्ट्रपति (जो बाइडेन)’ मार्फत ३ खर्ब ५० अर्ब दिएको बताए । त्यसलगत्तै भेन्सले जेलेन्स्कीमाथि अमेरिकाले गरेको सहयोगका लागि धन्यवाद नदिएको र गत नोभेम्बरमा भएको अमेरिकी राष्ट्रपतीय निर्वाचनमा विपक्षी दल डेमोक्रेटलाई भोट मागेको आरोप लगाए ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग युद्धविरामका लागि सम्झौता गर्न दिएको सुझाव जेलेन्स्कीले अस्वीकार गर्नुलाई ओभल अफिसको अनादर गरेको भनी ट्रम्प र भेन्सले प्रतिक्रिया दिए । विवादपछि जेलेन्स्कीलाई अमेरिकी राष्ट्रपति कार्यालयबाट बाहिरिन भनिएको थियो । त्यसपछि अमेरिका छाडेका जेलेन्स्की बेलायत पुगेका छन् । बीबीसीका अनुसार त्यहाँ उनले युरोपेली देशका नेताहरूसँग भेटवार्ता गर्नेछन् ।
युद्धरत सार्वभौम मुलुकका राष्ट्रपतिलाई आफ्नो मुलुकमा बोलाएर ट्रम्प प्रशासनले अपमान गरेको भन्दै चौतर्फी विरोध भएको छ । पाहुनाका रूपमा बोलाएर सामान्य कूटनीतिक मात्रै होइन, मानवीय व्यवहार पनि अमेरिकाले प्रदर्शन नगरेको भनी टिप्पणी गरिएका छन् ।
पराष्ट्र मामिला विज्ञ दिनेश भट्टराई शुक्रबारको घटनालाई असामान्य मान्छन् । ‘यो अहिलेसम्म नदेखिएको दृश्य हो । कूटनीतिक भेटघाटमा बन्द कोठाभित्र विवाद र बाझाबाझ हुनु अन्यथा होइन तर टीभीमा प्रत्यक्ष देखिएको दृश्य नौलो हो,’ उनले भने, ‘यसलाई दुई जनाबीचको मनमुटाव बाहिर आएको हिसाबमा पनि बुझ्न सकिन्छ ।’ यही घटनाले पूरै युरोप तरंगित भएको तथा अमेरिका र युरोपबीचको सम्बन्ध, नेटोको भविष्य, ट्रान्स–एटलान्टिक सम्बन्धबारे भन्न सकिने अवस्था नरहेको उनले बताए । ट्रम्पले मुलुक पहिले भन्ने नीतिलाई जोडदार अगाडि सारेको भट्टराईको बुझाइ छ ।
अन्तर्राष्ट्रिय मामिलाका जानकार लेखनाथ पौडेल ओभल अफिसको घटनालाई असामान्य मान्छन् । ‘ट्रम्पले दादागिरी देखाएका हुन्,’ उनले भने, ‘उनले जेजस्तो व्यवहार र निर्णय गरिरहेका छन्, सबै आफ्ना घरेलु समर्थकलाई रिझाउने उद्देश्यबाट प्रेरित छन् ।’
ओभल हाउसको चर्काचर्कीपछि ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसियलमा पोस्ट गर्दै जेलेन्स्कीमाथि विभिन्न आरोप लगाएका छन् । ‘भेटघाटका क्रममा धेरै कुरा आए । तर राष्ट्रपति जेलेन्स्की शान्तिका लागि तयार छैनन् किनकि अमेरिका त्यसमा संलग्न छ । मलाई अरू कुनै फाइदा चाहिएको छैन, म केवल शान्ति चाहन्छु,’ ट्रम्पले लेखेका छन्, ‘उनले अमेरिकाको अपमान गरेका छन् । शान्ति चाहन्छन् भने उनी फेरि यहाँ आउन सक्छन् ।’
जेलेन्स्कीले भने आफूले युद्धविराम चाहेको बताएका छन् । ‘धन्यवाद अमेरिका, समर्थन र यो भ्रमणका लागि । धन्यवाद अमेरिकी राष्ट्रपति, कंग्रेस र अमेरिकी जनता । युक्रेनले केवल शान्ति चाहन्छ र हामी त्यसैका लागि काम गरिरहेका छौं,’ जेलेन्स्कीले सामाजिक सञ्जालमा लेखेका छन् । फक्स न्युजलाई जेलेन्स्कीले ट्रम्पसँग ओभल अफिसमा भएको विवाद दुवै पक्षका लागि ठिक नभएको बताए । अझ पनि दुई देशबीच सम्बन्ध अगाडि बढ्न सक्ने उनको भनाइ छ ।
ट्रम्पले वार्ता पुनः हुने ढोका भने खुला छाडेका छन् । जेलेन्स्की शान्तिका लागि तयार हुँदा फर्कन सक्ने ट्रम्पको भनाइ छ । जेलेन्स्कीले पनि दुई देशबीचको रणनीतिक साझेदारी जीवितै रहेको बताएका छन् । ‘हामीलाई अमेरिकाको सहयोग महत्त्वपूर्ण छ र म यसलाई स्वीकार गर्न चाहन्छु,’ एक्समा जेलेन्स्कीले लेखेका छन्, ‘कठोर संवादका बावजुद हामी रणनीतिक साझेदार रहन्छौं । तर हामी हाम्रा साझा लक्ष्य साँच्चै बुझ्न एकअर्कासँग इमानदार हुन आवश्यक छ । उनले सबै सहयोगका लागि युक्रेन अमेरिकाप्रति ‘धेरै कृतज्ञ’ रहेको बताएका छन् । ‘म चाहन्छु कि अमेरिका हाम्रो पक्षमा अझ दृढताका साथ खडा होस्,’ उनले लेखेका छन् । खनिज सम्झौतामा हस्ताक्षरका लागि युक्रेनको सुरक्षामा अमेरिकाको ग्यारेन्टी हुनुपर्ने जेलेन्स्कीको भनाइ छ । ‘सुरक्षा ग्यारेन्टीबिनाको युद्धविराम युक्रेनका लागि खतरनाक छ,’ उनले भने ।
जेलेन्स्कीले युक्रेन जति शान्ति चाहने कोही नभएको दाबी गरेका छन् । ‘रुसले हामीलाई मारिरहेको छ । रुस शत्रु हो र हामीले सामना गर्ने वास्तविकता यही हो । युक्रेन शान्ति चाहन्छ तर यो न्यायसंगत र दिगो हुनुपर्छ । त्यसका लागि हामी वार्ताको टेबलमा बलियो हुनुपर्छ,’ उनले भनेका छन् ।
ओभल अफिसको भनाभनपछि समग्र युरोप एक देखिएको छ । जेलेन्स्कीमाथि ट्रम्प र भेन्सले गरेको अपमानजनक व्यवहारप्रति युरोपका अधिकाश मुलुक असन्तुष्ट देखिएका छन् । बेलायती प्रधानमन्त्री केयर स्टार्मरले ट्रम्प र जेलेन्स्की दुवैसँग कुराकानी गरेका छन् ।
युक्रेनका लागि बेलायतको अटल समर्थन कायमै रहेको र युक्रेनको सार्वभौमिकता र सुरक्षामा आधारित दिगो शान्तिका लागि भूमिका खेलिरहेको स्टार्मरले बताएका छन् । स्टार्मरले ट्रम्पसँग अघिल्लो दिन ह्वाइटहाउसमा भेटवार्ता गरेका थिए । त्यसक्रममा स्टार्मरले ट्रम्पलाई रुस र उसका साझेदारलाई पुरस्कृत गर्ने सम्झौता अस्वीकार गर्न आग्रह गरेका थिए ।
युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डर लियनले युक्रेनलाई समर्थन गर्दै सामाजिक सञ्जाल एक्समा लेखेकी छन्, ‘तपाईंको गरिमाले युक्रेनी जनताको बहादुरीलाई सम्मान गर्छ । साहसी र निडर हुनुहोस् ।’ युरोपेली संघकी विदेश नीति प्रमुख काजा कालासले युक्रेन युरोपको रहेको र आफूहरू युक्रेनको पक्षमा रहेको उल्लेख गरेकी छन् । ‘युक्रेनलाई हाम्रो समर्थन बढाउनेछौं ताकि उनीहरूले आक्रमणकारीविरुद्ध लडाइँ जारी राखुन् ।’
फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले युक्रेनलाई सहयोग जारी राख्ने जनाएका छन् । ‘हामीले ती मानिसको सम्मान गर्नुपर्छ जो सुरुदेखि नै लडिरहेका छन्,’ उनले भनेका छन्, ‘हामी अमेरिका, युरोपेली देश, क्यानडाका नागरिक र जापानी सबै युक्रेनको सहयोगी हौं ।’ जर्मन चान्सलर ओलाफ स्कोल्जले युक्रेन जर्मनी र युरोपको भर पर्न सक्ने बताएका छन् ।
युक्रेनी नागरिकले शान्तिबाहेक अरू केही नचाहेको उल्लेख गर्दै उनले आफूहरू संयुक्त रूपमा दिगो र न्यायपूर्ण शान्तिको पक्षमा रहेको बताए । जर्मन चान्सलर बन्दै गरेका फ्रेडरिक मेर्जको पार्टीका विधायक जोहान वाडेफुलले पनि युक्रेनको समर्थन गरेका छन् । उनले शुक्रबार ह्वाइटहाउसमा भएका दृश्य स्तब्ध हुने खालका भएको उल्लेख गरे । ‘तपाईं कसरी आक्रमण गरिएको देशको राष्ट्रपतिलाई यसरी पिठ्युँमा छुरा हान्न सक्नुहुन्छ ? स्वतन्त्र युरोपले युक्रेनलाई धोका दिने छैन,’ ट्रम्पलाई प्रश्न गर्दै उनले एक्समा लेखेका छन् ।
पोल्यान्डका प्रधानमन्त्री डोनाल्ड टस्क र स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले युक्रेनको साथमा रहेको जनाएका छन् । नर्वेका प्रधानमन्त्री जोनास गर स्टोरले भनेका छन्, ‘हामी यो संघर्षमा युक्रेन र स्थापित शान्तिको पक्षमा छौं ।’ आयरल्यान्डका उपप्रधानमन्त्री सिमोन ह्यारिसले यस युद्धका लागि युक्रेनलाई दोषी मान्न नसकिने बताएका छन् । ‘हामी युक्रेनको साथमा छौं,’ उनको भनाइ छ ।
इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीले अमेरिका, युरोपेली राज्य र उनीहरूका सहयोगीबीच विलम्ब नगरी शिखर सम्मेलन गर्नुपर्ने आवश्यकता औंल्याएकी छन् । रुसले अवैध र अनुचित तरिकाले युक्रेनमाथि आक्रमण गरेको क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोको भनाइ छ । उनले एक्समा लेखेका छन्, ‘युक्रेनको लडाइँ लोकतन्त्र, स्वतन्त्रता र सम्प्रभुत्ताका लागि हो । यो लडाइँ सबका लागि अर्थपूर्ण छ ।’ युक्रेनमाथि क्यानडाको समर्थन जारी रहने उनको भनाइ छ । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजीले विज्ञप्ति जारी गर्दै युक्रेनको समर्थन गरेका छन् ।
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भने जेलेन्स्कीले माफी माग्नुपर्ने बताएका छन् । ‘जेलेन्स्कीलाई त्यहाँ गएर यस प्रकारको विरोध जनाउनु आवश्यक थिएन,’ उनले सीएनएनसँगको अन्तर्वार्तामा भनेका छन् । डेमोक्रेटिक सांसद चक सुमरले ट्रम्प र भेन्सले फोहोरी काम गरेको टिप्पणी गरेका छन् । ‘सिनेट डेमोक्रेट्स स्वतन्त्रता र लोकतन्त्रका लागि लड्न कहिल्यै रोकिने छैन,’ उनले एक्समा लेखेका छन् ।
रिपब्लिकन सांसद डन बेकनले अमेरिकी विदेश नीतिका लागि खराब दिन बनेको प्रतिक्रिया दिएका छन् । ‘युक्रेन स्वतन्त्रता, स्वतन्त्र बजार र कानुनी राज चाहन्छ । ऊ पश्चिमको हिस्सा बन्न चाहन्छ । रुस हामी र हाम्रो पश्चिमी मूल्यमाथि घृणा गर्छ । हामी स्वतन्त्रताका पक्षमा उभिएका छौं भनेर स्पष्ट पार्न जरुरी छ,’ उनले भनेका छन् ।
रुसी विदेश मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभाले युक्रेनी राष्ट्रपति जेलेन्स्की युद्ध लम्ब्याउने पक्षमा रहेको तर मस्कोको लक्ष्य युक्रेनको असैनिकीकरण र हाल रुसले कब्जा गरेका सबै क्षेत्रलाई आफ्नो देशमा विलय गर्नु भएको बताएकी छन् ।
‘जेलेन्स्कीले वासिङ्टनमा देखाएको अपमानजनक र अशिष्ट व्यवहारले उनी युद्धको गैरजिम्मेवार र उक्साउने व्यक्ति भएको र विश्व समुदायका लागि सबैभन्दा खतरा भएको पुष्टि भएको छ,’ जाखारोभाले भनेकी छन्, ‘जति चाँडो किभ र केही युरोपेली राजधानीले यो महसुस गर्छन्, युक्रेनी संकटको शान्तिपूर्ण समाधान त्यति नै चाँडो हुनेछ ।’
‘शक्ति राष्ट्रको मुड र नेतृत्व परिवर्तन हुँदा सम्बन्ध र व्यवहार पनि फेरिन्छ’ : लेखनाथ पौडेल, अन्तर्राष्ट्रिय सम्बन्धका जानकार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी समकक्षी भ्लोदिमिर जेलेन्स्कीलाई गरेको व्यवहार कुनै नौलोचाहिँ होइन । उनी यसअघि फ्रान्सका राष्ट्रपतिसँगको भेटमा पनि अस्वाभाविक रूपमै प्रस्तुत भएका थिए । तर शुक्रबारको घटनाचाहिँ अति हो । यसलाई दुर्व्यवहार नै भन्दा हुन्छ । ट्रम्पले दादागिरी देखाएका हुन् । उनले जेजस्तो व्यवहार र निर्णय गरिरहेका छन्, सबै आफ्ना घरेलु समर्थकलाई रिझाउने उद्देश्यबाट प्रेरित छ ।
युक्रेनमा भएको प्राकृतिक स्रोतको दोहन डेमोक्रेट नेतृत्वले पनि नगरेको होइन । तर, ट्रम्प आफ्ना समर्थकलाई देखाउन चाहन्छन् कि अमेरिका अब सिधासिधा कुरा गर्छ । र, आफ्नो फाइदा हेर्छ । जुन उनको चुनावी नारा पनि हो । युक्रेनले ट्रम्पको प्रस्ताव माने पनि त्यो उनी निकटका कुनै व्यापारीलाई दिने पक्का छ । उनी म स्ट्रङ म्यान हुँ र कसैसामु झुक्दिनँ भन्ने देखाउन चाहन्छन् ।
यस घटनाले ठूला र शक्तिराष्ट्रसँग अति निकटता र अति दूरी दुवै हानिकारक हुन्छ भन्ने देखाएको छ । साना मुलुकले भूराजनीतिक शक्तिसँग समन्वय र सन्तुलन राख्नुपर्छ भन्ने सन्देश यसले दिएको छ । शक्ति राष्ट्रको नेतृत्व फेरिनासाथ उसले गर्ने व्यवहार र लिने नीति नै फरक हुन्छ भन्ने पनि प्रस्ट भएको छ । राजनीतिक नेतृत्वले आफ्नो मताधारअनुरूप नीति निर्माण गर्छ भन्ने पनि हामीले बुझ्नुपर्छ ।
आजको नीति सधैं त्यही रहन्छ भन्ने पनि छैन । शक्तिमा जो आउँछ, उसले आफूअनुकूल हुने गरी सम्बन्ध अगाडि बढाउँछ । कुनै पनि देशसँगको सम्बन्ध विकास गर्न उसको आन्तरिक राजनीति र समीकरण पनि बुझ्नुपर्छ भन्ने यसले देखाएको छ । त्यस्तै, दीर्घकालीन सम्बन्ध र सम्झौता गर्दा अझ बढी सावधानी अपनाउनुपर्ने देखिएको छ ।
मूल नीति परिवर्तन नभए पनि द्विपक्षीय सम्बन्ध घरेलु राजनीतिले निर्देशित गर्छ र त्यसलाई बुझेर मात्र सम्बन्ध र सम्झौता गर्नुपर्छ भन्ने पाठ पनि यसले सिकाएको छ । कुनै पनि मुलुक र त्यहाँको राजनीतिक नेतृत्वसँग अहिले सुमधुर सम्बन्ध छ भन्दैमा दीर्घकालीन प्रभाव पार्ने सम्झौता र समझदारी गर्न पनि हतारिनु हुँदैन भन्ने पनि प्रस्ट भएको छ ।
