काठमाडौँ — सरकारको नेतृत्व गरिरहेको दल एमालेका महासचिव शंकर पोखरेलले पाथीभरा केबलकार निर्माणका सन्दर्भमा उत्पन्न विवादमा स्थानीय जनप्रतिनिधि, प्रशासन र सरोकारवाला समूहसँग छलफल गरेर प्रक्रिया अघि बढाउनुपर्ने बताएका छन् ।
आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको केन्द्रीय सचिवालय बैठकले यस्तो निर्णय गरेको उनले बताएका हुन् ।
बैठकका निर्णय सुनाउँदै महासचिव पोखरेलले केबलकार निर्माण प्रक्रियालाई अगाडि बढाउन सरोकारवाला समूहसँग छलफल गर्ने विषयमा पार्टीले चासो राखेको बताए । उनले भने, ‘ताप्लेजुङमा रहेको प्रसिद्ध पाथीभरा केबलकार निर्माणका सन्दर्भमा उत्पन्न विवादमा जनप्रतिनिधि, प्रशासन र सरोकारवाला समूहसँग छलफल गरेरन समस्यालाई समाधान गर्ने र निर्माण प्रक्रियालाई अगाडि बढाउन सहज वातावरण बनाउने बारेमा पार्टीले चासो राखेको छ,' उनले भने, 'विवाद अन्त्य गरी सहज वातावरण बनाउने कुरामा सम्बन्धित पक्षको ध्यानाकर्षण गर्ने निर्णय भएको छ।’
