सिरहा घटनामा संलग्नलाई कडा कारबाही हुन्छ : गृहमन्त्री लेखक

फाल्गुन १८, २०८१

कान्तिपुर संवाददाता

Strict action will be taken against those involved in the Siraha incident: Home Minister Author

काठमाडौँ — गृहमन्त्री रमेश लेखकले सिरहाको नवराजपुर गाउँपालिकामा १७ वर्षीया रिंकुकुमारी सदाको सामूहिक बलात्कारपछि मृत्युको घटनामा संलग्नलाई कडा कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरुले राख्नुभएको जिज्ञाशाको जवाफ दिँदै गृहमन्त्री लेखकले भने, 'रिंकु सदाको घटनामा जति पनि मानिस सङ्लग्न छन्, अपराधमा सङ्लग्न भएका मानिसलाई सक्रियताका साथ खोजतलास गर्ने, अनुसन्धान गर्ने र कानुनबमोजिम कडा कारबाही गर्नेमा पुनः प्रतिबद्धता व्यक्त गर्दछु ।'

'विसं २०८१ माघ ३० गते सिरहाको नवरापुर गाउँपालिका–१ बस्ने रिङकुकुमारी सदा आफ्नै घरमा झण्डिई मृत अवस्थामा फेला परेको, सो सम्बन्धमा सोही वडामा बस्ने अन्दाजी वर्ष १९ को टिङ्कु भन्ने रुपेश मण्डलविरुद्ध आत्महत्या दुरुत्साहन कसुरमा जाहेरी दरखास्त दिएकामा निजको नाममा पक्राउ पूर्जी जारी थियो,' मन्त्री लेखकले भने । 

मन्त्री लेखकले यही फागुन ८ गते मृतकको आमाको तर्फबाट आठ जनाको विरुद्धमा अपहरण गरी आफ्नो नियन्त्रणमा राखी सामूहिक तबरबाट जबरजस्तीकरणी गरी हत्या गरेको र पञ्चायतीद्वारा लेनदेन गरी मिलापत्रसमेत गर्न खोजेकोअन्तर्गतको कसुर शीर्षक उल्लेख गरी पूरक जाहेरी प्राप्त भएको पनि जानकारी दिए ।

पञ्चायतीमा संलग्न तीन जनालाई पक्राउ गरी कानुन बमोजिमको प्रक्रिया अगाडि बढेको उल्लेख गर्दै उनले पूरक जाहेरी दरखास्तमा उल्लेख भएका आठजनाको नाममा पक्राउ पुर्जी जारी भएको संसद्लाई जानकारी गराए । सो घटनाको समबन्धमा पीडकलाई पक्राउ गरी छिटोभन्दा छिटो कारबाहीको दायरामा ल्याउने गरी प्रहरीले सक्रियतापूर्वक खोजतलास गरिरहेको उनको भनाइ छ । 

कान्तिपुर

Link copied successfully