अर्घाखाँची — शितगंगा नगरपालिका–११ गैडे सामुदायिक वनको मौवाबारी र धरमपानी जंगलमा दुईवटा ठूला पोखरी छन् । त्यहाँ टाढाबाट पाइपमा पानी ल्याएर पोखरीमा जम्मा गरिएको छ । यी पोखरी कुनै खेतबारीमा सिँचाइका लागि नभइ जंगली जनावर र चराचुरुङ्गीका लागि हो ।
डिभिजन वन कार्यालयको ५० हजार र वन समूहको ५० हजार रुपैयाँ लगानीमा मौवाबारीमा १२ हजार लिटर पानी अट्ने पोखरी निर्माण गरिएको छ । अलि टाढाको मुहानबाट पाइपबाट पानी ल्याएर पोखरी भरिन्छ । धरमपानीमा जनश्रमदानसहित वन समूहको ५८ हजार रुपैयाँ लगानीमा ५ फिट गहिरो पोखरी निर्माण गरिएको छ ।
चराचुरुङ्गी र वन्यजन्तुले सहजै पानी खान पाउन् भनेर सिँढी पनि बनाइएको छ । पोखरीमा सधैं पानी भरिभराउ नै गरिन्छ । ‘पोखरी निर्माण गर्नुको उद्देश्य कहिलेकाँहि जंगलमा आगलागी हुँदा निभाउन पनि पानी प्रयाप्त होस् भन्ने हो,’ गैडे सामुदायिक वन उपभोक्ता समूहकी सचिव सिता बेल्वासेले भनिन्, ‘जंगलमा चितुवा, भालु, बँदेल, ढेडुवा लगायतका वन्यजन्तु छन् । मयुर, सुगा, कालिज, ढुकुर, काग, गिद्ध लगायतका थुप्रै चराचुरुङ्गी छन् । उनीहरुलाई पानी खान टाढा धाउन नपरोस् भनेर पोखरी बनाएका हौं ।’
आगलागी हुँदा पनि धेरै वनमा डढेलो फैलिन नपाओस् भनेर वनभित्र समुदायले फायरलाइन पनि बनाएका छन् । ‘कहिलेकाँहि वनमा आगो लाग्न सक्छ, त्यसलाई फैलिनबाट रोक्न पोखरीको पानी डढेलो नियन्त्रण गर्न उपयोग गर्न सकिन्छ’, उनले भनिन् ।
वनमा डढेलो लाग्दा त्यसबाट वन्यजन्तु, जडिबुटी, किराफट्याङ्ग्रा, चरा सबै नष्ट नहुन् भनेर पनि पोखरी निर्माण गरिएको उनको भनाइ छ । उनका अनुसार उपभोक्ता सबै मिलेर वन जगाउने, विरुवा हुर्काउने काम गरिरहेका छन् । वनका पात (खोस्मेरा) बटुलेर जलाउने गरिएको छ ।
समूहमा ८ सय २३ जना उपभोक्ता आबद्ध छन् । वनमा साल, असना, टिकुली, कर्मा, सिसौं खयर लगायत छन् । कपिलवस्तुसँग वनको सीमा जोडिएको छ । चरा तराई र पहाड आउजाउ गर्छन् ।
‘अरु ठाउँमा पनि पोखरी निर्माण गर्छौं,’ वन समूहका अध्यक्ष जुद्धबहादुर सुनारले भने, ‘वन्यजन्तु, चराहरु जोगाउनु र संरक्षण गर्नु हाम्रो कर्तव्य हो । जंगलमा तिर्खा लाखेर टाढा धाउन नपरोस् र पानीकै कारण चरा र वन्यजन्तुको मृत्यु नहोस् भनेर पोखरी बनाएका हौं ।’
खोला, खोल्सामा भन्दा पोखरीमा पानी खान सहज हुने उनले बताए । ‘हामी वन हेर्न, संरक्षणको काम गर्न जंगलमा जाँदा चराचुरुङ्गीको चिरवीर आवाज सुन्दा बेग्लै आनन्द र रमाइलो लाग्छ,’ उनले भने, ‘वनमा मयुर, वनकुखुरा, गिद्ध लगायतका चराचुरुङ्गी छन् ।’
वनभित्र छिरेर कसैले बदमासी गर्लान् भनेर वनमा मासिक ९/९ हजार रुपैयाँ तलब दिएर स्थानीय गोपाल खत्री र मोतीराम खत्रीलाई चौकीदारीको रुपमा राखिएको छ । काठ चोरी, चरा र वन्यजन्तु सिकार गर्नेको निगरानी गर्न दुई जना वन हेरालु राखिएको उनले बताए । उनीहरुलाई तलब वनको आम्दानीबाट समूहले दिन्छ ।
