सिरहा — माओवादीका अध्यक्ष पुष्पकमल दाहालले जनताको बलिदानबाट प्राप्त संविधान संशोधनका नाममा उल्टाउने खेल भइरहेको आरोप लगाएका छन् ।
जनतासँग माओवादी तराई–मधेश जनजागरण अभियानअन्तर्गत शुक्रबार सिरहा सदरमुकाममा आयोजित जनसभालाई सम्बोधन गर्दै उनले दस वर्षे जनयुद्धको जग र जनआन्दोलनबाट प्राप्त संविधान उल्टाउने प्रयास सफल हुन नदिइने बताए । 'अहिले सरकारमा रहेका दलहरु नै संविधान संशोधनको कुरा गरेर नेपाली जनताको अधिकार संकुचित गर्ने, दुई दलीय व्यवस्था कायम गर्नेतर्फ लागेका छन् । जनताको बलिदानबाट प्राप्त यो संविधान उल्टाउने खेल हामी सफल हुन दिन्नौँ,' अध्यक्ष दाहालले भने ।
उनले विगतका कमजोरी सच्याएर मधेशी जनतासँग पुनः गहिरो सम्बन्ध कायम गर्न आफूहरूले हुलाकी अभियान सुरु गरेको बताए । मधेसी जनताको पक्षमा र मधेसी जनताको आत्मसम्मानका लागि आफ्नो पार्टी सधैँ प्रतिबद्ध रहेको उल्लेख गर्दै अध्यक्ष दाहालले माओवादीले जनयुद्धकै क्रममा मधेशी जनताको अधिकार स्थापित गर्न मधेशी सरकार गठन र पार्टीभित्र मधेशी राष्ट्रिय मुक्ति मोर्चा गठन गरिएको स्मरण गरे ।
पूर्वप्रधानमन्त्री दाहालले जीर्ण अवस्थामा रहेको हुलाकी राजमार्ग पुनःनिर्माणबारे चर्चा गर्दै आफू पहिलो पटक प्रधानमन्त्री बन्दा भारतसँग कुरा गरेर हुलाकीमार्ग निर्माणको प्रक्रिया अगाडि बढाएको जिकिर गरे । यस्तै, चोहर्वा–सिरहा, सिरहा–कल्याणपुर–मिर्चैया सडक निर्माण, माडर भन्सारको स्तरोन्नतिका लागि निरन्तर प्रयास गर्ने उनको प्रतिबद्धता थियो । 'यसका साथै हुलाकी राजमार्गअन्तर्गत सिरहा र धनुषा जोड्ने कमला नदीको भत्केको पुल निर्माण प्रक्रिया तुरुन्त अगाडि बढाउन पार्टीका तर्फबाट साथ सहयोग रहन्छ । यसक लागि पहल गर्छौं,' दाहालले भने ।
कार्यक्रममा नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्र राय यादव, माओवादी पार्टीका उप–महासचिव मातृकाप्रसाद यादव, स्थायी समिति सदस्य विश्वनाथ साहलगायतले सम्बोधन गरेका थिए । जिल्ला इन्चार्ज अजयशंकर नायकको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन केन्द्रीय सदस्य जगतप्रसाद यादवले गरेका थिए ।
