उपसचिव सीडीओ हटाउन गृहको गृहकार्य

सहसचिवको दरबन्दीमा उपसचिव सीडीओ रहेका जिल्लामा खटाउने योजनाका साथ अन्य मन्त्रालयअन्तर्गत रहेका सहसचिवलाई गृह मन्त्रालयमा सरुवा

फाल्गुन १७, २०८१

ऋषिराम पौड्याल

Homework to remove Deputy Secretary CDO

काठमाडौँ — सहसचिव दरबन्दीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) मा उपसचिव खटाउने प्रवृत्ति रोक्न गृह मन्त्रालयले तयारी अघि बढाएको छ । सहसचिवको दरबन्दी भए पनि अहिले १० जिल्लामा उपसचिव सीडीओको जिम्मेवारीमा छन् । उनीहरूका ठाउँमा पठाउन सरकारले सहसचिवहरूलाई गृहमा सरुवा गरिसकेको छ ।

७७ मध्ये ६१ जिल्लामा सहसचिव सीडीओ रहने गरी दरबन्दी व्यवस्था गरिएको छ । तर दुर्गम जिल्लामा सीडीओ बनेर जान सहसचिव नमान्ने भएका कारण सरकारले उपसचिव पठाउने गरेको छ । राजनीतिक पहुँच र व्यक्तिगत सम्बन्धका आधारमा पनि उपसचिवलाई सीडीओ बनाएर पठाउने प्रवृत्ति छ ।

सहसचिवको दरबन्दी रहेको जिल्लामा उपसचिवलाई सीडीओ बनाइएको भन्दै सरकारको आलोचना हुने गरेको छ । यसपटक भने उपसचिव पठाउने प्रवृत्ति अन्त्य गर्ने तयारी भइरहेको गृह मन्त्रालयका एक अधिकारीले बताए । 

 सरकारले गत सोमबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, प्रदेशलगायत विभिन्न स्थानमा कार्यरतसहित १७ सहसचिवलाई गृह मन्त्रालय सुरुवा गरेको थियो । गत माघ २६ मा बढुवाको नियुक्ति पाएका प्रशासन सेवाका ४८ सहसचिवमध्येबाट पनि केहीलाई गृह पठाइएको छ । सीडीओ हुने आकांक्षा बोकेका केही सहसचिवले भने राजनीतिक पहुँच प्रयोग गरेर गृहमा सरुवा मिलाएको स्रोतले जनाएको छ । 

सरकारले गृहमा रहेका दुई सहसचिवलाई भने अन्यत्र सरुवा गरेको छ । गृहमा सरुवा गरिएकै मध्येबाट विभिन्न जिल्लामा सीडीओ बनाउने सरकारको योजना छ । ‘यसअघि वरिष्ठ सहसचिव विकट र सानो जिल्ला जान नचाहेका कारण समस्या भएको थियो । यसपालि भर्खर सहसचिवमा बढुवा भएकाहरूले जिल्ला नजाने 

भन्दैनन् भन्ने विश्वास छ,’ गृहका एक अधिकारीले भने । गृहका प्रवक्ता तथा सहसचिव रामचन्द्र तिवारीले सहसचिवहरूको आन्तरिक व्यवस्थापनको काम भइरहेको जानकारी दिए । 

सरुवा भएका एक सहसचिवले सबैका लागि सीडीओको दरबन्दी नपुग्ने बताए । ‘संघीय मन्त्रालयले गृहको काम हो, जे जे गरे पनि गरुन् भन्ने मनस्थितिले सरुवा गरेको देखिन्छ,’ उनले भने । गृहमा अहिले विभिन्न कारणले तीन सहसचिव अतिरिक्त समूहमा छन् । भर्खरै सरुवा गरिएकामध्ये १० जनालाई सीडीओ बनाइए अरू ‘बरन्डा’ मै रहनुपर्ने अवस्था छ ।

‘कतिपय उपसचिव राजनीतिक शक्तिको आडमा सीडीओबाट फिर्ता नहोलान्,’ गृह स्रोतले भन्यो, ‘आफूले रोजेको स्थान नपाए नजाने सहसचिव पनि हुन्छन् । उनीहरूलाई मन्त्रालयले केही गर्न सक्दैन ।’ 

संघीय मामिला मन्त्रालयका प्रवक्ता तथा सहसचिव कालीप्रसाद पराजुलीले भने गृहमा भएको दरबन्दीअनुसार नै सहसचिवको सरुवा भएको बताए । डोटी, डडेलधुरा, बैतडी, दैलेख, रामेछाप, अर्घाखाँची, सल्यान, प्यूठान, जुम्लालगायत जिल्लामा दरबन्दी सहसचिवको भए पनि सीडीओ उपसचिव छन् । संघीय मन्त्रालय कर्मचारी प्रशासन महाशाखाका एक उपसचिवले भने, ‘बढुवा लिन मात्र राज्यलाई भार पर्ने गरी सहसचिवको दरबन्दी बढाउनु गलत हो ।’

ऋषिराम पौड्याल कान्तिपुरका संवाददाता हुन् । उनी निजामती प्रशासन, संसदीय मामिला, संघीयता र राजस्वसँग सम्बन्धित रिर्पोटिङ गर्छन् ।

Link copied successfully