सिरहा — नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सामूहिक बलात्कारपछि मृत भेटिएकी रिंकु सदाको घर पुगेका छन् । जनजागरण अभियानको क्रममा सिरहा आइपुगेका दाहालले शनिबार बिहान रिंकुको परिवारलाई भेटेका हुन् ।
नवराजपुर गाउँपालिका-१ भगवतीपुरस्थित मुसहर बस्तीमा रहेको रिंकुको घरमा दाहालसँगै नेताहरू नारायणकाजी श्रेष्ठ, अग्निप्रसाद सापकोटा, देवप्रसाद गुरुङ, वर्षमान पुन, जनार्दन शर्मालगायतका नेताहरू पनि पुगेका थिए ।
रिंकुको परिवारका सदस्यसँग भेटघाट र कुराकानी गर्दै दाहालले यो घटनाले आफूलाई निकै दु:खी बनाएको र आफ्नो पार्टी न्यायका लागि आवाज उठाउने बाचा गरे । 'हामी न्यायका लागि आवाज उठाउँछौं,' उनले भने, 'प्रहरीलाई पनि छिटो काम गर्न भन्छौं ।'
गत माघ २७ गते राति शौच गर्न बाहिर निस्केकी रिंकु स्थानीय तीन जना युवकबाट सामूहिक बलात्कारमा परेकी थिइन् । उनी भोलिपल्ट बिहानमात्रै रुँदै घर पुगेकी थिइन् । तर, वडासदस्यसहितका स्थानीयको संलग्नतामा २९ र ३० गते पञ्चायती बसेर घटना गाउँमै मिलाउने प्रयास भएको थियो ।
पञ्चायतीले बलात्कारका पीडकबाट १ लाख ४० हजार जरिवाना भराउने र पीडितलाई प्रहरीमा जान नदिने निर्णय गरेको थियो । तर, पञ्चायती नमिल्दा पीडक पक्षको धम्कीका बीच ३० गते साँझ पीडित किशोरी आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत भेटिएकी थिइन् ।
यस घटनाका विषयमा समाचार आएपछि प्रहरीले बलात्कारमा संलग्न तीन जना र पञ्चायती गर्ने ५ जना गरी ८ जनाविरुद्ध जाहेरी लिएर अनुसन्धान गरिरहेको छ । अनुसन्धानका क्रममा तीन जना प्रहरीको नियन्त्रणमा छन् ।
