पोखरा — नेपालमा ३३ वर्ष पहिले एक हजार ११२ चिकित्सकको दरबन्दी थियो । २०४८ सालयता अहिलेसम्म पनि चिकित्सको दरबन्दीको हालत उस्तै छ । संघीयता कार्यन्वयनमा आएपछि प्रदेशले बल्लतल्ल ७०४ चिकित्सकको दरबन्दी थपेका छन् ।
२०४८ सालको जनसंख्या १ करोड ८० लाख थियो । पछिल्लो जनगणना अनुसार जनसंख्या बढेर २ करोड ९१ लाख पुग्यो ।
पछिल्लो चार वर्षमा नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकको संख्या ८ हजार ६२४ हो । तीनैमध्येका ६ हजार ३६८ जनाले विदेश जानका लागि असल चारित्रिक प्रमाणपत्र लिएका छन् । यिनै तथ्यांक प्रस्तुत गर्दै पोखरामा जारी १२ औं संस्करणको नेपाल लिटरेचर फेस्टिलमा पत्रकार योगेश ढकालले 'स्वास्थ्य सेवामा जनताको पहुँच' अन्तरसंवादको सुरुवात गरे ।
बिहीबार बिहान भूपी कक्षको पहिलो सेसनको अन्तरक्रियामा सहभागी थिए, स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल, मुटुरोग विशेषज्ञ डा. भगवान कोइराला र मधुमेह तथा हर्मोन रोग विशेषज्ञ डा. सन्तोष शाक्य ।
स्वास्थ्यमन्त्री पौडेललाई ढकालले प्रश्न गरे, ‘२२५ दिनमा स्वास्थ्य मन्त्रालयको प्रयोगशालाबाट केके डायग्नोष्टिक गर्नुभयो ? पेन किलर नै खाएरै ठीक हुनुपर्ने रहेछ की सर्जरी नै गर्नुपर्छ भन्ने देख्नुभयो ?’
पौडेलको जवाफ थियो, ‘सर्जरी नै गर्नुपर्छ ।’ सेवा विस्तार गर्ने सन्दर्भमा केही न केही सुधार भएको उनको दाबी छ । ‘अनुभूति दिलाउन केही समय लाग्छ । सिटामोल दिएर हुन्छ या सर्जरी गर्नुपर्छ भन्ने सन्दर्भमा धेरै ठाउँमा सर्जरी गर्नुपर्छ । नीतिगत, व्यवस्थापकीय, लगानीको पक्षमा हामीले सर्जरी नै गर्नुपर्ने स्थिति देखिन्छ ।’
उनले राज्यले सबै क्षेत्रमा जनशक्ति बढाए पनि स्वास्थ्य क्षेत्रमा छुटाएको उनले बताए । ‘राज्यले यो बीचमा सबैलाई बढायो । तर, स्वास्थ्यलाई छुटायो । छुटाउनै नहुने पक्षलाई छुटायो । त्यसलाई करेक्सन गर्नुपर्छ’, उनले भने, ‘अहिले हामी आइसकेपछि मन्त्रालयमा जनशक्ति थप गर्नका लागि मन्त्रिपरिषद्बाट ओएन्डएम स्वीकृत गराइसकिएको छ । मलाई विश्वास छ, केही समयमा ५०० चिकित्सकको विज्ञापन लोकसेवाले गर्ने स्थिति हामीले बनाउँछौं ।’
सरकारले ५०० चिकित्सकको दरबन्दी सिर्जना गर्न स्रोतका दृष्टिले सम्भव नभएको डा. कोइरालाले जिकिर गरे । त्यसका लागि सार्वजनिक निजी साझेदारी मोडलमा जानुपर्ने उनले सुझाए । ‘पाँच सय चिकित्सकको दरबन्दी खोल्न सम्भव छैन । स्रोतको हिसाबले सरकारी पोर्टफोलियोबाट यो दरबन्दी सिर्जना गर्न सकिँदैन । त्यसो हुँदा कि भाग्नुपर्यो की यहींबाट विकल्प खोज्नुपर्यो’, उनले थपे, ‘भाग्ने भनेको देश छोड्ने भन्या होइन । सार्वजनिक निजी साझेदारी किन महत्वपूर्ण छ भने अहिले नेपालमा सफलतापूर्वक चलेका संस्था यही मोडलमा चलेका संस्थाहरुको उदाहरण दिन सकिन्छ ।’ नेपाल सरकारले कागजमा भएको व्यवहारमा उतार्न नसकेको यो नीतिलाई कार्यन्वयननको पहल थाल्नुपर्ने बताए ।
मन्त्री पौडेलले जनशक्तिसँगै उपकरण र पूर्वाधारको सन्दर्भमा पनि सुधार जरुरी रहेको बताए । उनको आग्रह थियो, ‘निराशा नबाडौं धेरै पूर्ण भएको छैन । व्यवस्थित भएको छैन ।’
उनले जनसंख्या र सहर बढे पनि अस्पतालहरु भने बढ्न नसकेको सुनाए । ‘अब सहर धेरै बने । अस्पताल र अस्पताललाई चाहिने अरु पक्षहरु हामीले थप्न नसकेको कुरा सत्य हो’, उनको तर्क छ । जनसंख्याको अनुपातमा अस्पतालहरु थपिनुपर्नेमा मन्त्री पौडेलको जोड छ ।
स्वास्थ्यमा जनताको पहुँच बढाउन अर्थ व्यवस्थापनमा जोड दिन डा. कोइरालाले आग्रह गरे । ‘उपचारसँगसँगै मूल्य कसले व्यहोर्छ ? आजको दिनमा स्वास्थ्यमा कति खर्च हुन्छ ? त्यसको ५४ प्रतिशत खर्च जनताले उपचारको बेलामा खल्ती पटुका कताबाट निकाल्न सकिन्छ त्यताबाट निकालेर बुझाउँछन्, यो राष्ट्रिय इस्यु हो ।’
कसरी जनताले खल्तीबाट तिर्ने बाध्यतबाट हटाउन चुनौती रहेको उनको भनाइ छ । ‘स्वास्थ्यकर्मीमाथि हुने दुर्व्यवहार पनि आर्थिक व्यवस्थापनकै कारण हो । आर्थिक व्यवस्थापन गर्न नसकेसम्म जनतामा स्वास्थ्यको पहुाच अभिवृद्धि हुन सक्दैन’, उनले भने ।
नेपालमा विदेशबाट उपकरणसँगै औषधि आयात हुने कारण निजी अस्पतालको सेवा महँगो पर्ने डा. शाक्यले बताए । ‘हाम्रो संविधानमा आधारभूत स्वास्थ्य राज्यले व्यवस्था गर्नुपर्नेछ । त्यस्तै स्वास्थ्य सेवामा समान पहुाच हुनुपर्छ भनेर भनेको हो’, उनले भने, ‘त्यस्तो भन्दै गर्दा हाम्रो निजि अस्पतालहरुमा समान स्वास्थ्य सेवा, सहुलियत, तिर्न सक्ने दरमा र सहज पहुँच हुन आवश्यक छ ।’
स्वास्थ्यमा निजी क्षेत्रले धेरै लगानी गरेको उनले दाबी थियो । ‘समान स्वास्थ्य दिनका लागि निजी अस्पताल सेवामूलक भएकाले ठूलो सहरमा बढी पाउँछौ । पूर्वाधारदेखि जग्गाको मूल्यका कारण पनि निजी अस्पताल धेरै महँगो भए’, कारण पेस गर्दै उनले भने, ‘त्यहाँको लगानी धेरै भयो । आधुनिक उपकरणहरु आयतमा आधारित छन् । झन्डै ४५ प्रतिशत मात्रै औषधि नेपालमा उत्पादन हुन्छ । बाँकी विदेशबाट आयात हुन्छ । बाहिरबाट आयत गर्दा लाग्ने करले गर्दा पनि निजि अस्पतालहरु महँगो हुन गएको हो ।’
