पोखरा — सरकारले निराशा चिर्न परिणाममुखी काम गर्न नसक्नु अहिलेको कमजोरी रहेको नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बताएका छन् । पोखरामा भइरहेको १२ औं नेपाल लिटरेचर फेस्टिभलको 'निराशा : व्याख्या र वास्तविकता' सत्रमा बोल्दै थापाले सरकारमा 'सेन्स अफ अर्जेन्सी' नभएको विचार राखे ।
सहजकर्ता पत्रकार उमेश चौहानको प्रश्नमा उनले आफूले प्रश्न गरिरहँदा सरकारको कमीकमजोरीबाट भाग्न भने नमिल्ने बताए ।
‘मेरो पनि प्रश्न नै प्रश्न छ । सरकार सञ्चालन गर्ने जिम्मेवार ठाउँमा भएकाले मेरो संलग्नता भए पनि नभए पनि यसभित्र भएका कमीकमजोरीबाट म भाग्न हुँदैन भाग्दिनँ, यसको सबै दोष पनि मैले यहाँबाट भोगेर जानुपर्छ,’ थापाले भने ।
दर्शकदीर्घाबाट छवि सुवेदीले प्रश्न गरे, ‘नेपाली जनता किन विदेशिन थाले ? नेपाली विद्यार्थी जगतले देश किन छोड्यो ? यसको चिन्ता खै माननीयज्यु तपाईं युवा भनेर देशका जनताले आशा गरेका हुन् ?’
अर्का सहभागीले प्रदेश बलियो हुनुपर्नेमा किन यति धेरै आक्रमण भइरहेको भनेर प्रश्न राखे ।
यसको जवाफ दिँदै थापाले प्रदेशलाई 'स्केप गोट' (बलिको बोको) बनाउन खोजेको बताए । ‘हामीले संघले प्रदेशलाई दिनुपर्ने अधिकार केही नदिई संघीयताको सही अभ्यास नगरी फेरि एउटा 'स्केप गोट' प्रदेशलाई बनाउन खोजिरहेका छौं,’ थापाले भने ।
अर्की वक्ता टिच फर नेपाल फेलोसिपकी सहसंस्थापक एवं प्रमुख कार्यकारी अधिकृत स्वस्तिका श्रेष्ठले निराशाकै बीच आशा रहेको बताइन् । ‘चुनौती छैन भन्न खोजेको पनि होइन फेरि आशा भनेको एकदमै अन्धो आशा भन्न खोजेको पनि होइन । समुदायमा आशा पनि छ निराशा पनि,’ उनले भनिन् ।
राजनीतिशास्त्रमा विद्यावारिधि गरेका सोसल साइन्स बहाःका सहनिर्देशक जीवन बानियाँले नेपाल मात्र निराशा रहेको देश नभएको सुनाए । तर, निराशाको विन्दु र तत्वहरु मुख्य रहेको उनको भनाइ थियो । ‘नेपाल मात्र त्यस्तो देश होइन जहाँ निराशा छ । निराशाको रेट कति छ ? कारक तत्व के हो ? भन्ने कुरामा चाहिँ फरक हुन सक्छ । नेपालको सन्दर्भमा रोजगारी, राजनीति नै रहेको विभिन्न अध्ययनले पनि देखाइरहेको छ,’ बानियाँले भने ।
