नेपाल प्रहरीका प्रवक्ता डीआईजी दिनेशकुमार आचार्य भन्छन् : 'मानवीय क्षति भएको जानकारी आएको छैन । सिन्धुपाल्चोकमा पनि सामान्य भौतिक क्षति मात्रै भएको छ ।'
काठमाडौँ — सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्रविन्दु भएर शुक्रबार बिहान गएको ६.१ रिक्टर स्केलको भूकम्प गएको छ । तर भूकम्पबाट कुनै मानवीय तथा ठूलो भौतिक क्षति नभएको प्रहरीले जनाएको छ ।
नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी दिनेशकुमार आचार्यका अनुसार मध्यरातमा भूकम्प गएपनि कुनै मानवीय क्षति भने भएको छैन । भूकम्पबाट ठूलो भौतिक क्षति भएको जानकारी समेत नआएको उनले बताए ।
'भूकम्पको केन्द्रविन्दु सिन्धुपाल्चोकमा सामान्य क्षति देखिएको छ, त्यसबाहेक कुनै मानवीय र ठूलो भौतिक क्षति भएको जानकारी आएको छैन,' डीआईजी आचार्यले भने, 'सिन्धुपाल्चोकको भोटेकोशी क्षेत्रमा एक ठाउँमा सुख्खा पहिरो खसेको छ । त्यसबाट पनि क्षति भएको छैन ।'
सिन्धुपाल्चोकमै एक भाग्नेक्रममा लडेर एक कैदीको हात भाँचिएको प्रहरीले जनाएको छ । उनको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
नेपाल भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान २:५१ बजे भूकम्प गएको थियो । काठमाडौं उपत्यकासहित देशका विभिन्न भाग तथा दार्जिलिङलगायत भारतमा समेत भूकम्पको धक्का महसुस गरिएको थियो।
