प्रेममा इसारा काफी छ

पुरोहित जग्गेको पूजाविधि सांकेतिक भाषाबाट सिकाइरहेका थिए । दुलहा-दुलही भने एकापसमा इसारामा कुरा गर्थे ।

फाल्गुन १६, २०८१

रमेशचन्द्र अधिकारी

Isara is enough in love

धनकुटा — दुवैजना हँसिला, फुर्तिला र मिजासिला । पढाइ र पेसामा लागेका उनीहरु जिम्मेवारीका काममा निपुण पनि छन् ।

दुई महिनाअघि मात्र सामाजिक सञ्जालमार्फत चिनजान भएर भावानात्मक रुपमा नजिकिएको यो सुस्तश्रवण जोडी विवाह बन्धनमा बाँधिन पुगेको छ ।

धनकुटा नगरपालिका-६ आत्माराका अनुसूया पोख्रेल र नुवाकोटस्थित सूर्यगढी-२ का सञ्जोक मिश्र बुधवार विवाह बन्धनमा बाँधिए । रात्रि लग्नमा वैवाहिक कार्यक्रम आयोजना गरिएको थियो । जिल्लामा करिब डेढ दशकपछि रातिको विवाह भएको स्थानीय बताउँछन् ।

यो जोडीलाई विवाहको मण्डपमा नियाल्नेहरु निकै उत्सुक देखिन्थे । भेला भएका आफन्त तथा निम्तालुको उल्लेख्य भीड थियो । दुलहा-दुलही घरीघरी एकापसमा सांकेतिक भाषा तथा इसारामा कुरा गर्थे । वैवाहिक कार्यक्रमलाई नियालिरहेकी संगीता चापागाईले कैयौं विवाह देखे पनि यो विवाह रमाइलो लागेको बताइन् । उनले भनिन्, ‘जीवनमा यस्तो रोचक विवाह पहिलो पटक देख्न पाइयो । यो समाजका लागि सकारात्मक सन्देश पनि हो ।’ 

परम्परागत पोसाक र दुबोको मालामा दुलहा र साडीचोलो तथा मालामा सजिएकी दुलही जग्गेमा थिए । पुरोहितले जग्गेको पूजाविधि सांकेतिक भाषाबाट सिकाइरहेका थिए । दुवैले सोहीअनुसार अलमलबिनै सहज रुपमा भूमिका निभाइरहेका देखिन्थे । पुरोहितलाई सघाउन दुलहीका बाबु सञ्जीव आफैं खटिएका थिए । ‘जग्गेको विधि सांकेतिक भाषामार्फत गर्दा दुलहा-दुलही दुवैले सजिलै बुझे, सहज भयो,’ उनले भने, ‘घरमा छोरी र मेरो कुराकानी पनि सांकेतिक रुपमा हुने गरेकोले चाँडै बुझ्ने गर्छिन् ।’

२६ वर्षीय सन्जोक एक निजी कम्पनीका लेखापाल हुन् भने २४ वर्षीया अनुसूया शिक्षा शास्त्र संकायमा स्नातक अध्ययनरत छिन् । Isara is enough in loveउनीहरु सुस्तश्रवण भएकाहरुको फेसबुक ग्रुप म्यासेन्जरमा जोडिएका थिए । दुई महिना पहिलेबाट आ–आफ्नै म्यासेन्जरमा कुराकानी गर्न थाले । छोटै अवधिमा फेसबुकमार्फत नै प्रेमिल शब्द र भाव अभिव्यक्त भएपछि आफूहरु विवाह बन्धनमा बाँधिने निर्णयमा पुगेको अनुसूयाले लेखेर जानकारी दिइन् । 

उनकी आमा देवीले गत पुसमा छोरीले कुनै केटालाई मन पराएको बताएपछि चासो बढेको बताइन् । ‘छोरीले मन पराएको भनेपछि केटा पक्षलाई यसबारे जानकारी गरायौं,’ उनले भनिन्, ‘केटाका बाबुआमाले समेत सकारात्मक चासो देखाउनुभएपछि छोटै अवधिमा जोडी बाँधिदियौं ।’ 

केटा पक्ष केटीलाई हेर्न नुवाकोटबाट गत महिना धनकुटा आएको थियो । आफ्ना एक्लो सन्तानको जोडी बाँधिदिन औधी मन लागेका बेला छोराले मनले खाएको युवती फेला परेपछि खुसी लागेको बेहुलाका बाबु अच्युतप्रसाद मिश्र बताउँछन् । घरव्यवहार धान्न सक्ने क्षमताकी दुलहीको खोजीमा थियौं,’ उनले भने, ‘सोचे जस्तो बुहारी पाएको महसुस भएको छ ।’

अनुसूया ७ महिनाकी हुँदा परिवारले उनी कान नसुन्ने थाहा पाएका थिए । पछिल्लो समय आफै बोल्ने अभ्यास गरेकी उनले आमा, मामा, बाबा लगायत शब्द बोल्ने गरेको आमा देवी बताउँछिन् । 

सञ्जोग पनि कतिपय शब्द बोल्ने गर्छन् । तर, परिवारले उपचारमार्फत हरप्रयास गर्दा पनि दुवैले कान सुन्न भने सक्दैनन् । शिक्षित र पारिवारिक संस्कार पाएका दुवैको भविष्य उज्ज्वल रहनेमा दुवै परिवार आशावादी छन् ।

रमेशचन्द्र अधिकारी कान्तिपुरका धनकुटा संवाददाता हुन् ।

Link copied successfully