मन्त्री यादवको दाबी : खानेपानी संस्थान कोमामा छ, नाफामा ल्याएरै छाड्छु

फाल्गुन १५, २०८१

कान्तिपुर संवाददाता

Minister Yadav's claim: The water supply institute is in a coma, I will leave it to make a profit

काठमाडौँ — खानेपानीमन्त्री प्रदीप यादवले नेपाल खानेपानी संस्थानलाई नाफामा लैजाने दाबी गरेका छन् । बिहीबार काठमाडौं नेपाल खानेपानी संस्थानको ३६औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै यादवले नेपाल खानेपानी संस्थान कोमामा रहेको भन्दै नाफामूलक बनाउने बताएका हुन् ।

'खानेपानी संस्थान कसरी अघि बढ्छ भन्ने चिन्ता छ । घाटामा रहेको संस्थान नाफामा कसरी आउँछ ? धेरैजसो शाखाहरू घाटामा नै छ । यो सेवाको भावनाले चलेको संस्थान भएको हुनाले र खानेपानी यस्तो महत्त्वपूर्ण कुरा हो । घाटामा रहेर पनि सञ्चालनमा राख्नुपर्छ । यसलाई मुनाफामा कसरी ल्याउने त्यसमा विचार गर्नुपर्छ,' उनले भने ।  

खानेपानी संस्थानलाई नाफामा लैजान 'गेम चेन्जर' कार्यक्रम ल्याउनुपर्ने पनि मन्त्री यादवको भनाइ छ । 'नागरिकबाट मासिक सेवा सुविधा त लिइराख्नुभएको छ । तर कसरी संस्था नोक्सानमा गयो । कसको कारणले गयो ? त्यसकारणले गर्दा संस्थाप्रति इमान्दार भइदिन आग्रह गर्दछु । संस्था रहे मात्रै तपाईं हाम्रो भविष्य छ,' उनले भने । 

मन्त्री यादवले खानेपानी सेवा महसुल दरमा समेत पुनःविचार गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गरे । पानीको गुणस्तर र परिमाणमा वृद्धि गर्ने, खानेपानी महशुल समयानुसार समयानुकूल गर्ने अहिलेको आवश्यकता रहेको बताए । 

कान्तिपुर संवाददाता

Link copied successfully