पाथीभरा केबलकारबारे खतिवडाको प्रतिक्रिया : विकासको काम कुनै पनि बहानामा रोक्न मिल्दैन

फाल्गुन १५, २०८१

कान्तिपुर संवाददाता

Khatiwada's response to Pathibhara cable car: Development work cannot be stopped under any pretext

काठमाडौँ — पाथीभरामा केबलकार निर्माण विवादबारे कांग्रेस सांसद रामहरि खतिवडाले प्रतिक्रिया दिएका छन् । उनले विकास निर्माणको कार्य कुनै पनि बहानामा रोक्न नमिल्ने बताएका हुन् । 

केबलकार निर्माणविरुद्ध भइरहेको आन्दोलन वार्ताबाटै समाधान गर्नुपर्ने पनि खतिवडाको भनाइ छ । बिहीबार गृह मन्त्रालयमा आयोजित गृहमन्त्री रमेश लेखक र कोशी प्रदेशका सांसदबीच भएको छलफलपछि प्रतिक्रिया दिँदै खतिवडाले विकास निर्माणका काम कुनैपनि बहानामा कसैले रोक्न नमिल्ने बताएका हुन् ।

विवाद उत्पन्न भएमा वार्ताबाटै समाधान गर्नुपर्ने खतिवडाको धारणा थियो । ‘विकास निर्माणका काम अवरुद्ध गर्न मिल्दैन, जोसुकैले होस् । तर त्यहाँका स्थानीय जनताका माग के-के छन्, स्थानीय तहमा सम्बोधन हुनुपर्‍यो । स्थानीय तहका मान्छेलाई बाहिरका मान्छेले उचालेर, स्थानीयभन्दा बाहिरका मान्छेको उपस्थिति बढी हुने र राजनीतिकरण गर्ने पद्धतिको विरुद्ध जानुपर्छ ।'

सरकारले विवाद उत्पन्न भएमा वार्ताबाट समस्याको समाधान हुनुपर्ने खतिवडाको धारणा थियो । 'सरकारले जबर्जस्ती पेलेर जानु हुँदैन । समस्याको समाधान भनेको वार्ता नै हो । स्थानीय तहका जनप्रतिनिधि सबैसँग छलफल गरेर एउटा निस्कर्षमा पुग्नु पर्दछ,' उनले भने । 

सांसद खतिवडाले केबलकार निर्माणको अनुमति २०७५ सालमै दिएको तर अहिले स्थानीय जनताले नभई बाहिरका मान्छेले आन्दोलन चर्काएर राजनीतिकरण गर्न खोजेको आरोप लगाए । सबै पार्टीका नेतालाई छलफलका लागि बोलाइएकाले छिट्टै एउटा निष्कर्षमा पुग्ने उनको भनाइ छ ।

कान्तिपुर संवाददाता

Link copied successfully