मलद्वारमा लुकाएको करिब पौने चार किलो सुनसहित उज्वेकिस्तानका चार जना पक्राउ

फाल्गुन १५, २०८१

ऋषिराम पौड्याल

Four people from Uzbekistan were arrested with about four and a half kilos of gold hidden in their anus

काठमाडौँ — प्रहरीले त्रिभुवन विभानस्थल भन्सारबाट जाँचपास सकेर बाहिर निस्कने क्रममा बुधबार उज्वेकिस्तानका चार जना नागरिकबाट ३ किलो भन्दा बढी तौल रहेको सुन बरामद गरेको छ । 

भन्सार जाँच गरेर बाहिर निस्कने क्रममा शंका लागेर खानतलासी गर्दा मलद्वारामा लुकाएको सुन बरामद भएको हो । 

विभानस्थल भन्सार सुरक्षार्थ खटिएका वरिष्ठ प्रहरी उपरीक्षक सोमेन्द्र राठौरका अनुसार दुबईबाट काठमाडौं आएको दुबई एफजेएड ५७५ उडानबाट नेपाल आएका उनीहरुमध्ये तीन जना महिला र एक पुरुष छन् ।

नेपाल प्रहरीको सादा पोसाकमा खटिएका प्रहरीले उनीहरुको मलद्वारबाट सुनको टुक्रा बरामद गरेको हो । तस्करी समूहले उनीहरुलाई भरियाको रुपमा प्रयोग गरेको प्रारम्भिक अनुमान रहेको छ । 

सुनको परीक्षण भने भएको छैन । राठौरका अनुसार सुन भन्सारमा बुझाइनेछ । राठौरले भने, ‘तौल यकिन गरेर भन्सार बुझाउँछैं ।’ विमास्थलमा यात्रा जाँच कक्षको मेसिनले गर्ने जाँच प्रभावकारी नहुँदा अवैध रुपमा हुने कारोबार रोक्न कठिन भएको गुनासो कर्मचारीको रहेको छ । 

अहिले विभानस्थलमा प्रमुख भन्सार प्रशासक पद रिक्त छ । प्रमुख प्रशासक महेश बराललाई सरुवा गरे पनि अर्को व्यक्ति पठाइएको छैन ।

ऋषिराम पौड्याल कान्तिपुरका संवाददाता हुन् । उनी निजामती प्रशासन, संसदीय मामिला, संघीयता र राजस्वसँग सम्बन्धित रिर्पोटिङ गर्छन् ।

Link copied successfully