जापान अन्तर्राष्ट्रिय सहयोग नियोगले साइट हेरेपछि मात्र बीपी राजमार्ग पुनर्निर्माणको निर्णय गरिने
काठमाडौँ — गत असोजको बाढीले क्षति पुर्याएका सडकको ठेक्का व्यवस्थापन फागुन मसान्तभित्र गरिने भएको छ । त्यसका लागि सबै सडकको खरिद गुरुयोजना मागिएको सडक विभागले जनाएको छ । केही सडक कार्यालयले भने गुरुयोजना पठाइसकेका र केहीको आउने क्रममै रहेको विभागका उपमहानिर्देशक एवं प्रवक्ता अर्जुनप्रसाद अर्यालले बताए ।
‘आन्तरिक रूपमा सबै सडक आयोजनालाई एक साताभित्र खरिद गुरुयोजना पठाउन भनेका हौँ,’ अर्यालले भने, ‘त्यसपछि फागुन मसान्तभित्र सबै सडकको ठेक्का व्यवस्थापन गरिसक्छौँ ।’ ठेक्काका लागि प्रारम्भिक चरणको काम सुरु भइसकेको छ ।
‘सबैभन्दा बढी बीपी राजमार्गमा समस्या छ, यसका लागि पूर्वतयारीका काम सकिसकेकाले ठेक्का गरेर काम गर्न समस्या छैन,’ अर्यालले भने, ‘जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले बनाउनेबारे केही निर्णय भएको छैन, उसले कुन खण्ड बनाउने हो, निर्णय भएपछि त्यही काम अघि बढ्छ ।’ बीपी राजमार्गलाई विभिन्न खण्डमा विभाजन गरेर ठेक्का गरिने उनको भनाइ छ ।
बाढी पहिरोले क्षति पुर्याएको सडक पूर्वाधार निर्माणका लागि अर्थ मन्त्रालयले गत मंगलबार स्रोत सहमति दिइसकेको छ । त्यसैले सडक र पुलको स्थायी निर्माण गर्ने गरी बाटो खुलेको विभागले जनाएको छ । बाढीले क्षति पुगेका पुलको काम भने बर्खाअघि सुरु हुने छैन ।
‘पुलहरूको डिजाइनको काम भएको छैन, पुलबाहेक सबै सडकको ठेक्का गर्ने तयारी छ,’ अर्यालले भने, ‘पुलमा डिजाइन एन्ड बिल्डसम्बन्धी निर्देशिका तयार पारेर मन्त्रिपरिषद्मा पठाएका छौँ, त्यो स्वीकृत नहुँदासम्म ठेक्का प्रक्रिया अघि बढाउँदैनौँ ।’ त्यसैले पुलको ठेक्का गर्न अहिले हतार नगरेको उनको भनाइ छ । ‘पुलको ठेक्का आह्वान गरेर सम्झौता गर्दैमा दुई महिनाभन्दा बढी लाग्छ, फेरि बर्खा सुरु भइहाल्छ,’ उनले भने, ‘अहिले सर्भे, डिजाइन र ठेक्का गरेर तयारी अवस्थामा बस्छौँ, बर्खा लगत्तै निर्माणको काम थाल्छौँ ।’
अहिले सडक निर्माण तिरै केन्द्रित भएको अर्यालले सुनाए । ‘बीपी राजमार्गमा अस्थायी र स्थायी दुवै तरिकाले निर्माण गर्ने गरी स्रोत सहमति पाएका छौँ,’ उनले भने, ‘त्यहीअनुसार काम पनि थालिसकेका छौँ ।’ केही दिनभित्र जापानबाट प्राविधिक टोली आएर बाढीले क्षति पुर्याएको स्थलगत हेरेपछि यसबारे जाइकाले निर्णय गर्ने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले बताए । ‘जापानबाट आएको टोलीले हेरेर कुन खण्ड बनाउने हो, निर्णय गर्छ,’ उनले भने, ‘त्यसपछि उसले निर्माण गर्ने खण्ड छुट्याएर हामी काम थाल्छौँ ।’
सडक विभागले पुनर्निर्माणका लागि १८ अर्ब ८८ करोड २० लाख रुपैयाँ लाग्ने अनुमानसहित अर्थसँग स्रोत सहमति माग गरेको थियो । त्यहीअनुसारको स्रोत सहमति पाएको विभागले जनाएको छ । चालु आर्थिक वर्षका लागि १ अर्ब ८८ करोड रकम निकासा दिने निर्णय भएको विभागका महानिर्देशक रामहरि पोखरेलको भनाइ छ ।
भौतिक मन्त्रालयले १० राजमार्ग, १३ पुल र ३ सडकको स्थायी निर्माण र मर्मत सम्भारका लागि भन्दै रकम मागेको थियो । राजमार्गतर्फ १५ अर्ब ८३ करोड १० लाख, पुलतर्फ १ अर्ब ९० करोड १० लाख र वैकल्पिक सडकतर्फ १ अर्ब १५ करोड रुपैयाँ माग गरिएको थियो । सबैभन्दा बढी बीपी राजमार्गका लागि ८ अर्ब ५० करोड रुपैयाँ मागिएको हो । उक्त राजमार्ग स्थायी रूपमा निर्माण र मर्मत गर्नलाई सडक डिभिजन भक्तपुर र खुर्कोटमार्फत रकम माग गरिएको थियो । यसअनुसार भक्तपुर खण्डमा ७ अर्ब ५० करोड र खुर्कोट खण्डलाई १ अर्ब रुपैयाँ माग गरिएको छ ।
काभ्रे भन्ज्याङ–नेपालथोक खण्डको १२ किलोमिटर सडकमा बाढी पहिरोले क्षति गरेको छ । यसको ८.७ किमी सडक खण्ड रोशी खोलाले बगाएको छ । काभ्रेको चौकी डाँडादेखि मुल्कोटसम्मको सडकमा समस्या छ । त्यसमा पनि बढी समस्या चौकी डाँडादेखि नेपाल थोक खण्डमा छ । बाढीले सिन्धुली खण्डमा कम र काभ्रे खण्डमा बढी क्षति पुर्याएको छ ।
अरनिको राजमार्ग, मेची राजमार्ग, बिब्ल्याटे–माईपोखरी–सन्दकपुर सडक, कान्ति राजमार्ग, चरिकोट–सिंगटी सडक, सिद्धार्थ राजमार्ग, खुर्कोट–मिल्टी र तामाकोशी–मिल्टी सडक स्थायी रूपमा निर्माण गर्न बजेट माग गरिएको हो । त्यहीअनुसार बजेट दिने निर्णय भइसकेको विभागले बताएको छ । वैकल्पिक सडकतर्फ कार्भेको भकुन्डेबेंसी–तिमाल–सिन्दुरेटार, दोलखाको किर्नेटार–जाफे र थानकोट–चित्लाङ सडक छन् । यस सडकका लागि १ अर्ब १५ करोड माग गरिएको हो ।
