काठमाडौँ — मनसुनजन्य विपदमा परी बेपत्ता भएका व्यक्तिका परिवारलाई मृतकसरह राहत उपलब्ध गराउने सरकारको निर्णय, विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई ऊर्जामन्त्री खड्काले फेरि सोधे २४ घण्टे स्पष्टीकरण, रुसी खनिज उत्खननका लागि अमेरिकालाई पुटिनको प्रस्तावदेखि १४ औं साग २०२६ को जनवरीमा गर्ने दक्षिण एसियाली खेलकुद महासंघको निर्णयसम्मका खबर आज चर्चामा रहे ।
०००
सरकारले मनसुनजन्य विपद्मा परी बेपत्ता भएका व्यक्तिका परिवारलाई मृतक सरह राहत उपलब्ध गराउने निर्णय गरेको छ । विपद्मा परी बेपत्ता भएको व्यक्ति कम्तीमा १० दिनसम्म पनि फेला पर्न नसकेको अवस्थामा सम्बन्धित जिल्ला विपद् व्यवस्थापन कोषमार्फत मृतकसरह राहत दिने निर्णय गरिएको हो । सोमबारको मन्त्रिपरिषद् बैठकको निर्णयहरु मंगलबार सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले २०८० वैशाख १ गतेदेखि यताका मनसुनजन्य विपत्मा परी बेपत्ता भएका व्यक्तिका परिवारलाई राहत दिने निर्णय गरिएको बताए ।
०००
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट किन नहटाउने भन्दै फेरि २४ घण्टे स्पष्टीकरण सोधेका छन् । मंगलबार मन्त्रिस्तरीय निर्णय गर्दै खड्काले २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न भनेका हुन् । नेपाल–भारत द्विपक्षीय विद्युत् विनिमय समितिको बैठकमा कुन निकायको स्वीकृति लिएर गएको भनेर समेत पत्रमा सोधिएको छ ।
०००
एप्पलले आफ्नो उत्पादन क्षमता विस्तार गर्न टेक्ससको ह्युस्टनमा अत्याधुनिक कारखाना सहितका पूर्वाधार निर्माण गर्ने घोषणा गरेको छ । ठूला अमेरिकी कम्पनीहरूले पहिले आफ्नै देशमा लगानी गर्नुपर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाइमा साथ दिँदै एप्पलले यस्तो पूर्वाधार बनाउने बताएको हो । उक्त कारखानामा विशेषगरी एआई सर्भर उत्पादन गरिने कम्पनीको योजना छ ।
०००
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कब्जामा लिएका युक्रेनी भू-भागसहित रुसका दुर्लभ खनिजहरूको उत्खननका लागि अमेरिकासँग सहयोगको प्रस्ताव गरेका छन् । सोमबार राति एक टेलिभिजन अन्तर्वार्तामा राष्ट्रपति पुटिनले युक्रेन युद्धबारे ट्रम्पको दृष्टिकोणको प्रशंसा गर्दै अमेरिकालाई रुसको खनिज स्रोत उत्खननको प्रस्ताव राखेका बीबीसीले जनाएको छ । रुस-युक्रेन युद्ध अन्त्यबारे दुई देशबीच पहल भइरहेका बेला पुटिनले अमेरिकाका लागि नयाँ प्रस्ताव राखेका हुन् ।
०००
दक्षिण एसियाली खेलकुद महासंघको सोमबार लाहोरमा भएको बैठकले १४ औं दक्षिण एसियाली खेलकुद (साग) २०२६ को जनवरीमा गर्ने निर्णय गरेको छ । बैठक महासंघका अध्यक्ष करिब साहिदको अध्यक्षमा भएको बैठकमा महासंघका सबै सात सदस्यको सहभागिता रहेको थियो । त्यसमध्ये भारतको ओलम्पिक कमिटीका प्रतिनिधिले अनलाइनबाट सहभागिता जनाएका थिए । नेपालका तर्फबाट बैठकमा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले भाग लिएका थिए ।
