सरकारले संसद्मा बलमिचाइँ गर्न खोज्यो : सांसद शर्मा

फाल्गुन १३, २०८१

कान्तिपुर संवाददाता

The government tried to manipulate the parliament: MP Sharma

काठमाडौँ — माओवादी सांसद रेखा शर्माले सरकारले संसद्मा बलमिचाइँ गर्न खोजेको आरोप लगाएकी छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकको विशेष समयमा बोल्दै सांसद शर्माले यस्तो आरोप लगाएकी हुन् । उनले संसदीय समितिबाट पारित भएको विधेयक समेत मन्त्रीले संशोधन गरेको आरोप लगाइन् ।

उनले सरकारले संसद्मा विचाराधीन विधेयक समेत फिर्ता नलिई अध्यादेश जारी गरेको र मन्त्रीका होटलहरूमा समितिको बैठक राख्ने गरेको आरोप लगाइन् । 

उनले भनिन्, 'हामी देखिरहेका छौँ संसद्माथि सरकारको निरन्तर बलमिचाइँ भइरहेको छ । संसदीय समितिबाट पारित विधेयकलाई मन्त्रीबाट संशोधन हुन्छ । संसद्मा विचाराधीन विधेयकलाई फिर्ता समेत नलिई अध्यादेश जारी हुन्छ, मन्त्रीका होटेलहरूमा समितिका बैठकहरू आयोजना गरिन्छन् ।'

उनले संसद्मा प्रतिपक्षी दलका नेताहरूले सोधेको प्रश्नको जवाफ समेत सरकारले नभई सत्तारुढ दलका सांसदहरूले दिने गरेको आरोप लगाइन् । 

उनले भनिन्, 'प्रश्नोत्तर कार्यक्रममा जवाफ नदिएर अपमान गर्ने मात्र होइन सभामुख महोदय प्रतिपक्षी दलका नेताहरूले सोधेका प्रश्नहरूको जवाफ सरकारले हैन पनि सत्तारुढ दलका सांसदहरूले दिनुहुन्छ । यस प्रकारको गतिविधि रोकिनुपर्छ । शक्ति पृथकीकरणको सिद्धान्तअनुसार सांसदले संसद्को अधिकार सदुपयोग गर्न पाउनुपर्छ ।'

उनले सरकारले संसद्माथि गरिरहेको बलमिचाइँ रोकिनुपर्ने बताइन् । 

कान्तिपुर

Link copied successfully