सामाजिक सञ्जाल : सक्कली बिरामीलाई सहयोगको मञ्च, नक्कलीलाई ठगीको अखडा

गायक बिर्ख विश्वकर्माले गम्भीर बिरामीको नाटक गरेर करोडभन्दा बढी संकलन गरेको आरोप, यसअघि बाल कलाकार सचिन परियारको स्वास्थ्य अवस्था देखाएर बुबा तेजेन्द्रले पैसा उठाएर दुरुपयोग गरेको आरोप लागेको थियो

फाल्गुन १३, २०८१

विवेक पोख्रेल

Social media: a platform of support for genuine patients, a platform for fraud for fake ones

काठमाडौँ — जुम्लाबाट काठमाडौं आएका गायक बिर्ख विश्वकर्मा सांगीतिक क्षेत्रमा आफ्नो पहिचान बनाउँदै थिए । ‘मन परेको चुरा’, ‘जुम्ला आउने दोबाटो’, ‘मञ्जरी’, ‘बाटुली’, ‘अब त अत्ति भो’, ‘उनी त मेरै हुनेवाली हुन्’ लगायतका दर्जनौं गीतबाट उनले युट्युबमा दर्शक आकर्षित गर्दै थिए । एक वर्षअघि उनले सामाजिक सञ्जाल भिडियो सार्वजनिक गरे जसमा उनको कुनै नयाँ गीत होइन, नयाँ ‘व्यथा’ भरिएको थियो ।

आफूलाई ‘ब्लड क्यान्सर’ भएको भन्दै उनले आर्थिक सहयोग माग्न सुरु गरे । ‘अब बाँकी सबै भगवान्को हातमा छ’, ‘आयु छोटो रहेछ’ जस्ता क्याप्सनसहित राखिएका उनका पोस्टले गीतभन्दा बढी चर्चा पाउन थाले । अस्पताल र उपचारमा प्रयोग भएका ‘कागजात’ फेसबुकमा राखेर उनले समाजको सहानुभूति मात्र होइन, आर्थिक सहयोग पनि बटुल्न थाले । यही बीचमा ‘आयु छोटो रैछ मेरो त’ र ‘स्वर्गमा प्रतीक्षा गरौंला’ जस्ता गीत पनि भाइरल भए । तर बिर्खले बनाएका गीतभन्दा बढी अहिले उनका बारेमा बनाइएका भिडियो भाइरल भएका छन् । किनकि उनका सहयोगीले दाबी गरेका छन्, ‘बिर्खलाई ब्लड क्यान्सर भएकै थिएन, उनले समाजलाई ढाँटे, ठगे ।’

बिर्खले भरतपुरको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले आफूलाई क्यान्सर भएको प्रमाणित गरेको बताउँदै आएका छन् । उपचारका लागि भन्दै उनी ह्विलचेयरमा बसेर विमानस्थल पुग्ने गरेका थिए । उनको पोस्टले समाजमा करुणा मात्र जगाएन, आर्थिक सहयोग पनि संकलन भयो । तर, भरतपुर क्यान्सर अस्पतालले बिर्खलाई क्यान्सरको उपचार नगरेको प्रस्ट पारेपछि सहयोगीहरू नै झसंग भएका छन् ।

बिर्खले भने सोमबार पनि फेसबुक लाइभ गरेर आफूलाई क्यान्सर भएको दाबी गरे । ‘मलाई विश्वास नलागे भरतपुरको क्यान्सर अस्पतालमा लैजाने दाइ–दिदीहरूलाई र डाक्टरलाई सोध्नुस्, मेरो मुख, नाक, कानबाट धेरै रगत बग्ने गरेको सुनाएपछि डाक्टरले बेलामा नै उपचार गर्न भन्नुभएको थियो,’ उनको भनाइ छ, ‘मैले करोडौं खाएर, नाटक गरेर भागें भन्ने आरोप लागेको रहेछ । म काठमाडौंमा नै छु । क्यान्सर नभएको भए मलाई १५/१६ वटा दबाई केका लागि दिएको हो ? हजुरहरूले स्पष्ट पारिदिनुपर्‍यो । म धेरै पढ्न–लेख्न जान्दिनँ । डाक्टरले भनेअनुसार नै उपचार गरें, औषधि खाएँ ।’

क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. शिवजी पौडेलले अस्पतालमा भएको अभिलेखअनुसार बिर्खलाई क्यान्सर नभएको प्रस्ट पारे । ‘अस्पतालमा बिरामी आएपछि शंका लागेको रोगको परीक्षण हुन्छ । बिर्ख विश्वकर्मा गत वर्ष माघमा अस्पतालमा आएको देखिन्छ । पेट फुल्ने र कब्जियत हुने समस्या छ भनेपछि सोही दिन चिकित्सकले इन्डोस्कोपी, मुटुको ईसीजी, एचआईभीलगायतका रगतको विभिन्न परीक्षणहरू गराएको भेटियो,’ पौडेलले कान्तिपुरसँग भने, ‘ती सबै परीक्षणको रिपोर्ट सोही दिन सामान्य आएको छ । रिपोर्टमा अल्सर देखिन्छ । अल्सर भनेको क्यान्सर होइन ।’

डा. पौडेलका अनुसार यसबाहेक थप जाँच भएको विवरण अस्पतालमा छैन । ‘हाम्रो अस्पतालले क्यान्सरको फाइल छुट्टै बनाउँछ र राख्छ, जसमा क्यान्सर देखिएको बिरामीहरूको विवरण हुन्छ । क्यान्सर पुष्टि गर्ने कुनै परीक्षण वा रिपोर्टमा बिर्ख विश्वकर्माको नाममा देखिएको छैन,’ उनले भने ।

क्यान्सर लागेको, उपचार गर्ने आर्थिक हैसियत नभएको भनेर उनले लेखेका स्टाटस र बनाएका भिडियो अहिले पनि फेसबुक, युट्युब र टिकटकमा छन् । उनको फेसबुक हेर्दा १ हजारदेखि ६ लाखसम्म सहयोग गर्ने शुभचिन्तक देखिन्छन् । तर, बिर्खलाई भाइ मान्दै आएकी सञ्चिता शाहीले विश्वासमा परेर बिर्खका लागि पैसा माग्नु आफ्नो भूल भएको बताएकी छन् । ‘बिर्खले आफू टुहुरो भएको र अस्पतालमा हेरविचार गर्ने कुरुवासमेत नरहेको बताएपछि मानवताका नाताले सहयोग गरेकी हुँ,’ उनले सञ्जालमा लेखेकी छन् । बिर्खको दाबी झूट भन्ने थाहा पाउँदा आत्मग्लानि भएको बताउँदै उनले चन्दादातासँग क्षमा मागेकी छन् । तर, यसअघि बिर्खका लागि आर्थिक सहयोग माग्ने अभियानमा लागेकाले सञ्जालमा उनीमाथि पनि प्रश्न उठेको छ ।

गम्भीर बिरामीका नाममा पैसा संकलन गरेर दुरुपयोग भएको यो नै पहिलो घटना भने होइन । यसअघि बाल कलाकार सचिन परियारको स्वास्थ्य अवस्था देखाएर बुबा तेजेन्द्रले पैसा उठाएर दुरुपयोग गरेको आरोप लागेको थियो । सचिनका नाममा लाखौं रुपैयाँ संकलन भए पनि उनको उपचार भने राम्रोसँग भएन । गत १८ पुसमा १३ वर्षको उमेरमा सचिनको निधन भएपछि समाज तरंगित भएको थियो । तर, समय बित्दै जाँदा सचिनको विषय ओझेल पर्दै गयो भने बिर्खको विवाद सतहमा आएको छ ।

क्यान्सर, मिर्गौला, मुटुरोगजस्ता गम्भीर रोगको उपचार नेपालमा असाध्यै महँगो र जटिल छ । त्यसैले शुभचिन्तकबाट आर्थिक सहयोग गर्न र वास्तविक पीडितको उपचारका लागि अर्थ संकलन गर्न सामाजिक सञ्जाल सहयोगी पनि भएको छ । कतिपयले भने दुरुपयोग गरेका छन् ।

नेपाल प्रहरीका प्रवक्ता डीआईजी दिनेश आचार्य बिरामीका नाममा पैसा उठाएर दुरुपयोग गरेको विषयमा सामाजिक सञ्जालमा विवाद भए पनि औपचारिक उजुरी नआएको बताउँछन् । ‘सामाजिक सञ्जालमा विवाद देखिए पनि उजुरी आएका छैनन्, त्यसैले यस्ता विषयमा अनुसन्धानको प्रक्रिया अगाडि बढाइएको छैन,’ उनी भन्छन्, ‘चिनजानको व्यक्तिले मात्र पैसा दिने भएकाले पनि समस्या प्रहरीमा नआएको होला ।’

त्यसो त संकलित आर्थिक सहयोगबाट उपचार गरेर सुन्दर जीवन जिउनेहरू पनि प्रशस्त छन् । अमेरिकामा रहेकी सरु गुरागाईंको उपचारमा सामाजिक सञ्जाल नै साथी बन्यो । श्रीमान् मुरारी गुरागाईंले गत साल ‘गो फन्ड मी’ मा आह्वान गरेर संकलन गरेको सहयोगले नै घाँटीको क्यान्सरको उपचार भयो । उनको उपचारका लागि आवश्यक ७५ हजार डलर जुटेपछि थप रकम आवश्यक नभएको जानकारी परिवारले नै दिएको थियो । सरुको स्वास्थ्य अहिले सामान्य हुँदै गएको परिवारजनले बताएका छन् ।

सामाजिक सञ्जालबाट संकलन भएको रकमले चितवनका पत्रकार भूपराज पाठकको उपचार हुँदै थियो । गत फागुन ७ मा उनको निधन भयो । काठमाडौं महाराजगन्जस्थित शिक्षण अस्पतालले पाठकलाई ब्लड क्यान्सर भएको पुष्टि गत २१ मंसिरमा गरेको थियो । लगत्तै उनको उपचारका लागि सहयोग संकलन सुरु भएको थियो । देश–विदेशबाट करिब ५६ लाख संकलन भएको अभियानका एक सदस्य देवअञ्जान शाहले जानकारी दिए । क्यान्सरको उपचार गर्दागर्दै भूपराजलाई क्षयरोग पनि देखिएको थियो । तर, शुभचिन्तकबाट रकम संकलन भएकाले उपचारका लागि उनलाई दिल्लीस्थित राजीव गान्धी अस्पतालसमेत लगिएको थियो ।

अहिले चितवनकै क्यान्सरपीडित पत्रकार संगीता बानियाँ सिलवाल बचाउ अभियान चलिरहेको छ । सहयोगबिना उपचार सम्भव नभएको भन्दै संगीता आफैंले सामाजिक सञ्जालबाट आह्वान गरेकी छन् । अहिलेसम्म उनका लागि करिब ८ लाख रुपैयाँ संकलन भएको छ । भरतपुरमा उनको उपचार जारी छ ।

भरतपुरकी ४ वर्षीया मुना गुरुङको मुटुमा प्वाल परेपछि सामाजिक सञ्जालबाटै आर्थिक संकलन गरेर मंगलबार शल्यक्रिया हुँदै छ । त्यस्तै २०७९ माघमा भीरबाट लडेर घाइते भएका तनहुँ देवघाटका ११ वर्षीय राम भुजेलको उपचार पनि सामाजिक सञ्जालकै कारण सहज भएको थियो । दैलेखको ठाटीकाँधका हृदेयशकुमार शाहीका डेढ वर्षीय छोरा नेसन शाहीको मिर्गौलामा समस्या आएपछि उनको परिवारले पनि सामाजिक सञ्जालबाट आर्थिक सहयोग मागेको छ । जन्मेको १५ दिनदेखि प्रोस्टेटको बिरामीले थलिएका बालकको अहिले मिर्गौलामा समस्या आएपछि उपचारमा आर्थिक समस्या भएको हो । उनका ठूलाबुबा नरेन्द्र शाहीका अनुसार प्रोस्टेटकै कारण नेसनको एउटा मिर्गौला फेल भएको छ भने अर्कोमा सुन्निने समस्या देखा परेको छ । खेत बेच्दासमेत उपचारका लागि पैसा नपुगेपछि उनीहरू अहिले सामाजिक सञ्जालमार्फत सहयोग माग्दै छन् । बालकको भने कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार गराइरहेका छन् ।

विवेक विवेक कान्तिपुरका संवाददाता हुन् । उनी सुरक्षा मामिलामा रिपाेर्टिङ गर्छन् । उनी एक दशकदेखि पत्रकारितामा सक्रिय छन् ।

Link copied successfully