ललितपुरको भैंसेपाटीबाट चितुवाको उद्धार

सदर चिडियाखानामा राखेर चितुवाको आनीबानी हेरेपछि प्राकृतिक बासस्थानमा छाड्ने/नछाड्ने निर्णय हुने

फाल्गुन १३, २०८१

कान्तिपुर संवाददाता

Rescue of Leopard from Bhainsepati in Lalitpur

काठमाडौँ — ललितपुरको भैंसेपाटी क्षेत्रबाट एउटा चितुवा उद्धार गरिएको छ । सोमबार दिउँसो ललितपुर महानगरपालिका-१८ बाट घरको कम्पाउन्डमा बसेको चितुवालाई समातेर जावलाखेलस्थित सदर चिडियाखानामा लगिएको छ । 

सोमबार दिउँसो भैंसेपाटीस्थित रुपिज इन्टरनेसनल स्कुलकी स‌ंस्थापक, कार्यकारी निर्देशक रुपी सिंहकाे घरको कम्पाउन्डमा चितुवा पसेको खबर पाएपछि डिभिजन वन कार्यालय, काठमाडौंको टोली खटिएको थियो । वन अधिकृत शंकर थापाको नेतृत्वमा गएको टोलीले उक्त चितुवालाई डार्ट गरेको थियो ।

डार्ट गरिसकेपछि झस्किएर भाग्ने क्रममा चितुवाले एक जना महिलालाई आक्रमण गरेको छ  । ललितपुरका प्रमुख जिल्ला अधिकारी रमेश ढकालका अनुसार घाइते हुनेमा ५० वर्षीया विनिता खड्का रहेकी छिन् । वन अधिकृत थापाले नियन्त्रणमा लिइएको चितुवालाई उपचारका लागि चिडियाखानामा राखिएको बताए ।

Rescue of Leopard from Bhainsepati in Lalitpur

'उपचारका लागि चितुवालाई चिडियाखानामा राखिएको छ । अब उसको आनीबानी हेरिन्छ । मान्छेलाई आक्रमण गर्ने खालको हो कि होइन हेरिन्छ । रोगहरू छ भने उपचार गरिन्छ । त्यसपछि उसलाई प्राकृतिक बासस्थानमै छाड्ने कि नछाड्ने निर्णय हुन्छ,' उनले भने ।

Rescue of Leopard from Bhainsepati in Lalitpur

पछिल्लो समय काठमाडौं उपत्यकाका विभिन्न स्थानमा चितुवा देखिएको छ नि भन्ने प्रश्नमा वन अधिकृत थापा भन्छन्, 'नागार्जुन जंगल-दक्षिणकाली-चम्पादेवी-कीर्तिपुर बागबानी-सुनाकोठी चितुवा हिँड्ने रुट नै हो । चितुवा पहिले पनि हिँड्ने बाटो यही हो, पहिले सीसीटीभी थिएन त्यही भएर खासै नोटिस हुन्थेन । अहिले बस्ती पनि जंगलनजिक बढेकाले चितुवा देखिएका समाचार भन्ने आएका हुन् ।' समातिएको चितुवाको उमेर थाहा नभए पनि वयस्क रहेको उनको भनाइ छ ।  

सदर चिडियाखानका सूचना अधिकारी गणेश कोइरालाले निगरानीका लागि चितुवालाई चिडियाखानामा राखिएको बताए । उनले पनि हल्लाखल्ला बढी भएपछि आत्तिएर चितुवाले आक्रमण गरेको हुन सक्ने बताए । 

कान्तिपुर

Link copied successfully