काठमाडौँ — 'जनतासँग माओवादी तराई–मधेश जागरण अभियान’को उद्घाटनमा झोँक्किएका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले चितवन आएर माफी मागेका छन् । झापाको कार्यक्रममा आफूले मनोवैज्ञानिक अवरोध उत्पन्न भएको महसुस गर्दा रिसाउन पुगेको उनको स्पष्टीकरण छ ।
मंगलबार चितवनमा पत्रकार सम्मेलनमा वरिष्ठ उपाध्यक्ष श्रेष्ठले सार्वजनिक रूपमै माफी मागेका हुन् । उनले भने, 'मैले बोल्न मात्र सुरुवात के गरेको थिएँ अलिकति त्यहाँ मनोवैज्ञानिक अवरोधजस्तो उत्पन्न भयो । अनि त्यसपछि त्यसलाई अलिकति बिझाएजस्तो महसुस गरेँ ।'
पछि आफूले त्यसलाई सामान्य घटनाका रूपमा लिएको उनले बताए । 'सामान्य घटनाका रूपमा लिन सबैलाई अनुरोध गर्छु । त्यसो नगरिदिया भए पनि हुन्थ्यो । सहिदिएको भए पनि हुन्थ्यो । कतिपयले मलाई म्यासेज पनि पठाउनु भएको छ । पार्टीबाहिरका साथीहरूले पनि मलाई तपाईंको टावरिङ पर्सनालिटीले त्यसो गर्नु सुहाएन भन्नु भएको छ । जसलाई अलि चित्त दुख्या छ, सार्वजनिकै रूपमा क्षमायाचना गर्न चाहन्छु,' उनले भने ।
आइतबार आफू बोल्दाबोल्दै कार्यक्रम सञ्चालक राजु आचार्य पोडियम अगाडि उभिएपछि वरिष्ठ उपाध्यक्ष श्रेष्ठले, ‘तपाईं मलाई मन्तव्य छोट्याउनुस् भन्नलाई अगाडि देखा पर्नुभएको ?’ भन्दै माइक छाडेका थिए । अभियान उद्घाटन सभामा वरिष्ठ उपाध्यक्ष श्रेष्ठ बोल्दै थिए । त्यही क्रममा उनले असन्तुष्टि व्यक्त गर्दै माइक नै छाडे । घटनाले अध्यक्ष दाहाललाई असहज बनाएको देखिन्थ्यो । तर, दाहालले आफ्नो सम्बोधनको क्रममा भने उक्त विषयलाई सामान्यीकरण गर्ने प्रयास गरेका थिए ।
तर, सञ्चालक आचार्यले आफूले कुनै गल्ती नगरेको स्पष्ट पार्दै क्षमायाचना गरेका थिए । ‘नारायणकाजी कमरेड बोल्दा म अनायासै पोडियम अघिल्तिर पुगेछु’, आचार्यले भने,‘तर, मेरो नियत उहाँलाई चाँडो मन्तव्य सक्नु भन्ने थिएन ।’
श्रेष्ठले माइक छाडेपछि अध्यक्ष दाहालले परिस्थितिलाई सम्हाल्ने प्रयास गरे । श्रेष्ठप्रति लक्षित गर्दै भने, ‘वरिष्ठ उपाध्यक्ष सैद्धान्तिक विषय राख्न बल गर्दै हुनुहुन्थ्यो, तर उहाँले मन्तव्य नरोक्दा राम्रो हुन्थ्यो ।’ उनले यसलाई ठूलो विषय नभएको बताउँदै आत्मसमीक्षाको आवश्यकता रहेको बताएका थिए ।
'कुनै पनि बहानामा अभियान कमजोर हुँदैन'
माओवादीको हुलाकी मार्ग केन्द्रित ‘जनतासँग माओवादी’ अभियान प्रभावकारी बनाउँदै पार्टीलाई बलियो र एकताबद्ध गर्नुपर्ने वरिष्ठ उपाध्यक्ष श्रेष्ठको भनाइ छ । उनले भने, 'कुनै पनि बहानाममा यस अभियानलाई कमजोर पार्ने काम गरिनुहुन्न ।'
अध्यक्ष दाहालको नेतृत्वमा पार्टीमा असाधारण एकता सुरु भएको उनको भनाइ छ । 'अध्यक्ष दाहालकै नेतृत्वमा पार्टीको रूपान्तरण र पुनर्गठन अभियान सुरु गरेका छौँ । एकताबद्ध, शक्तिशाली र क्रान्तिकारी पार्टी बनाउने तयारीमा लागिएको छ । यसमा हामी अझै बढी प्रभावकारी ढङ्गले अघि बढ्छौँ,' उनले भने ।
सम्बन्धित समाचार
