आफू बोल्दाबोल्दै कार्यक्रम सञ्चालक राजु आचार्य पोडियम अगाडि उभिएपछि वरिष्ठ उपाध्यक्ष श्रेष्ठले, ‘तपाईं मलाई मन्तव्य छोट्याउनुस् भन्नलाई अगाडि देखा पर्नुभएको ?’ भन्दै माइक छाडेका थिए ।
झापा — माओवादी केन्द्रको 'जनतासँग माओवादी तराई–मधेश जागरण अभियान’ सोमबार झापादेखि सुरु भयो । तर, अभियानकै उद्घाटन समारोहमा शीर्ष नेतृत्वबीचको असमझदारी पुनः सतहमा देखिएको छ ।
खासगरी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठबीचको ‘मिसअन्डस्ट्यान्डिङ’ सतहमा आउँदा कार्यक्रम नै प्रभावित बनेको हो ।
अभियान उद्घाटन सभामा वरिष्ठ उपाध्यक्ष श्रेष्ठ बोल्दै थिए । त्यही क्रममा उनले असन्तुष्टि व्यक्त गर्दै माइक नै छाडे । घटनाले अध्यक्ष दाहाललाई असहज बनाएको देखिन्थ्यो । तर, दाहालले आफ्नो सम्बोधनको क्रममा भने उक्त विषयलाई सामान्यीकरण गर्ने प्रयास गरेका थिए ।
झापाको कचनकवलस्थित बनियानी बजारमा आयोजित कार्यक्रममा पार्टी पदाधिकारीहरूले पालैपालो मन्तव्य राखे । अध्यक्ष दाहालले सबै पदाधिकारीलाई बोल्न आग्रह गर्दै पार्टीभित्र उठेका प्रश्नहरूको समाधान दिन खोजिएको बताए । तर, मन्तव्यका क्रममा कार्यक्रम सञ्चालक राजु आचार्य पोडियम अगाडि उभिएपछि वरिष्ठ उपाध्यक्ष श्रेष्ठ असन्तुष्ट बनेका थिए । श्रेष्ठले, ‘तपाईं मलाई मन्तव्य छोट्याउनुस् भन्नलाई अगाडि देखा पर्नुभएको ?,’ भन्दै माइक छाडेका थिए ।
तर, सञ्चालक आचार्यले आफूले कुनै गल्ती नगरेको स्पष्ट पार्दै क्षमा याचना गरेका थिए । ‘नारायणकाजी कमरेड बोल्दा म अनायासै पोडियम अघिल्तिर पुगेछु’, आचार्यले भने,‘तर, मेरो नियत उहाँलाई चाँडो मन्तव्य सक्नु भन्ने थिएन ।’
श्रेष्ठले माइक छाडेपछि अध्यक्ष दाहालले परिस्थितिलाई सम्हाल्ने प्रयास गरे । श्रेष्ठप्रति लक्षित गर्दै भने, ‘वरिष्ठ उपाध्यक्ष सैद्धान्तिक विषय राख्न बल गर्दै हुनुहुन्थ्यो, तर उहाँले मन्तव्य नरोक्दा राम्रो हुन्थ्यो ।’ उनले यसलाई ठूलो विषय नभएको बताउँदै आत्मसमीक्षाको आवश्यकता रहेको बताएका थिए ।
