पहिचानको मुद्दा सम्बोधन गर्ने अध्यक्ष दाहालको प्रतिबद्धता
झापा — नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संविधानको पूर्ण कार्यान्वयनमा जोड दिँदै उत्पीडित वर्ग र समुदायको पहिचानको मुद्दा सम्बोधन गर्नुपर्ने बताएका छन् ।
झापाको कचनकबल–३ आमबाडीमा आयोजित सहिद परिवार तथा आदिवासी अगुवाहरूको भेटघाट कार्यक्रममा बोल्दै उनले संविधानमा उल्लेखित स्वायत्त क्षेत्र, विशेष क्षेत्र र संरक्षित क्षेत्रको अवधारणा कार्यान्वयन गर्दा पहिचानका समस्याहरू समाधान गर्न सकिने धारणा राखे ।
उनले भने, ‘कोच, शेर्पा लगायत धेरै समुदायको पहिचान सम्बोधन गर्न संविधानको पूर्ण कार्यान्वयन अत्यन्त महत्त्वपूर्ण छ । यदि त्यसो गर्दा पनि समस्याको समाधान नहुँदा, संविधान संशोधनमार्फत् अघि बढ्न आवश्यक छ ।’
अध्यक्ष दाहालले संविधान निर्माणका समयमा उत्पीडित वर्ग र समुदायका मुद्दा पर्याप्त रूपमा उठाउन नसकिएको स्मरण गर्दै अब माओवादी पार्टीले उत्पीडित वर्ग र समुदायको एजेन्डा प्राथमिकतामा राख्ने नीति लिएको बताए । उनले पार्टीको अभियानलाई उत्पीडित वर्ग र समुदायसँगको सम्बन्ध जोड्नको लागि समेत सुरु गरिएको स्पष्ट पारे ।
