स्कुल नछुटाउने आमाहरू

गोरखाको कृष्ण आधारभूत विद्यालयमा यो वर्ष ३५ देखि ६५ वर्ष उमेर समूहका १३ महिला भर्ना भएका छन्, पढाइमा उनीहरूको लगाव देखेर शिक्षक पनि दंग छन्

फाल्गुन १२, २०८१

हरिराम उप्रेती

Mothers who don't miss school

गोरखा — ५७ वर्षीया राजथानी गुरुङ नाति उमेरका सहपाठी हिमान्सु सिर्मलसँग प्रायः एउटै बेन्चमा हुन्छिन् । आइतबार वर्णमालाका अक्षर फुटाउँदै कापीमा उतारेपछि राजथानीले हिमान्सुलाई पनि लेख्न सिकाइन् ।

गोरखा नगरपालिका–६ पोखराथोकस्थित श्रीकृष्ण आधारभूत विद्यालयमा कक्षा १ मा भर्ना भएकी उनी सकेसम्म कक्षा छुटाउँदिनन् । हरेक दिन कापीकिताब च्यापेर एक घण्टा पैदल दूरीमा रहेको विद्यालय पुग्छिन् ।

बारपाक सुलिकोट–४ सौरपानी घर भएकी राजथानी २०७२ वैशाख १२ को भूकम्पपछि गोरखा बजारमा बस्न थालेकी हुन् । ‘बजारमा त केही नजानेको जस्तो हुँदो रहेछ, नाम लेख्न आउँथेन, फोन गर्नुपरे अरूलाई मोबाइल दिनुपर्ने,’ उनले भनिन्, ‘जान्नैपर्ने लागेर स्कुल भर्ना भएँ ।’ 

उनी १० महिनाको अन्तरालमा अक्षर फुटाउन र नाम लेख्न सक्ने भएकी छन् । ‘घरको धन्दा सक्दा कहिलेकाहीँ हतारोमा आउनुपर्छ, सर कक्षामा गइसकेपछि आइपुग्दा साह्रै नमज्जा लाग्ने,’ उनले भनिन्, ‘घरायसी काम नगरी पनि नहुने ।’ बुढ्यौलीका कारण उनका आँखा साँझको समयमा अक्षरको भेउ पाउँदैनन् ।

‘बेलुकी आँखा अल्ली देख्दिनँ, होमवर्क सम्झिँदा मन पोल्छ, सबेरै होमवर्क सकाएर बल्ल घरधन्दा गर्छु,’ उनले भनिन् । उनका चार छोरी र तीन छोरा छन् । ‘दुई छोराले पाँच पढेर छाडे, कान्छो पनि ९ कक्षा पढेपछि मलेसिया गएर फर्किएको छ,’ उनले भनिन्, ‘अहिले दुई छोरीतिरका नातिनीलाई स्कुल पठाएर पढ्न आउने गरेकी छु ।’ वार्षिक परीक्षा नजिकिँदै गर्दा राजथानीको पेट पोलेको छ । 

राजथानीजस्तै कृष्ण आधारभूत विद्यालयमा चालु शैक्षिक सत्रमा ३५ देखि ६५ वर्ष उमेर समूहका १३ महिला भर्ना भएका छन् । उनीहरूले पढाइमा देखाएको लगावले शिक्षक पनि दंग छन् । विद्यालयले उनीहरूको पढाइको स्तर मापन गरेर १ देखि ३ कक्षासम्म भर्ना गरेको छ । कक्षा १ र २ मा ६/६ जना र कक्षा ३ मा १ जना पढ्छन् ।

बारपाक सुलिकोट–१ की ४९ वर्षीय जुनमाया गुरुङ आइतबार अक्षर राम्रो बनाउने अभ्यास गर्दै थिइन् । ‘अल्छी गर्न भएन, पढ्दै, अभ्यास गर्दैगर्दा जानिँदो रहेछ,’ कक्षा २ मा पढ्ने उनले भनिन्, ‘उमेरले पनि होला एकैचोटिमा सम्झन अल्ली गाह्रो हुँदो रहेछ ।’

जुनमायाका छोरा १२ र छोरी ९ कक्षामा पढ्छन् । ‘पहिले पढ्न पाइएन, छोरीलाई पढाउनेभन्दा पनि घरको काममा लगाउने चलन थियो,’ उनले भनिन्, ‘अलि पहिले गाउँमा प्रौढ कक्षा चल्दा भर्ना भएकी थिएँ । त्यो बेला अलिअलि जानेकाले दुई कक्षामा राखिदिनुभएको छ । अहिले त धेरै सिकेंजस्तो लाग्छ ।’ 

कक्षा २ मा अध्ययनरत धार्चे–३ उहियाकी ३५ वर्षीया ललकुमारी घलेलाई भने उच्च शिक्षासम्म पढ्ने धोको छ । ‘सानामा स्कुल देख्न पाइएन, अझै आधा उमेर छ, अब स्कुल छाड्दिनँ,’ उनी भन्छिन्, ‘स्कुल आउन घरपरिवारको पनि साथ छ ।’

उनी आफूले नजानेको कुरा ८ कक्षामा पढ्ने छोरी सविनासँग सोध्छिन् । ‘खाना खाएपछि त आमा छोरी दुवै जना होमवर्क गर्छौं,’ उनले भनिन् । श्रीकृष्ण आविमा गत शैक्षिक सत्र १८ जना आमा भर्ना भएका थिए । जसमध्ये १३ जनाले कक्षा नछाडेको प्रधानाध्यापक रामबहादुर अच्छामी बताउँछन् ।

‘गत वर्ष पनि ५ जना आमा/दिदीहरूले कक्षा ५ पास गर्नुभयो, उनीहरूमध्ये दुई जनाले ६ कक्षा पढिरहनुभएको छ, यो वर्ष १३ जना नियमित हुनुहुन्छ,’ उनले भने, ‘समयमै आउने, छुट्टी हुँदासम्म कक्षामै पढेर बस्ने गर्नुहुन्छ, उहाँहरूले लगाव देखेर हामी पनि छक्क छौं ।’

हरिराम उप्रेती उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Link copied successfully