कुलमानलाई हटाउने ऊर्जामन्त्रीको प्रस्तावबारे राज्यमन्त्रीको आक्रोश- 'सरकारमा छु भन्दैमा जे पायो त्यही गर्न पाइन्छ ?' 

फाल्गुन १२, २०८१

कान्तिपुर संवाददाता

The state minister's anger about the energy minister's proposal to remove Kulman - 'Can you do whatever you want if you say you are in the government?'

काठमाडौँ — नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने प्रस्ताव ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले मन्त्रिपरिषद्‌मा लगेका छन् ।

ऊर्जा मन्त्रालय स्रोतका अनुसार आइतबार नै तयार पारिएको प्रस्ताव सोमबारको बैठकमा औपचारिक रुपमा प्रस्तुत गर्दै छन् । प्रधानमन्त्री निवास बालुवाटरमा बसेको मन्त्रिपरिषद्को बैठकमा उक्त प्रस्ताव लगिएको हो ।

ऊर्जामन्त्री खड्काले कार्यकारी निर्देशक घिसिङलाई एकोहोरो रुपमा हटाउन खोजेकामा ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङले भने आक्रोश व्यक्त गरेका छन् । सरकारको मन्त्री हुँदैमा जे पायो त्यै गर्न नहुने र कुलमानलाई हटाउन नमिल्ने तामाङको भनाइ छ । 'आज मन्त्रिपरिषद्‌मा प्रस्ताव लगेको छ रे भन्ने सुनेको छु । अर्का (मन्त्री खड्का) ले लगेको प्रस्ताव हो, मैले लगेको होइन,' राज्यमन्त्री तामाङले भने ।

घिसिङलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाउन नहुने पक्षमा आफू रहेको राज्यमन्त्री तामाङको भनाइ छ । 'म कुलमानलाई नहटाउने पक्षमा हो । सरकार पनि जनताले बनाएको हो । हामीलाई जनताले भोट दिएर माननीय भएको हो । जनताको पक्षमा भएको कुलमानलाई हटाउन मिल्छ ?,' तामाङले भने, 'मेरो कुरा कुलमानलाई राख्नुपर्छ भन्ने हो । हटाउने कुरा मन्त्री खड्कालाई नै सोध्नुहोला ।'

राज्यमन्त्री तामाङले सरकारको मन्त्री पदमा रहेका व्यक्ति खड्काले घिसिङलाई दुःख दिएको बताए ।

घिसिङले नटेरेपछि मन्त्रीले त्यो कदम चालेका हुन् कि भन्ने कान्तिपुरको जिज्ञासामा राज्यमन्त्री तामाङले भने, 'कुलमानले सरकारको मान्छे (मन्त्री दीपक खड्का) को भाँडा माझिदिनुपर्थ्यो ? घरी ६ बुँदे स्पष्टीकरण माग्ने, घरी १५ बुँदे स्पष्टीकरण माग्ने, घरी ९ बुँदे स्पष्टीकरण माग्ने कहाँको राज्य हो ? कुन प्रणाली हो ? सरकारमा छु भन्दैमा जे पायो त्यै गर्न पाइन्छ ?'

घिसिङलाई हटाउन हुन्न भन्ने पक्षमा ऊर्जा मन्त्रालयमा आफ्नो स्पष्ट अडान रहेको तामाङको भनाइ छ । घिसिङलाई हटाउने विषयमा प्रधानमन्त्री केपी शर्मा ‌ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँग आफ्नो कुरा नभएको पनि राज्यमन्त्री तामाङले बताए । 

घिसिङको कार्यकाल २०८२ साउन २५ मा सकिँदैछ । ऊर्जामन्त्री खड्का भने घिसिङलाई तत्काल पदबाट हटाउन लागिपरहेका छन् । यसअघि बसेको मन्त्रिपरिषद् बैठकमा पनि ऊर्जामन्त्री खड्काले घिसिङलाई हटाउनुपर्ने प्रस्ताव राखेका थिए । तर, उक्त प्रस्तावमा कुनै निर्णय भएको थिएन ।

६ महिना मात्र कार्यकाल बाँकी रहेका घिसिङलाई हटाउने मामिलामा मन्त्री खड्काले 'अति नै गरेपछि' आफू बोल्नुपरेको राज्यमन्त्री तामाङको भनाइ छ ।

कान्तिपुर

Link copied successfully