महाकाली सिँचाइ प्रभावितलाई तत्काल मुआब्जा उपलब्ध गराइयोस् : सांसद साउद

फाल्गुन १२, २०८१

कान्तिपुर संवाददाता

Immediate compensation should be provided to those affected by Mahakali irrigation: MP Saud

काठमाडौँ — नेपाली कांग्रेसका सांसद एनपी साउदले कञ्चनपुरको महाकाली सिँचाइ तेस्रो परियोजना विस्तारका क्रममा प्रभावित हुन पुगेका मुक्त कमैया परिवारलाई तत्काल मुआब्जा उपलब्ध गराउन सरकारसँग माग गरेका छन् ।

प्रतिनिधि सभाको सोमबारको बैठकको शून्य समयमा बोल्दै सांसद साउदले सिँचाइ परियोजनाबाट प्रभावित शुक्लाफाँटा नगरपालिका– ८ र ९ मा बसोबास गर्दै आएका मुक्त कमैयालाई तत्काल मुआब्जा उपलब्ध गराउन सरकारसँग माग गरेका हुन् । 

‘महाकाली सिँचाइ तेस्रो परियोजना विस्तारका क्रममा केही किसानको जग्गा अधिग्रहणमा परेको छ । अधीग्रहणमा परेको जग्गामध्ये शुक्लाफाँटा नगरपालिका–८ र ९ का मुक्त कमैयालाई उपलब्ध गराइएको जमिन पनि परेको छ,’ उनले भने, 'जमिन अधीग्रहणमा परेका केहीले मुआब्जा पाइरहेको पनि भूमि सुधार मन्त्रालयले सिँचाइ मन्त्रालयलाई पत्र नदिएका कारण मुआब्जा रोकिँदा मुक्तकमैयाहरु फेरि बेघर भएका छन् ।’ 

किसानले मुआब्जा रकम कम भएका कारण मुआब्जा बढाइदिन जिल्ला प्रशासन कार्यालयमा निवदेन दिएर गृह मन्त्रालयबाट पुनर्मूल्यांकन गर्नुपर्ने माग राखे पनि सुनुवाइ नभएको साउदले बताए ।  

‘जमिन अधिग्रहणमा परेका केहीले मुआब्जा पाइरहेको पनि भूमि सुधार मन्त्रालयले सिँचाइ मन्त्रालयलाई पत्र नदिएका कारण मुआब्जा रोकिँदा मुक्तकमैयाहरु फेरि बेघर भएका छन्,’ उनले भने । 

पूर्वपरराष्ट्रमन्त्री साउदले महाकाली सिँचाइ तेस्रो परियोजनाबाट कृष्णपुर नगरपालिका–१ र ४ का किसानसमेत मर्कामा परेका भन्दै उनीहरूलाई दिइने भनिएको मुआब्जाको पुनर्विचार गरी रकम वृद्धि गर्नुपर्ने पनि बताए । 

‘महाकाली सिँचाइ तेस्रो परियोजनाबाट कृष्णपुर नगरपालिका १ र ४ का किसानहरु पनि मार्का परेका छन् । त्यहाँका किसानलाई दिइने मुआब्जाको पुनर्विचार गरी वृद्धि गरिदिन र शुक्लाफाँटाका मुक्त कमैयालाई तत्काल मुआब्जा उपलब्ध गराइदिन सम्मानित सदनमार्फत् सरकारसँग अनुरोध गर्छु,’ साउदले भने ।

कान्तिपुर

Link copied successfully