बागलुङ — कालीगण्डकी नदीमा करेन्ट लगाएर माछा मार्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । बागलुङ नगरपालिका-४ को ढोडेनीस्थित नदी किनारमा करेन्ट लगाएर माछा मारिहरेको भेटेपछि प्रहरीले सोमबार उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा पर्वतको जलजला गाउँपालिका-८ का ३४ वर्षीय गोकुल गौतम, ३० वर्षीय किस्मत पुन, ३७ वर्षका दिलबहादुर मगर र जलजला-७ का २९ वर्षीय आर्यन शर्मा रहेको प्रहरी नायव उपरीक्षक विजय यादवले जानकारी दिए ।
प्रहरीले उनीहरुबाट माछा मार्न प्रयोग गरेको १२ भोल्टको ब्याट्री, दुई थान आलमुनियम तार, एक थान जाली, दुई थान कुडुलो र झोला बरामद गरेको छ ।
चारैजनालाई प्रहरीले जलचर ऐन २०१७ अर्न्तगत कसुर गरेको आरोपमा कारबाहीका लागि जिल्ला प्रशासन कार्यालय पठाएको छ ।
