परराष्ट्रमन्त्री राणा र अजरबैजानका विदेशराज्यमन्त्री भेटवार्ता

फाल्गुन १२, २०८१

कान्तिपुर संवाददाता

Foreign Minister Rana and Minister of State for Foreign Affairs of Azerbaijan meeting

काठमाडौँ — परराष्ट्रमन्त्री आरजु राणा देउवा र अजरबैजानका विदेश राज्यमन्त्री एलनुर ममादोभबीच जेनेभामा आज द्विपक्षीय भेटवार्ता भएको छ । 

संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषदको ५८औँ उच्चस्तरीय सत्रमा सहभागिताका लागि जेनेभामा रहेका दुई नेताबीच साइडलाइन भेटवार्ता भएको परराष्ट्रमन्त्री राणाको सचिवालयले जनाएको छ ।

भेटका अवसरमा उनीहरूबीच द्विपक्षीय हित, आपसी चासोका विषयमा कुराकानी भएको थियो । भेटमा परराष्ट्रमन्त्री राणाले जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसङ्घीय २९औँ सम्मेलन सफलतापूर्वक सम्पन्न गरेकोमा अजरबैजानलाई बधाई दिएकी थिइन् । नेपाल र अजरबैजानले 'नाम' र 'जी-७७' संगठनका सदस्यका रूपमा विकासशील देशका समस्या साझा रूपमा अन्तरराष्ट्रिय मञ्चमा उठाउँदै आएको उनको भनाइ छ । 

जलवायु परिवर्तनका क्षेत्रमा अजरबैजानको प्रतिबद्धताको सराहना गर्दै आगामी दिनमा पनि दुवै देशले विकासशील देशहरूमा जलवायु परिवर्तनले पारेको प्रभावबारे अन्तरराष्ट्रिय मञ्चमा साझा आवाज उठाउने  परराष्ट्रमन्त्री राणाले बताइन् । अजरबैजानलाई मे महिनामा आयोजना हुने सगरमाथा संवादमा सरिक हुनसमेत उनले निम्तो दिइन् । 

कान्तिपुर संवाददाता

Link copied successfully