अध्यक्षले नेतालाई दायाँबायाँ लगाएर हिँड्नु अनौठो नभए पनि दुई प्रतिस्पर्धीलाई सँगै राखेर काँधमा धाप दिनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
काठमाडौँ — ‘जनतासँग माओवादी तराई मधेश जागरण अभियान’ सुरु गर्न झापा पुगेका माओवादी अध्यक्ष पुष्पकमल दाहालले उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्माको काँधमा हात राखेर पार्टी नेतृत्वका लागि एउटा राजनीतिक सन्देश दिएका छन् ।
अध्यक्षले नेतालाई दायाँबायाँ लगाएर हिँड्नु अनौठो नभए पनि दुई प्रतिस्पर्धीलाई सँगै राखेर काँधमा धाप दिनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ । यो तस्बिर सार्वजनिक भएलगत्तै पार्टीका नेता/कार्यकर्ताले प्रचारप्रसार गर्न थालेका छन् ।
अध्यक्ष दाहालले पनि पार्टीभित्र कुनै मनमुटाव छैन है भन्ने सन्देश दिने प्रयास गरेका छन् । हुलाकी राजमार्ग केन्द्रित तीन साता लामो अभियानको बिहानी हिँडाइमा दाहालले पुन र शर्मालाई दायाँबायाँ राखेर काँधमा धाप मारेर एकताको सन्देश दिन खोजेका छन् ।
तस्बिरमा उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटा, अर्का उपमहासचिव शक्ति बस्नेत छन् । दाहालले काँध थापेका पुन र शर्मा मुस्कुराएका छन् । पार्टी पदाधिकारीको साथ सोमबार सुरु भएको राजनीतिक अभियान चैत सातमा कञ्चनपुर पुगेर टुंगिने छ । ‘अध्यक्षलाई काँध थाप्न दुई नेता तम्तयार भएको सन्देश हो यो,’ दाहालनिकट एक नेताले भने, ‘यी दुई नेताको साथमा ०८४ को निर्वाचनसम्म पार्टी हाँक्ने अध्यक्षको स्पष्ट सन्देश हो ।’
दाहालले बिहानी हिँडाइलाई जनसम्बन्ध विस्तारको औजारका रूपमा लिएका छन् । तर झापामा उनले पार्टीलाई झन् एकताबद्ध बनाएर लाने सन्देश दिएको माओवादीभित्र चर्चाको विषय बनेको छ । माओवादीमा दाहालको उत्तराधिकारी को हुने भन्ने प्रतिस्पर्धा भइरहेका बेला दाहाल आफैंले पुन र शर्मालाई दायाँबायाँ राखेर सांकेतिक सन्देश दिएका छन् ।
पछिल्लो केन्द्रीय समिति बैठकमा अध्यक्ष दाहालको चर्को आलोचना गर्दै आएका उपमहासचिव शर्मालाई संगठन विभाग प्रमुखको जिम्मेवारी दिने निर्णय गर्यो । सँगै अर्का उपमहासचिव पुनलाई अर्थ मामिलाको प्रमुखको जिम्मेवारी दिइएको छ । यसका साथै उनलाई अनौपचारिक रूपमा ‘हेडक्वार्टर’ को प्रमुख सल्लाहकारको जिम्मेवारीसमेत छ ।
दाहाल र शर्माबीच पुस अन्तिम साता भएको केन्द्रीय समिति बैठकअघि भएको स्थायी समितिमा बैठकमा पार्टीलाई एकताबद्ध बनाउनेबारे ‘भद्र’ सहमति भएको थियो । त्यो भद्र सहमति गराउने मुख्य भूमिकामा पुन थिए । नेपालकै सबभन्दा होचो भूमि कचनकवलबाट दाहालले आफ्नो आलोचक र मुख्य सल्लाहकारको काँधमा धाप मारेर ‘उँचो’ सन्देश दिएको माओवादी नेताहरूको बुझाइ छ ।
केन्द्रीय सदस्य रमेश मल्लले मुलुकलाई अघि बढाउन र पार्टीलाई एकताबद्ध गराउन युवाको उर्जा आवश्यक भएको सन्देश दिएको बताए । ‘मुलुक र पार्टी निर्माणका लागि युवा शक्तिको साथ र शक्ति आवश्यक भएको सन्देश हुन सक्छ,’ उनले भने, ‘अध्यक्षले पार्टी एकताबद्ध बनाएर सशक्त पार्टी बनाउने अभियान हो ।’
सशस्त्र संघर्षका बेलाका आफ्ना डेपुटी कमान्डर पुन र शर्माको विशेषता भने फरक छ । पुन पार्टी रणनीति बनाउन सिपालु छन् भने पार्टीको योजनालाई युद्ध स्तरमा कार्यान्वयन गर्ने लडाकु स्वभाव शर्माको छ । त्यसैले दाहालले यी दुई नेताको क्षमतालाई पार्टी हाँक्न जिम्मा दिने निष्कर्षमा पुगेको देखिन्छ । दाहालले चाहँदासम्म उनको नेतृत्वलाई सघाउने पुन र शर्माले नीति देखिन्छ । त्यसकै आधारमा दाहालले पुन र शर्माको साझा सहयोग चाहेको हुन सक्छ ।
२०७८ पुसमा भएको आठौं महाधिवेशनमा शर्मा र पुन महासचिवका आकांक्षी थिए । दुई नेता खुमलटार गएर दुईमध्ये एकलाई महासचिव बनाए आपत्ति नहुने आवश्वासन दाहाललाई दिएका थिए । दाहालले दुई नेताको साथबाट आफू पार्टी निर्माणमा लाग्ने भन्दै सकारात्मक भएको बताएका थिए । त्यसपछि पुन उपचारका क्रममा चीन गए । स्वास्थ्य लाभ गरेर फर्किए । तर दाहालले दुवैलाई महासचिव बनाएनन् ।
पार्टीभित्र महासचिवका प्रतिस्पर्धी पुन र शर्मा मिलेर आएपछि दाहाललाई केही आशंका भएको नेताहरूले बताउँदै आएका छन् । दुई नेता मिले आफ्नो नेतृत्वमाथि जोखिम हुने देखेर ‘साइज’ मा राख्न उनले उपमहासचिवमा सीमित गरे । शर्मा र पुन दुवैले महासचिवमा दाबी गरेपछि दाहालले देव गुरुङलाई महासचिव चयन गरेका थिए । त्यसपछि असन्तुष्ट बनेका शर्माले पार्टीको आन्तरिक लोकतन्त्र र नेतृत्व हस्तान्तरणको प्रश्न उठाउँदै आएका थिए ।
२०८१ साउनमा शर्माले पार्टीमा आन्तरिक लोकतन्त्रीकरण, पार्टी निर्माण र नेतृत्व हस्तान्तरण, विशेष महाधिवेशन गर्नुपर्ने, कार्यशैली सुधार गर्नुपर्ने, दाहाल प्रधानमन्त्री भएका बेला आफूविरुद्ध राज्य प्रयोग भएको, आफ्ना मान्छेलाई जिम्मेवारी दिएको भन्दै चर्को आलोचना गरेको थिए । उनले लिखित मत स्थायी समितिमा राखेपछि दाहाल र शर्माबीच दूरी बढेको थियो । त्यतिबेला बसेको स्थायी समितिले उनीलगायत अन्य नेताले राखेको मतलाई सातै प्रदेशमा छलफलमा लिएर गएको थियो । सातै प्रदेशमा भएका बैठकमा दाहालले शर्मालाई आफ्नो मत राख्ने मञ्च नै दिएका थिए । त्यसपछि विस्तारै दाहाल र शर्माबीच निकटता बढ्दै गएर पछिल्लो केन्द्रीय समिति बैठकले संगठन बिभाग प्रमुखको महत्त्वपूर्ण जिम्मेवारी दिएको थियो ।
पछिल्लो गत केन्द्रीय समितिमा अध्यक्ष दाहालको राजनीतिक प्रतिवेदनले शर्माले उठाएका धेरै विषय समेटेको भन्दै अन्तरसंघर्ष स्थगित गरिएको थियो । पार्टीको संगटन निर्माणको जिम्मा दिएर दाहालले एकताको सन्देश दिन खोजेका थिए ।
गत साता अखिल क्रान्तिकारीको निर्वाचनमा शर्माले संस्थापनविरुद्ध छुट्टै प्यानल उठाएका थिए । नेतृत्व चयनका लागि भएको प्रत्यक्ष निर्वाचनमा अध्यक्षबाहेक पदाधिकारीमा बहुमत पदमा उनी पक्षका उम्मेदवारले जितेका थिए । ‘पार्टीभित्र शक्ति सन्तुलन मिलाउन जनार्दनलाई संगठन विभागको जिम्मा दिने तयारी देखिन्छ,’ अर्का एक पदाधिकारीले भने ।
शर्मा २०७९ मंसिरअघि पनि संगठन विभाग प्रमुख थिए । २०८० फागुनमा भएको विधान सम्मेलनमा फरक धारणा राखेपछि उनी खास जिम्मेवारीमा थिएनन् । दाहाल र शर्माबीच लामो संघर्ष र छलफलपछि उनलाई पुनः संगठन विभागको जिम्मेवारी दिन लागिएको हो । शर्मा केही समय बागमती प्रदेशको इञ्चार्ज भएका थिए । दाहाल र शर्माबीच अन्तरसंघर्ष चर्किएपछि उनलाई उक्त जिम्मेवारीबाट पनि मुक्त गरिएको थियो ।
