ओलीविरुद्ध दाहालका चार कटाक्ष

'मर्निङ वाक' गर्दै जनताको नजर आफूतिर तान्ने दाहालको रणनीति

फाल्गुन १२, २०८१

पर्वत पोर्तेल

Dahal's four sarcasms against Oli

What you should know

झापा — माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गर्दै ओली सरकारलाई भ्रष्टाचार र प्रतिगमनको संरक्षकको रूपमा चित्रित गरेका छन् ।

उनले विभिन्न मितिमा ओली नेतृत्वको सरकारको कडा आलोचना गरेका छन् ।

१५ पुसमा गौरीगन्जको सभामा त दाहालले ओलीलाई  ‘जाली, झेली, कपटी र बेइमान’ भन्न पनि पछि परेनन् ।

दाहालले १५ पुसमा झापाको गौरीगन्जमा, १४ माघमा तेह्रथुमको आठराईमा, ४ फागुनमा दमक र १२ फागुनमा कचनकवलमा ओलीको तीव्र आलोचना गरे । उनको भाषणको सार कुरा थियो, ‘ओली सरकारले भ्रष्टाचारीलाई संरक्षण गरिरहेको छ । ओलीले अझै पनि प्रतिगमनको चाहना राखिरहेका छन् ।’ 

ओलीको निर्वाचन क्षेत्रमा पर्ने दमकमा बोल्दै दाहालले संविधानमा स्थापित संघीयता, गणतन्त्र, महिला, आदिवासी, दलित, मधेशी र मुस्लिमका अधिकारको खिलाफ ओलीको दृष्टिकोण अग्रसर बन्दै गएको आरोप लगाएका थिए । 

त्यसअघि १४ माघमा, दाहालले ओलीको जन्मस्थल तेह्रथुमको आठराईमा व्यंग्यात्मक शैलीमा भने, ‘सरकारको आयु धेरै लामो देखिँदैन । हामी हिँड्दा हिँड्दै सरकार ढल्न पनि सक्छ ।’ 

तराई मधेश जागरण अभियानका क्रममा झापा पुगेका दाहालले पुराना कम्युनिस्ट नेताहरुलाई सम्मान गर्दै झापामा प्रतिक्रान्तिको खतरा बढ्दै गएको आरोप लगाए । ‘झापा विगतमा क्रान्तिको प्रतीकका रूपमा चिनिएको थियो,’ दाहालले थपे, ‘अहिले भने झापाबाटै प्रतिक्रान्तिको खतरा बढेको छ ।’ ओलीप्रति लक्षित गर्दै उनले प्रतिक्रान्तिको खतराबाट देशलाई जोगाउन सबैलाई अपिल गरे । 

माओवादीले यतिबेला कोशी प्रदेशमा सक्रियता बढाएको छ । हालै सम्पन्न उपनिर्वाचनको परिणामले माओवादीलाई उत्साहित बनाएको छ । पार्टीले आगामी २०८४ को चुनावमा २०६४ सालको नतिजा दोहोर्‍याउने नेताहरुले दाबी गर्दै आएका छन् ।

दाहालले पछिल्लो समय कोशी प्रदेशका विभिन्न जिल्लामा भ्रमण गर्दै स्थानीय जनतासँग संवाद गर्दै आएका छन् ।

माओवादीको जनाधार पुनः मजबुत बनाउनका लागि 'जनतासंग माओवादी’ तराई मधेश जागरण अभियान सुरु गरिएको हो ।

मर्निङ वाक गर्दै जनताका भान्सासम्म
हिजोआज दाहाल जहाँ पुग्छन्, नेता कार्यकर्तालाई अगुवा पछुवा बनाएर मर्निङ वाक गरिरहेका हुन्छन् । सोमवार बिहान झापाको भद्रपुरमा उनले त्यो उपक्रमलाई दोहोर्‍याए ।Dahal's four sarcasms against Oliशरीर स्वस्थ राख्ने र जनताको नजर पनि आफूतिर तान्ने दाहालको रणनीति देखिन्छ ।

खासगरी उनी कोशी प्रदेशमा बढी केन्द्रित देखिएका छन् । प्रधानमन्त्री ओलीको गृहजिल्लासँगै केही वर्षयता जारी पहिचानको आन्दोलनका कारण दाहालको बढी ‘इन्ट्रेस्ट’ कोशीमा देखिन्छ ।  

माओवादीका लागि कोशी प्रदेश परम्परागत रूपमा कमजोर क्षेत्र मानिन्छ । ९३ सदस्यीय प्रदेशसभामा माओवादीका १३ जना मात्रै सदस्य छन्, जसमध्ये प्रत्यक्षतर्फ नौ जना मात्र निर्वाचित भएका थिए । प्रतिनिधिसभामा २८ निर्वाचन क्षेत्रमध्ये माओवादीले चार स्थानमा मात्रै जित निकाल्न सफल भएको थियो । त्यस्तै, १३७ स्थानीय तहमध्ये माओवादीले १३ वटामा मात्रै प्रमुख पद जितेको छ । 

तर, हालै सम्पन्न उपनिर्वाचनको परिणामले दाहाल अलि बढी नै हौसिएको पाइएको छ । कतिपय कार्यक्रममा त उनले २०६४ को मत परिणाम दोहोर्‍याउने जिकिर पनि गर्न थालेका छन् । 

‘पार्टीको मुख्य लक्ष्य ८४ को चुनावमा २०६४ को नजिता दोहोर्‍याउने हो,’ कोशीका इन्चार्ज हरिबोल गजुरेलले भने, ‘त्यही कारण माओवादीले सक्रियता बढाउदै लगेको हो ।’

पर्वत पोर्तेल कान्तिपुरका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।

Link copied successfully