सर्लाही — उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले समाज विकासका लागि पुरुष मात्र अघि बढेर नहुने भन्दै महिलालाई पनि पुरुष समान अधिकार र अवसर दिनुपर्ने बताएका छन् ।
नेपाल मुस्लिम संघ मधेश प्रदेशको कार्यक्रममा सोमबार उपप्रधानमन्त्री सिंहले महिला अधिकारलाई सबै क्षेत्रमा सुरक्षित गर्नुपर्नेमा जोड दिए । उनले मुस्लिम समुदायका महिलाले चाहेको शिक्षा लिने अवस्था बनाउनुपर्ने बताए ।
समाजमा भएका विकृति हटाउन र जनताको मन जित्दै कांग्रेस पार्टीलाई अगाडि बढाउनमा मुस्लिम संघको भूमिका महत्वपूर्ण हुने उनको भनाइ थियो । ‘मुस्लिम समुदायमा अहिले पुरुषले शिक्षामा राम्रो गर्नुभएको छ । महिलाले पनि चाहेअनुसार शिक्षा प्राप्त गर्ने वातावरण बनाउनका लागि मुस्लिम संघले राम्रो गर्छ भन्ने मलाई लागेको छ । पुरुष मात्र अघि बढेर हुँदैन, समाजको विकासका लागि महिला र पुरुष सँगसँगै अघि बढ्नुपर्छ,’ उनले भने ।
सिंहले मुस्लिम संघका सबै समितिमा महिला सहभागिता सुनिश्चित गर्न सुझाव दिए ।
त्यस्तै, सिंहले जीवन र जीविकोपार्जन सहज होस् भन्ने जनचाहना कांग्रेसले पूरा गर्ने बताए । अधिकार प्राप्तिको आन्दोलनजस्तै नागरिकको जीवन र जीविकोपार्जन सहज बनाउने काम पनि कांग्रेस नेतृत्वमै हुने उनको भनाइ थियो ।
'२०७२ को संविधानले दिएको अधिकार सबैलाई बराबरी उपभोग गर्न पाउने बनाउन आवश्यक कानुन चाँडै बनाएर हरेक नेपालीको जीवन र जीविकोपार्जन सहज बनाउनुपर्छ,’ उपप्रधानमन्त्री सिंहले भने, ‘राजनीतिक स्थायीत्वबिना राजनीतिक, आर्थिक र सामाजिक मुद्दा सम्बोधन हुन सक्दैनन् ।’
सिंहले आवश्यक संघीय कानुन बनाएर प्रदेश र स्थानीय सरकारलाई पूर्ण रुपमा काम गर्न सक्ने वातावरण बनाउने बताए ।
