आज देश दुनियाँमा के-के भयो ?

फाल्गुन ११, २०८१

कान्तिपुर संवाददाता

What happened in the world today?

काठमाडौँ — पाथीभरामा केबलकार निर्माण तत्काल रोक्न सांसदको माग, पार्टी खोलेर, चुनाव जितेर प्रधानमन्त्री बन्न पूर्वराजा शाहलाई गौतमको सुझावदेखि मस्कले सरकारी कर्मचारीलाई 'कि उपलब्धि इमेल गर, नत्र राजीनामा देऊ' भनेको खबर आज चर्चामा रहे । 

०००

सांसदहरुले पाथीभरा क्षेत्रमा जनताको इच्छाविपरीत केबलकार निर्माण सुरु गरिएको उल्लेख गर्दै उक्त कार्य तत्काल रोक्न माग गरेका छन् । प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा आइतबार उनीहरुले जनताले केबलकार निर्माणको प्रतिकार गर्न खोज्दा झडपको वातावरण बनेकाले समाधानका लागि आजै निर्माण रोक्नका लागि सरकारको ध्यानाकर्षण गराएका हुन् ।

०००

परराष्ट्रमन्त्री आरजु राणा देउवाले नेपाललाई ऋण लिन चीनले दबाब नदिएको बताएकी छिन् । संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को ५८औँ उच्चस्तरीय सत्रमा भाग लिन स्विट्जरल्यान्डको जेनेभा जाने क्रममा ओमानको मस्कटमा भारतीय अखबार 'द हिन्दू'लाई अन्तर्वार्ता दिँदै परराष्ट्रमन्त्री राणाले निजी क्षेत्रले ऋण लिन सक्ने भए पनि नेपाल ऋण लिने पक्षमा नरहेको बताएकी हुन् ।  

०००

राष्ट्रिय सभा सदस्य वामदेव गौतमले पुनः राजा बन्ने चाहना परित्याग गरेर प्रजातान्त्रिक राजनीतिक गरी प्रधानमन्त्री बन्न पूर्वराजा ज्ञानेन्द्र शाहलाई सुझाव दिएका छन् । आइतबार राष्ट्रिय सभाको बैठकमा गौतमले आफ्नो नेतृत्वमा एउटा प्रजातान्त्रिक राजनीतिक पार्टी खोलेर निर्वाचन आयोगमा दर्ता गरेर २०८४ मा हुने निर्वाचनमा भाग लिन शाहलाई सुझाव दिएका हुन् ।

०००

अमेरिकी अर्बपति इलन मस्क नेतृत्वको सरकारी दक्षता विभाग 'डज'ले अमेरिकाका सरकारी कर्मचारीलाई एक साताभित्र आफुले गरेका उपलब्धि सूचीवद्ध गर्न वा राजीनामा दिन आग्रह गरेका छन् । सरकारी कर्मचारीहरूलाई शनिबार पठाइएको एक इमेलमा उनीहरूलाई गत साताका उपलब्धिबारे विस्तृत जानकारी गराउन वा राजीनामा दिन आग्रह गरिएको हो । यो डोनाल्ड ट्रम्प प्रशासनले संघीय कर्मचारीलाई लक्ष्य गरी चालेको पछिल्लो कदम हो । 

०००

लेबनानले फोर नेसन्स कपको आफ्नो अन्तिम खेलमा आइतबार किर्गिस्तानलाई २-० ले पराजित गरेको छ । दुवै टिम यसअघि नै प्रतियोगिताको फाइनल पुग्ने समीकरणबाट बाहिरिसकेको स्थितिमा लेबनानका लागि यो सान्त्वना जित रह्यो । दुवै टिम आ-आफ्नो सुरुआती दुई खेलमा पराजित रहेको थियो । जितसँगै प्रतियोगिता टुंग्याएको लेबनान चार टिम सम्मिलित प्रतियोगिताको तेस्रो स्थानमा रह्यो । उसको तीन अंक भएको छ ।  

कान्तिपुर संवाददाता

Link copied successfully