काठमाडौँ — लेबनानले फोर नेसन्स कपको आफ्नो अन्तिम खेलमा आइतबार किर्गिस्तानलाई २-० ले पराजित गरेको छ । दुवै टिम यसअघि नै प्रतियोगिताको फाइनल पुग्ने समीकरणबाट बाहिरिसकेको स्थितिमा लेबनानका लागि यो सान्त्वना जित रह्यो । दुवै टिम आ-आफ्नो सुरुआती दुई खेलमा पराजित रहेको थियो ।
जितसँगै प्रतियोगिता टुंग्याएको लेबनान चार टिम सम्मिलित प्रतियोगिताको तेस्रो स्थानमा रह्यो । उसको तीन अंक भएको छ । किर्गिस्तान भने आफ्ना सबै तीनै खेलमा पराजित रह्यो र उसले कुनै पनि अंक बटुल्न सकेन । दशरथ रंगशालामा भएको खेलको दुवै गोल पहिलो हाफमा भएको थियो ।
लेबनानका लागि क्रिस्टी मालोफले २२ औं मिनेटमा पहिलो गोल गरिन् । उनले पेनाल्टी एरिया बाहिरबाट गरेको प्रहार आकर्षक गोलमा परिणत भएको थियो । म्या रोज कलिलले २२ औं मिनेटमा दोस्रो गोल थपिन् । दुवै टिमले दोस्रो हाफमा आक्रमण बुने पनि कुनै पनि निर्णायक हुन सकेन ।
आइतबारको दोस्रो खेलमा अब नेपालले म्यानमारको सामना गर्नेछ । दुवै टिमको समान ६ अंक छ । दुवै टिम आ-आफ्नो सुरुआती दुई खेलमा विजयी भएका थिए ।
