आङ्बोद्वारा आन्दोलनको चेतावनी

फाल्गुन ११, २०८१

कान्तिपुर संवाददाता

Warning of agitation by Angbo

विराटनगर — माओवादी कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा केबलकार निर्माणको विवादमा सरकारले वार्ताको बाटो नअपनाए आफ्नो पार्टी पनि आन्दोलनमा उत्रने चेतावनी दिएका छन् ।

प्रदेशसभाको आइतबारको बैठकमा विशेष समय लिएर बोल्दै आङ्बोले सरकारको दमनकारी रवैयाप्रति कडा आपत्ति जनाए । उनले केबलकार निर्माण कार्य तत्काल रोक्न र उच्चस्तरीय वार्ता टोली गठन गरी समस्या समाधान गर्न माग गरे । 'निषेधाज्ञा र कर्फ्यु लगाएर स्थानीय समुदायमाथि गरिएको दमन सह्य हुँदैन,' आङ्बोले भने । 

उनले अहिलेसम्म आफ्नो दलले आन्दोलनलाई नैतिक समर्थन मात्र गरिरहेको तर सरकार यसरी नै अघि बढे आन्दोलनमा प्रत्यक्ष सहभागी हुने स्पष्ट पारे ।

आङ्बोले प्रधानमन्त्रीको कार्यशैलीको पनि आलोचना गरे । ताप्लेजुङमा भिडन्त भइरहेको र जनता त्रासमा रहेको बेला प्रधानमन्त्री जन्मदिन मनाइरहेको भन्दै उनले 'रोम जलिरहेको बेला निरो बाँसुरी बजाएर बसिरहेको जस्तो' भनी टिप्पणी गरे ।

हिन्दु र किरात धर्मावलम्बीहरुको पवित्र तीर्थस्थलको विषयमा उठेका विवादबारे सरोकारवालाहरुसँग छलफल नगरी एकोहोरो रुपमा अघि बढ्न खोजेको भन्दै आङ्बोले सरकारको कार्यशैलीप्रति गम्भीर असन्तुष्टि व्यक्त ग रे। उनले घाइतेहरुको उचित उपचारको व्यवस्था गर्नसमेत सरकारसँग माग गरेका छन् ।

कान्तिपुर

Link copied successfully