काठमाडौँ — एमाले सांसद योगश भट्टराईले संवैधानिक व्यवस्थाअनुसार नै ताप्लेजुङ मा कबलकार निर्माणको काम अगाडि बढेको दाबी गरेका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद भट्टराईले सरकारले संवैधानिक व्यवस्थाअनुसार नै केबलकार निर्माणको जिम्मेवारी निजी संस्थालाई दिएको दाबी गरेका हुन् ।
‘संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले संवैधानिक व्यवस्थाअनुसार नै ताप्लेजुङमा केबलकार निर्माण गर्न एउटा निजी संस्थालाई जिम्मेवारी दिएको छ । विरोध गर्ने अधिकार सबैलाई हुन्छ । तर विरोधका सीमा हुन्छन् सभामुख महोदय । त्यसलाई सभ्य, संयमित र शान्तिपूर्ण ढंगले अगाडि बढाउनुपर्छ भन्ने हामी सबैको मान्यता हो । तर दुर्भाग्यवस हिजो बेलुका केबुलकार विरोधी समूहबाट भएको मसाल जुलुसको क्रममा ताप्लेजुङ बजार एकदमै अशान्त भयो,' उनले भने ।
सुरक्षाकर्मीहरुको संयमताले थप गतिविधि हुनबाट जोगिएको पनि भट्टराईले बताए । उनले अगाडि भने, 'विकासको विरोधी कोही पनि छैन । धर्म र संस्कृतिको विरोधी कोही पनि छैन । धर्म र संस्कृतिलाई जब हामी व्यक्तिले निजी स्वार्थमा हामी प्रयोग गर्न थाल्छौं । धर्म र संस्कृतिलाई जब राजनीतिका प्रवेश गराउन थाल्छौं । त्यसले भयंकर विवादको स्वरूप लिन्छ ।'
