काठमाडौँ — माओवादी उपाध्यक्ष अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओली संसद् विघटन गर्न लागिपरेको आरोप लगाएका छन् । काठमाडौंमा प्रेस सेन्टरको अधिवेशनमा उपाध्यक्ष सापकोटाले संसद् विघटन गरेर मध्यावधि निर्वाचनमा जाने र बहुमत ल्याउने केपी ओलीको चाहना पूरा नहुने बताएका हुन् ।
‘अझै पनि ठूला-ठूला घटना घटाउन सक्छन् यिनीहरूले । फेरि म जोड दिएर भन्छु कि पहिला म सभामुख भएको बेलामा दुई पटकसम्म सदन विघटन भएको थियो । आज पनि त्यतैतिर उद्यत छ यो सरकार र यो सरकारका प्रधानमन्त्री । झम्टी झम्टी दुई चोटी विघटन गरेको यो अध्यादेशका कुरा यो सबै फेरि पनि उहाँलाई के लागेको छ भने सदन विघटन गरेर चुनावमा गएँ भने मैले बहुमत ल्याउँछु भन्ने लाग्छ,’ उनले भने ।
उपाध्यक्ष सापकोटाले जनताको आवाज मुखरित गर्ने संसद्लाई २३ दिनदेखि सरकारले कामविहीन बनाएको समेत बताए । त्यस्तै उनले विद्युत् प्राधिकरणका कार्यकारी अधिकृत तथा सुशासन पक्षमा काम गर्ने कर्मचारीलाई सरकारले प्रताडना दिई हटाउन खोजेको तर जनताको साथ भएकाले सरकार पछि हटेको दाबी गरे ।
