सिरहा बलात्कार घटना : किटानी जाहेरी परेका आरोपित फरार, शंकास्पद ४ जना नियन्त्रणमा

फाल्गुन ११, २०८१

विनय आजाद

Siraha rape incident: Kitani accused absconding, 4 suspects in custody

सिरहा — सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया किशोरी रिंकुकुमारी सदाको बलात्कार र शंकास्पद मृत्यु प्रकरणमा किटानी जाहेरी परेका सबै आरोपित फरार छन् । प्रहरीले शंकास्पद चार जनालाई नियन्त्रणमा लिएको छ ।

प्रहरीले बलात्कारमा संलग्न तीन र पञ्चायती गरेर घटना गाउँमै मिलाउन खोज्ने पाँच गरी आठ जनाविरुद्ध पीडित परिवारबाट बिहीबार पूरक जाहेरी लिएको थियो ।

मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर, जिल्ला प्रहरी सिरहा र इलाका प्रहरी लहानको तीन वटा टोलीले उनीहरुको खोजी गरिरहेको घटना छानबिन टोलीका संयोजक प्रदेश प्रहरीका एसएसपी शान्तिराज कोइरालाले जानकारी दिए । यसबाहेक अन्य शंकास्पद र आरोपितका निकट व्यक्तिलाई नियन्त्रणमा लिने तथा सोधपुछ गर्ने काम भइरहेको उनको भनाइ छ ।

एसएसपी कोइरालाका अनुसार अहिलेसम्म ४ जना नियन्त्रणमा छन् । जसमा घटना मिलाउन पञ्चायतीको भूमिका खेल्ने र आरोपितसँग निकट व्यक्ति रहेको उनले जानकारी दिए । ‘हामीले शंकास्पदलाई नियन्त्रणमा लिएर सोधपुछ र तथ्य प्रमाण संकलन गरिरहेका छौं,’ कोइरालाले भने । उनका अनुसार प्रदेश, जिल्ला र इलाका प्रहरी मुख्य आरोपितहरुलाई पक्राउ गर्नेतर्फ केन्द्रित छन् । पोस्टमार्टम र फरेन्सिक रिपोर्ट पनि चाँडै आउन लागेकाले सोही प्रमाणका आधारमा अनुसन्धानलाई अगाडि बढाउने उनको भनाइ छ ।

गत माघ २७ को राति शौच गर्न बाहिर निस्केकी रिंकुकुमारी गाउँकै रूपेश मण्डल, चन्दन साह र रामविनय मण्डलको अपहरणपछि सामूहिक बलात्कारमा परेका थिइन् । तर, पीडितलाई प्रहरीमा पठाउनुको साटो वडासदस्य नथुनी साह, रामपुकार मण्डल, रामपृत साह, रामकृपाल मण्डल, विन्देश्वरलगायतले घटना गाउँमै मिलाउन पञ्चायती गरेका थिए ।

माघ २९ र ३० मा गाउँकै दलानमा भएको पञ्चायतीले पीडकबाट १ लाख ४० हजार जरिवाना भराउने र पीडितलाई प्रहरीमा जान नदिने निर्णय गरेको थियो । तर, पञ्चायतीमा आरोपितका आफन्त बीच नै पैसा तिर्ने विषयमा विवाद भएको थियो । त्यसपछि किशोरी ३० गते साँझ आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत भेटिएकी थिइन् ।

पीडित परिवारले चार जनाविरुद्ध जबर्जस्ती करणी तथा कर्तव्य ज्यानमा जाहेरी लिएर गए पनि इलाका प्रहरी लहानका मुद्दा फाँटका प्रहरीले जाहेरी लिन अस्वीकार गर्दै रुपेशविरुद्ध मात्रै आत्महत्या दुरुत्साहनमा जाहेरी लिएको थियो । यो विषय सञ्चारमाध्यममा आएपछि प्रहरीले पीडित परिवारबाट कर्तव्य ज्यान, जबर्जस्ती करणी, शरीर बन्धक र लेनदेन मिलापत्र गरी चार कसुरमा पूरक जाहेरी लिएको छ । जसमा सामूहिक बलात्कार आरोपमा तीन र पञ्चायती गरेर गाउँमै मिलाउन खोजेको आरोपमा ५ जनाको नाम किटान गरिएको छ ।

विनय आजाद कान्तिपुरका सिराहा संवाददाता हुन् ।

Link copied successfully