पाथीभरा केवलकार विवाद : शनिवारको झडपमा २४ घाइते, १५ जना पक्राउ 

फाल्गुन ११, २०८१

आनन्द गौतम

Pathibhara Kevalkar dispute: 24 injured, 15 arrested in Saturday's clash

ताप्लेजुङ — सदरमुकाम फुङलिङमा शनिवार बेलुका ‘नो केबलकार समूह’ र सुरक्षाकर्मीबीच भएको झडपमा दुवैतर्फका गरी दुई दर्जन भन्दा बढी घाइते भएका छन् । घाइतेमध्येका ४ जनालाई थप उपचारका लागि ताप्लेजुङ जिल्ला अस्पतालले रेफर गरेको छ ।

उनीहरूलाई धरानको घोपा लगिएको आन्दोलनरत समूहका अगुवा किर्तिमान मादेनले जानकारी दिए । 

प्रहरी नायव उपरिक्षक (डीएसपी) रवि रावलका अनुसार सुरक्षाकर्मीतर्फ १२ जना घाइते छन् । उनीहरू मध्येका एक जनालाई जिल्ला बाहिर पठाइएको छ भने अरुको जिल्ला अस्पतालमै उपचार भइरहेको छ । आन्दोलनत समूह तर्फपनि त्यतिनै सङ्ख्यामा रहेको प्रारम्भिक जानकारी रहेको रावलले बताए ।

रातको समयमा झडप भएको र कतिपय जिल्ला बाहिर गएरपनि उपचार गराइ रहेकाले यकिन तथ्यांक नभएको मादेनले बताए । प्रहरीले हुलहुज्जत गरेको अभियोगमा १५ जनालाई नियन्त्रणमा लिएको जनाएको छ । पक्राउ पर्नेमा आन्दोलनको अगुवाई गरिरहेका नविन पोमु लगायत रहेका छन् । तर प्रहरीले नाम भने खुलाएको छैन ।

हुल हुज्जत नियन्त्रणका लागि शनिवार बेलुका २ राउण्ड अश्रु ग्यास प्रहार गर्नु परेको प्रहरीले जनाएको छ ।  आन्दोलनरत पक्षले भने आन्दोलनकारी बसेको घर तथा होटल छापा मारेर कुटपिट गर्दै धरपकड तथा तोडफोड, कुटपिट गर्ने जस्ता अमानवीय व्यवहार गरेको आरोप लगाएका छन् । आन्दोलन समूहका अर्का अगुवा प्रदिप मादेनले भने २७ जनालाई पक्राउ गरेको दावी गरेका छन् । 

स्थानीय प्रशासनले शनिवार (आज) बिहान ५ बजेबाट फुङलिङ र पाथीभरा क्षेत्रको काफ्लेपाटी र बलुडाडा क्षेत्रका चारकिल्ला तोकी निषेधाज्ञा ज्ञारी गरेको छ । गएसाँझ नो केवलकार पक्षले फुङलिङमा आयोजना गरेको राँके जुलुस र प्रदर्शनपछि भएको झडपसँगै स्थिति तनावपूर्ण भएको थियो ।

पाथीभरा क्षेत्रको पदयात्रा सकेर फुङलिङ आएका आन्दोलनरत समूहले राँको सहितको जुलुस निकालेर घरघर तर्फ आगोको लप्का फालिदिएपछि स्थिति असामान्य बनेको थियो । आन्दोलनरत पक्षलेभनें झडपपछि पनि घर–घर घेरा हालेर धरपकड तथा कुटपिट गरेको भन्दै आपत्ति जनाएका छन् । 

आनन्द गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully