काठमाडौँ — माओवादी सांसद माधव सापकोटाले सरकारको अकर्मण्यताको कारण नेपाल सम्पत्ति शुद्धीकरण तथा आतंकवादी गतिविधिमा लगानीसम्बन्धी 'ग्रे लिस्ट'मा परेको आरोप लगाएका छन् ।
आइतबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद सापकोटाले सरकारको अकर्मण्यता, वित्तीय क्षेत्रमा सुधार गर्ने अठोटको अभाव र सुशासनप्रतिको उपेक्षाका कारण नेपाल लज्जाजनक अवस्थामा पुगेको बताएका हुन् । उनले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी गतिविधिमा लगानीसम्बन्धी 'ग्रे लिस्ट'मा परेकोप्रति खेद र निन्दा व्यक्त गरे । ‘यो घटनाक्रमले सरकार सुशासनका पक्षमा छैन र सरकार सम्पूर्ण रूपमा असफल भएको संकेतका रूपमा हामीले लिनुपर्दछ । र सरकारले नैतिक रूपमा आफ्नो मार्गप्रशस्त गर्नुपर्छ भनेर म सभामुखमार्फत ध्यानाकर्षण गराउन चाहन्छु,’ उनले भने ।
सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी अनुसन्धान र कानुन कार्यान्वयनमा राजनीतिक नेतृत्वको उपेक्षाका कारण नेपाल ‘ग्रे लिस्ट’ मा परेको हो । सम्पत्ति शुद्धीकरण तथा आतंकवादी गतिविधि मामिलामा निगरानी राख्ने अन्तर्राष्ट्रिय संस्था फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) को शुक्रबार साँझ फ्रान्सको पेरिसमा भएको दोस्रो महासभा बैठकले नेपाललाई ‘ग्रे लिस्ट’ मा राखेको हो ।
