मन्त्री नभएका कांग्रेस सांसदहरूले सरकारलाई खबरदारी गर्नुपर्छ : कोइराला

फाल्गुन ११, २०८१

कान्तिपुर संवाददाता

Congress MPs who are not ministers should warn the government: Koirala

काठमाडौँ — कांग्रेस सांसद डा. शेखर कोइरालाले कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरूले नेकपा एमालेसँग सहकार्य गरे पनि सरकारमा सहभागी नभएका सांसदहरुले खबरदारी गर्नुपर्ने बताएका छन् । केही दिनअघि एक सार्वजनिक कार्यक्रममा बोल्ने क्रममा कोइरालाले कांग्रेस सत्ता पक्ष भए पनि सरकारमा नरहेको अभिव्यक्ति दिएका थिए ।

त्यसै अभिव्यक्तिलाई लिएर कतिपयले कांग्रेस र एमालेबीच सत्ता सहकार्यमा खटपट सुरु भएको अनुमान गरेका थिए । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा सांसद कोइरालाले आफ्नो अभिव्यक्ति त्यस्तो भन्न खोजेको नभई पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूले एमालेसँग सहकार्य गर्ने तर बाहिर रहेका अन्य सांसदहरूले खबरदारी गरिरहनुपर्ने आशय आफ्नो रहेको स्पष्ट पारे ।

'हामी एमाले र कांग्रेसको सरकार छ । करिब-करिब दुई तिहाईको सरकार छ । दुई तिहाईको सरकार चलाउँदा कांग्रेस कतै अफ्ठ्यारोमा त पर्दैन भन्ने एउटा छ । हाम्रो भोलिको प्रतिस्पर्धी पनि को हो भन्दा एमाले नै हुन्छ । जो साथीहरू मन्त्रीमण्डलमा सरकारमा जानुभएको छ, ती साथीहरूले एमालेसँग सहकार्य गर । हामी जो बाहिर छौँ, सत्ता पक्षमा छौँ तर बाहिर छौँ । हामी प्रतिस्पर्धी एमाले नै हुन्छ, भोलिको निर्वाचनमा पनि । हामीले खबरदारी गरिरहनु पर्छ यो सरकारलाई ताकि सरकारले राम्रो काम मात्रै गरोस्, गलत काम नगरोस् भन्ने हो,’ कोइरालाले भनेका छन् । 

कान्तिपुर संवाददाता

Link copied successfully