आफन्तबाट पटक–पटक बलात्कृत हुँदा पनि डर र धम्कीका कारण बालिकाले परिवारलाई घटनाबारे भन्न नसकेको देखियो : प्रहरी
अछाम — कामको सिलसिलामा भारतमा बस्दा आफन्तबाटै १२ वर्षीया छोरी गर्भवती भएपछि अछामको एक विपन्न परिवार बिलखबन्दमा परेको छ ।
चौरपाटी गाउँपालिकाको एक निम्न वर्गीय परिवारका दम्पती लामो समयदेखि भारतको सुरतमा चौकीदारी र घरेलु कामदार थिए । एक्ली छोरीलाई घरमा छाडेर आमा घरेलु काममा जान्थिन् भने बुबा चौकीदारीमा जान्थे । सोही घरको अर्को कोठामा उनकै आफन्तको परिवार बस्थ्यो । छेउको कोठामा बस्ने ४६ वर्षीय ती आफन्तबाटै १२ वर्षीया बालिका पटक–पटक बलात्कृत भएर २८ साताको गर्भ रहेको खुलेको छ ।
पीडित बालिकाका अनुसार गत असारदेखि ती पुरुषले डर देखाएर र धम्की दिएर बलात्कार गर्दै आएका थिए । परिवारलाई बताए मार्ने धम्की दिएका कारण उनी पटक–पटक बलात्कृत भइरहिन् । बालिकाको परिवारले यसबारे पत्तै पाएन ।
कमजोर आर्थिक अवस्थाका बालिकाका बुबाआमा कसैसँग ठूलो स्वरले बोल्न नसक्ने र आफ्नै काममा मात्र चासो दिने स्वभावका भएकाले त्यसैलाई कमजोरी ठानेर बालिकालाई पटकपटक बलात्कार गरेको प्रहरीको अनुमान छ ।
गत कात्तिकमा तिहार मनाउन बालिकासहित उनका बुबाआमा अछाम फर्के । परिवारजनका अनुसार पहिलो पटक गत वैशाखमा महिनावारी भएकी ती बालिका असारसम्म तीन पटक महिनावारी भएकी थिइन् । पहिलो महिनावारी भएको केही समय अनियमित हुनुलाई परिवारले स्वाभाविक रूपमा लियो । बालिकाको पेट ठूलो हुँदै अन्य शारीरिक परिवर्तन पनि देखा पर्न थाल्यो ।
पेट सुन्निएकाले अन्य रोगको शंका गर्दै गत फागुन २ मा बाबुले बयालपाटा अस्पतालमा उपचारका लागि ल्याए । जाँच्दा २५ सातामाथिको गर्भ भएको रिपोर्ट दिइयो । अस्पतालको रिपोर्टपछि मात्र सोधपुछ गर्दा बालिका पटक–पटक बलात्कृत भएको र गर्भ बसेको खुलासा भएको हो । ‘एकाएक नाबालक छोरी गर्भवती भएको रिपोर्ट आएपछि छाँगाबाट खसेजस्तै भयौं, परिवारमा बज्रपात पर्यो,’ बालिकाका बुबा भन्छन्, ‘अस्पतालको रिपोर्ट आएपछि छोरीलाई फकाउँदै सोधपुछ गर्दा धम्की दिएका कारण नबताएको थाहा भयो ।’
पीडित परिवारका अनुसार आरोपित ४६ वर्षीया पुरुषको त्यहीँ (भारतमै) ५ वर्षकी छोरी थिइन् । ती पुरुषकी छोरीसँग पीडित बालिका पनि खेल्न जान्थिन् । एकै घरको फरक–फरक कोठा र आफन्त पनि भएकाले एकअर्काको कोठामा आउने–जाने विषयलाई सामान्य रूपमा लिने गरिएको थियो । ‘पटक–पटक सन्तान जन्मने र मृत्यु हुने गरेको पीडाले हामी आफैं विक्षिप्त छौं, अहिले फेरि मेरै परिवारमा यस्तो घटना भयो, आफन्तले नै मेरो परिवारको खुसी टिक्न दिएनन्,’ उनले भने, ‘२८ साताभन्दा बढीको भएकाले गर्भपतन गर्न मिल्दैन, बच्चा नै जन्माउनुपर्छ भन्छन् । कहाँ जाने, के कसो गर्ने, केही सोच्न सकिरहेका छैनौं ।’
आफन्तबाट पटक–पटक बलात्कृत हुँदा पनि डर र धम्कीका कारण बालिकाले परिवारलाई घटनाबारे भन्न नसकेको अछामका प्रहरी प्रमुख डीएसपी ईश्वरीप्रसाद भण्डारीले बताए । उनका अनुसार फागुन २ मा बालिका बलात्कृत भएर गर्भ बसेको थाहा पाएपछि परिवारले फागुन ४ मा ती ४६ वर्षीय पुरुषको नाममा जाहेरी दिएको छ । आरोपी भारतमा भएकाले तत्काल पक्राउ गरेर अनुसन्धानको दायरामा ल्याउन नसकिएको उनले बताए । ‘आरोपी भारतमा भएकाले पक्राउ गरिहाल्न सजिलो छैन, भारतीय प्रहरीसँग सहकार्य गरिरहेका छौं,’ डीएसपी भण्डारीले भने ।
बयालपाटा अस्पताल र जिल्ला अस्पताल मंगलसेनले २५ साताभन्दा माथिको गर्भपतन गर्न नसक्ने बताएपछि पीडित बालिकालाई धनगढी लगिएको छ । धनगढीमा बालिकाको गर्भ जाँच गर्दा २८ साताभन्दा माथि भएको भनिएकाले जन्माउनै पर्ने बाध्यता रहेको पीडित बालिकाका बुबाको भनाइ छ । उनका अनुसार बालिकालाई जिल्लाको एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी) को संरक्षणमा राखिएको छ । ‘छोरीको पेटमा गर्भ भएको थाहा पाएदेखि चिन्तित उनकी आमा बेहोस हुने गरेकी छन्, मैले पनि अब के गर्ने भनेर केही सोच्न सकेको छैन,’ बालिकाका बुबा भन्छन्, ‘हामी अर्काको काम गरेर खाने मान्छे हौं, कसैलाई चिनेको पनि छैनौं, अब भरोसा सरकारकै छ ।’
