१९ हजार थान भेपसहित २५ करोडभन्दा बढी राजस्व चुहावट कसुरमा ६ जनाविरुद्ध मुद्दा दायर

फाल्गुन १०, २०८१

ऋषिराम पौड्याल

A case was filed against 6 people for the crime of revenue leakage of more than 25 crores including 19 thousand vape

काठमाडौँ — राजस्व छली गरेको अभियोगमा २५ करोड ८३ लाख ९२ हजार असुली र प्रतिवादीलाई जेल सजायसमेतको मागदाबीसहित ६ जनाविरुद्ध छुट्टाछुट्टै तीनवटा मुद्दा दायर भएको छ ।

मुस्ताङको कोरोला नाकाबाट १९ हजार थान विद्युतीय चुरोट (भेप) र दक्षिण नाकाबाट कपडासहित मालवस्तु अवैध तरिकाले भित्र्याएको आरोपमा उनीहरुमाथि राजस्व अनुसन्धान विभागले पाटन, विराटनगर र जनकपुर उच्च अदालतमा मुद्दा चलाएको हो । 

विभागकी उपमहानिर्देशक कृष्णकुमारी श्रेष्ठका अनुसार विभाग आफैं, इटहरी र पथलैया कार्यालयले गरेको अनुसन्धानका आधारमा मुद्दा दायर गरिएको हो ।  

विभागका अनुसार कोरोला नाकामा करारमा कार्यरत कार्यालय सहयोगी र व्यापारीलाई प्रतिवादी बनाएर पाटन उच्च अदालतमा मुद्दा दायर भएको छ । कोरोला नाकाबाट जोमसोङ हुँदै बेनीतर्फ लैजान लागिएको भेप रहेको गाडीलाई घरपझोङ गाउँपालिका–४ अन्नपूर्ण संरक्षण क्षेत्रको चेकपोस्ट नजिकैबाट प्रहरीले नियन्त्रणमा लिएको थियो । उक्त भेप पैठारीमा संलग्न रहेको आरोपमा गाडी चालक घ्याम्चो गुरुङ र भन्सारमा करारमा कार्यरत कार्यालय सहयोगी टासी नोर्बु गुरुङविरुद्ध मुद्दा दायर गरिएको हो ।

चालक घ्याम्चो र नुर्बुबाट ४ करोड ६६ लाख १२ हजार बिगो र शतप्रतिशत जरिवानासमेत कुल ९ करोड ३२ लाख २४ हजार ९२ रुपैयाँ असुल्नुपर्ने दाबी गरिएको छ । उनीहरुलाई जेल सजायसमेत माग गरिएको विभागले जनाएको छ । चालक घ्याम्चोले चीन गएर गाडीमा भेप लोड गरेर ल्याएको बयान दिएका छन् । तर सामानको मालिक भने बताएका छैनन् । 

विभागले भेप लोड गरिएको ग १ ख ६९९९ नम्बरको सवारीसाधन पनि जफत गर्नुपर्ने माग गरेको छ । चालक घ्याम्चो भने हिरासतमा छन् । ‘राजस्व तिरेको रसिद र रकमसमेत लिएर कार्यालय सहयोगी टासी भने फरार भएको देखिन्छ,’ स्रोतले भन्यो । 

यस्तै, विभागले दक्षिणी नाका झापा नाकाबाट ठूलो मात्रामा तयारी कपडा चोरी पैठारी गरेको अभियोगमा कृष्ण स्टोरका प्रोपाइटर सोनु कानुविरुद्ध ७ करोड २९ लाख २३ हजार ३ सय ३० बिगो र शतप्रतिशत जरिवानासमेत कुल १४ करोड ५८ लाख ४६ हजार ६ सय ६० मागदाबीसहित मुद्दा दायर गरेको छ ।

विभागको अनुमतिमा इटहरी कार्यालयले जेल सजायसमेतको माग गर्दै सोनुविरुद्ध विराटनगरको अस्थायी उच्च अदालतमा मुद्दा दायर गरिएको हो । इटहरी कार्यालयले गत असोजमा झापाको भद्रपुरस्थित स्टोरमा खानतलासी गर्दा सोनुले चोरी पैठारी गरेको, भन्सार महसुल, भ्याट र  आयकर नतिरेको देखिएको थियो ।

त्यस्तै, स्कुटरमा फल्स बटम बनाएर ६० किलो ८० ग्राम चाँदी चोरी पैठारी गरेको अभियोगमा ९६ लाख ६० हजार ८ सय ६४ रुपैयाँ बिगो र शतप्रतिशत जरिवानासमेत १ करोड ९३ लाख २१ हजार ७ सय २८ रुपैयाँ असुल्नुपर्ने मागदाबीसहित तीनविरुद्ध जनकपुर अस्थायी इजालसमा मुद्दा दायर गरिएको छ । बारा कलैया उपमहानगरपालिका–५ का कर्मा साह सोनारलाई मुख्य अभियुक्त बनाइको छ । वीरगन्ज महानगरपालिका– २८ का शंकर शाह सोनार भन्ने शंकरप्रसाद सोनार, कलैया उपमहानगरपालिका–५ बाराकी इन्द्रकुमारी परियारलाई मुख्य अभियुक्तलाई हुनेभन्दा आधा सजाय माग गरिएको छ । 

राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐनमा उल्लिखित प्रावधानमा टेकेर मुद्दा दायर गरिएको विभागका सूचना अधिकारी नवराज अधिकारीले जानकारी दिए ।

सरकारले गत माघ ३० गते जारी गरेको अध्यादेशमा अनुसन्धानबाट यकिन भएको तीन करोडसम्मको राजस्व चुहावटसम्बन्धी कसुरमा कुनै पनि व्यापारिक फर्म, व्यक्ति वा निकायले बिगो र त्यसको शतप्रतिशत जरिवाना तिर्न राजी भएमा मुद्दा खेप्नुनपर्ने प्रावधान उल्लेख गरेको थियो । यसअघिको राजस्व चुहावट ऐनमा ५० लाखसम्मको कसुरमा मात्र मुद्दा नचल्ने व्यवस्था थियो । तर बदनियतपूर्वक राजस्व छली गरेको अवस्थामा भने जतिसुकै कम रकम भए पनि मुद्दा चलाइने व्यवस्था अध्यादेशमा उल्लेख छ । तीन करोडभन्दा कम रकम कसुरदारले तिर्न अस्विकार गरेपनि मुद्दा चल्नेछ ।  

ऋषिराम पौड्याल कान्तिपुरका संवाददाता हुन् । उनी निजामती प्रशासन, संसदीय मामिला, संघीयता र राजस्वसँग सम्बन्धित रिर्पोटिङ गर्छन् ।

Link copied successfully